राकेशकुमार मिश्र
जाजरकोट भेरी नगरपालिका–३ खलङ्गाका ४८ वर्षीय विमलकुमार कार्की भूकम्पमा परी घाइते भए । उनी गएरातीको भूकम्पबाट घर भत्किएपछि च्यापिएका थिए । उद्धारपछि कार्कीले रासस संवाददातासँग भन्छन्, ‘भाग्यले बाँचे ।’ दुईतले कच्ची घरमा राति एक्लै सुतिरहेका बेला एक्कासी भूकम्प गएको र ब्युँझिएर अत्तालिएर घरबाट बाहिर निस्कन खोज्दा घर गल्र्याम्म ढल्दा माटोले च्यापिएर घाइते भएको उनले सुनाए ।
घाइते कार्कीले आफ्ना दुःख सुनाउँदै भने, ‘एक्कासी भूकम्प आएको थाहा पाएर झ्यालबाट बाहिर निस्कन खोज्दा झ्यालसँगै तल खसेँ र माटोले मेरो दुईवटै खुट्टा च्यापियो । रातिको समय थियो, एकछिन होसहवास गुम्यो, पछि होस आउँदा म बेस्सरी कराएँ । आधा घण्टापछि भतिज मन्दीप कार्की आयो । राती साढे १ बजे अस्पताल पुगेँ ।’
काका एक्कासी चिच्चयाएको आवाज सुनेर आफु दौडेर पुगेको घाइते कार्कीका भतिज मन्दीप बताउछन् । उनी भन्छन् ‘म पुगेपछि वरिपरिका मानिसलाई बोलाएर स्टेचरमा बोकेर जाजरकोट अस्पताल पु¥याऔँ र त्यहाँ पनि घटनाका घाइतेको ठूलो भीडभाड रहेछ, डाक्टरले उहाँलाई राति साढे ३ बजे नेपालगञ्ज सिफारिस गर्नुभयो ।’
मन्दीपले काकालाई शनिवार बिहान साढे ७ बजे एम्बुलेन्समा राखेर नेपालगन्जस्थित भेरी अस्पतालमा ल्याइपु¥याएका थिए । घाइतेमध्ये विमलकुमार नै पहिलो बिरामी उपचारमा आएका हुन् । विमलकुमारको दाहिने खुट्टाको दुई भाग भाँचिएको अस्पतालले जनाएको छ । २२ वर्ष पुरानो दुईतले कच्ची घरले झनै ज्यान बचाएको घाइते कार्कीले बताए ।
विमलकुमार कार्की घर नजिकै ससुरालीमा रहेकाले श्रीमती र तीन छोरी बाँचेको बताउँछन् । ‘राति घरमा उहाँ एक्लै हुनुहुन्थ्यो,’ उनकी श्रीमती र छोरी ससुराली गएकाले बाँचे नत्र घटनामा परेर बाँच्थेनौं होला’ भन्छन्् ।
‘भगवानले हाम्रो परिवारलाई जोगाएको छ,’ घाइते विमलकुमारकी श्रीमती चन्द्रसिंह भन्छिन्, ‘म घटनाको बारेमा थाहा पाउनैबित्तिकै श्रीमानलाई खोज्दै जाजरकोट अस्पताल पुगें,’ उनले भूकम्प गएपछि छोरीलाई उठाएर बाहिर भागेर ज्यान बचाएको सुनाउदै भनिन्, ‘म बसेको घर भूकम्पले सामान्य भत्किएको र चिरा परेको छ ।’
चन्द्रसिंहले घटनालाई सम्झेर यस्तो ठूलो विपद्ले हामी त सदरमुकामकालाई यस्तो भयो, भूकम्पको केन्द्रबिन्दु भएको क्षेत्रका मानिसको अवस्था के होला भनेर प्रश्न गर्छिन् । जाजरकोट केन्द्रबिन्दु भएर शुक्रवार राति गएको भूकम्पमा परी गम्भीर घाइते भएकालाई थप उपचारका लागि नेपालगन्ज ल्याउने क्रम जारी रहेको छ ।
हालसम्म ३२ जना घाइतेलाई ल्याइएको भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा पवनजङ्ग रायमाझीले बताए । उनका अनुसार, ३२ घाइतेमध्ये दुई जनाको अवस्था जटिल रहेको छ । अस्पतालका मेसु डा रायमाझीले अस्पतालका सम्पूर्ण चिकित्सकसहितका कर्मचारीलाई उपचारकार्यमा खटाइएको भन्दै घाइते सबैको निःशुल्क उपचार भइरहेको जानकारी दिए ।
भूकम्पमा परी गम्भीर घाइतेहरूको उपचारका लागि नेपालगन्जको भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज, कोहलपुर शिक्षण अस्पतालमा उपचारको व्यवस्थापन गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए । प्रजिअ पोखरेलका अनुसार, घाइते तथा घाइतेका आफन्तका लागि सहजताका लागि स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठलाई तोकिएको छ ।
भूकम्पपीडितका लागि राहत सङ्कलन
जाजरकोट र पश्चिम रुकुमका भूकम्प पीडितका लागि राहतस्वरुप बाँकेमा सहयोग सङ्कलन अभियान सुरु भएको छ । बाँकेका चारवटा स्थानीय तहले रु १० लाख बढीको सहयोग गर्ने निर्णय गरेका छन् ।
स्थानीय तहहरूले खाद्यान्न र गैरखाद्य सहयोगसँगै स्वास्थ्यकर्मीको टिम परिचालन गर्ने निर्णय गरेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा पालिकाले गर्ने सहयोगबारेमा निर्णय गरेको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।
नेपालगन्ज उपमहानगरपालिकाले रु चार लाख बराबरको खाद्यान्न, त्रिपाल, झुलसहित सामग्री र मेडिकल टिम परिचालन गर्ने भएको छ । कोहलपुर नगरपालिकाले रु दुई लाख बराबरका औषधि र खाद्यान्न उपलब्ध गराउने जनाएको छ ।
राप्तीसोनारी गाउँपालिकाले रु एक लाख बराबरको औषधि, रु ५० हजार बराबरको खाद्यान्न र एक जना चिकित्सकसहित स्वास्थ्यकर्मीको टिम परिचालन गर्ने भएको छ । राप्तीसोनारीले २० थान कम्बल र २० थान त्रिपाल सहयोग गर्ने प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले बताए ।
खजुरा गाउँपालिकाले रु तीन लाख बराबरको औषधि सहयोग गर्ने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले १० थान टेन्ट, ५० थान त्रिपाल, ५० थान कम्बल उपलब्ध गराउने, केमिकल एण्ड मेडिकल एशोसिएसन सप्लायर्स सर्जिकल प्रालिबाट तीन सय ५० केजी चिउरा र नौ सय प्याकेट चाउचाउ उपलब्ध गराएको छ ।
यसैगरी केयर नेपाल र एडब्लुओ संस्थाको सहयोगमा दुई सय परिवारका लागि त्रिपाल, दुई सय परिवारका लागि त्रिपाल, म्याट्रेस कम्बल सहयोग गर्ने, नेपालगन्ज ग्रिन सिटीकातर्फबाट २५ बोरा चामल, दुई सय किलो चिउरा र ४० पेटी चाउचाउ सहयोग गरिएको छ ।
यी सबै सामग्रीलाई राँझास्थित मानवीय सहायता कक्षमा सङ्कलन गर्ने र घाइते लिएर आएको हवाईजहाज (हेलिकोप्टर)मार्फत पीडितसमक्ष पठाउने तयारी भएको प्रजिअ पोखरेलले बताए ।