भुकम्प: नेपालगन्जमा डेडिकेटेड अस्पताल, राहत र उपचारमा समन्वय

भुकम्प प्रभावितलाई लिएर बाँके जिल्ला विपद् व्यवस्थापन समितिले शनिवारनै आपतकालीन बैठक डाकेर विभिन्न निर्णयहरु गरेको छ ।

नेपालगन्जस्थित भेरी अस्पताललाई ‘डेडिकेटेड’ अस्पतालका रुपमा तयार गर्दै घाइतेहरुलाई सहज उपचार, कुरुवाहरुलाई निशुल्क खाना, औषधी लगायतका निर्णय गरि कार्यान्वयन गरिएका हुन् ।


‘भुकम्पवाट भएको मानविय तथा भौतिक क्षतिलाई मध्यनजर गरि यस बाँके जिल्लावाट आवश्यक प्रतिकार्यकालागि सवै सयन्त्रलाई कृयाशिल राख्ने निर्णय गरियो,’ फोकल पर्सन, समितिका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले
दैनिक नेपालगन्जसँग भने, ‘नेपालगन्ज मेडिकल कलेज लगायत सवै अस्पताललाई तयारी अवस्थामा राख्ने निर्णय गरिएको छ ।’


भुकम्पवाट प्रभावित क्षेत्र तथा मानविय सहयोगकालागि अस्पताल समन्वयका लागि स्वास्थ्य कार्यालय बाँकेका स्वास्थ्य निरिक्षक नरेश श्रेष्ठ र समन्वय तथा राहत व्यवस्थापनकालागि प्रशासकिय अधिकृत राम कुमार सोनकर र सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीलाई फोकल पर्सन तोकिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।


नेपालगन्ज उपमहानगरपालिकाको तर्फवाट तत्काल राहत स्वरुप रु ४ लाख बरावरको खाद्यान्न र त्रिपाल, झुल, पिफर्म लगायत १०० जना परिवारकोलागि पुग्ने सामाग्री साथै मेडिकल टिम परिचालन गर्ने निर्णय गरिएको नगर प्रमुख प्रशान्त विष्टले जानकारी दिए ।

‘आवश्यकता अनुसार अन्य सहयोग गरिने छ,’ दिनभर भेरी अस्पतालमा विभिन्न आवश्यकता अनुसारका व्यवस्थापनमा सक्रिय भएका विष्टले दैनिक नेपालगन्जसँग भने ।


कोहलपुर नगरपालिकाको तर्फवाट तत्काल राहत स्वरुप रु २ लाख बरावरको खाद्यान्न र औषधी उपलव्ध गराउने प्रतिबद्धता गरिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

राप्ती सोनारी गाँउपालिकाको तर्फवाट रु १ लाख वरावरको औषधि सामाग्री र रु ५० हजार बरावरको खाद्यान्न र १ जना चिकित्सक सहितको टिम परिचालन गर्ने, २० थान कम्मल र २० त्रिपाल सहयोग गर्ने भनेको छ । खजुरा गाँउपालिकाको तर्फवाट रु ३ लाख बरावरको औषधि सहयोग गर्ने प्रतिवद्धता आकस्मिक बैठकमा गरेको छ ।


फोकल पर्सन ज्ञवालीका अनुसार, नेपाल रेडक्रस सोसाइटी बाँकेको समन्वयमा केन्द्रिय कार्यालय मार्फत जाजरकोट र पश्चिम रुकुममा ६०० थान कम्मल त्रिपाल र पिफर्म का दरले उपलव्ध गराउने तथा जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको तर्फवाट तत्कालै १० थान टेन्ट, ५० थान त्रिपाल, ५० थान कम्मल उपलव्ध गराउने निर्णय गरिएको छ ।


केमिकल एण्ड मेडिकल एसोसेसन सप्लायर्स सर्जिकल प्रालिवाट ३५० केजि चिउरा र ९०० प्याकेट चाउचाउ उपलव्ध गराउन आवश्यक समन्वय गरेको बैठकले मानवीय सहायता साझेदारी मन्च को सदस्य संस्था बी ग्रुप बाँकेका तर्फवाट केयर नेपाल एडब्लुओ संस्थाको सहयोगमा २०० परिवारकालागि त्रिपाल, म्याट्रेस कम्मल सहयोग गर्ने निर्णय गरेको जनाएको छ ।


त्यस्तै, नेपालगन्ज ग्रिन सिटिका तर्फवाट २५ बोरा चामल, चिउरा २०० केजि , ४० पेटी चाउचाउ सहयोग स्थानीय प्रशासनलाई प्रदान गरेको जनाएको छ ।

बाँके युनेस्को क्लवबाट भेरी अस्पतालका घाइते विरामीका लागि अन्जली माता रसोइ मार्फत ८० जनालाई निशुल्क रुपमा खाना सहयोग गर्ने प्रतिबद्धता अनुसार काम अगाडी बढेको बताइएको छ ।


त्यसैबीच नेपालगन्ज उद्योग वाणिज्य संघका प्रर्व अध्यक्षसमेत रहेका कसौधन बैश्य समाजका निवर्तमान अध्यक्ष नन्दलाल बैश्यले भेरी अस्पतालमा उपचाररार्थ भर्ना भएका ३२ जना विरामी र उनका कुरुवा आफन्तका लागि एक/एक थान सल प्रदान गरेका छन् । ‘आकस्मिक अस्पताल आउँदा चिसोको प्रभावबाट जोगिन आवश्यक न्यानो सल व्यक्तिगत रुपमा प्रदान गरिएको’ बैश्यले बताए ।


युवा अभियन्ता, दिनेश थापामगरले एक लाख रुपिया नगद र एक क्वीन्टल आफ्नै खेतको उत्पादन चामल प्रदान गर्ने सार्वजनिक प्रतिबवद्धता जनाउँदै पीडामा हातेमालो गर्न अपील गरेका छन् । उनले आफ्नो संस्था टिम डि–एड्जकाको सामाजिक उत्तरदायित्वको रकम भुकम्प प्रभावितलाई प्रदान गर्ने निर्णय गरिएको बताए ।


त्यस्तै, रास्वपा बाँकेको एक टोली चिकित्सक सहित आकस्मिक राहत लिएर घटनास्थल जाजरकोट प्रस्थान गरेको पार्टी नेता विवेक श्रेष्ठले जनाएका छन् । उनका अनुसार, उनीहरुले करिब ३ लाख ५ हजार मुल्य बराबरको राहत आफ्नो साथमा लिएर गएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया