जाजरकोट केन्द्रविन्दु बनाएर गए राति गएको भूकम्पमा परी घाइते भएकाको उपचार व्यवस्था मिलाउन भेरी अस्पतालले आवश्यक तयारी गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार भूकम्पमा परी घाइते भएकाको उपचार व्यवस्था मिलाउन भेरी अस्पताललाई प्राविधिक रुपमा पूर्णतयारी गरिएको छ ।
“अस्पताललाई उपचारका लागि डेडिकेटेड अस्पताल बनाइएको छ । व्यक्तिगत पहलमा उपचारका लागि आउने घाइतेको आफन्तजनको सहजताका लागि पनि ‘फोकल पर्सन’का रुपमा नरेश श्रेष्ठलाई तोकिएको छ”, उहाँले भन्नुभयो । घाइतेको उपचारका लागि कोहलपुरमा रहेको मेडिकल कलेजलाई तयारी अवस्थामा राखिएको पनि प्रजिअ पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य निजी अस्पताललाई पनि तयारी अवस्थामा राखिएको छ ।
बाँकेमा रहेका भेरी अस्पताल, सैनिक अस्पताल र प्रहरी अस्पतालको एक सय पाँच वटा बेडसमेत तयारी अवस्थामा राखिएको उहाँको भनाइ छ । प्रजिअ पोखरेलेका अनुसार हेलिकोप्टरबाट ल्याइने बिरामीको लागि राँझा विमानस्थल र नेपाली सेनाको हेलिप्याडमा एम्बुलेन्स तैनाथ गरिएको गरिएको छ । हाल अस्पतालहरुमा रगतको मौज्दात रहेको बताउँदै उहाँले रक्तदाता सुरक्षाकर्मीको पनि व्यवस्था मिलाइएको बताउनुभयो ।
भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र शाहले अस्पतालको नयाँ भवनको भुइँतलामा भूकम्पबाट घाइते बिरामीलाई उपचार गर्न आवश्यकताअनुसार शय्या तयारी अवस्थामा राखिएको बताउनुभयो । गए राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर छ दशमलव चार रेक्टर स्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भुकम्पका दुई जना घाइते नेपालगन्ज ल्याएर उपचार सुरु भएको छ । जाजरकोट निवासी बिमल कुमार कार्की खुट्टा भांचिएको अवस्थामा एम्बुलेन्स मार्फत आइपुगेको , निजको उपचार भैरहेको छ जिल्ला प्रशासन कार्यालय बाँकेले जानकारी दिएको छ । त्यस्तै, बांके बैजनाथ ४ घर भएकी मामा घर भेरि न पा ३ थाप्ले गएको अवस्थामा घाइते भएकि ईशा अस्पताल आइपुगेकि छ्न । टाउकोमा चोट लागेकी उनको पनि उपचार सुरु भएको छ । तस्बीर :रुपन ज्ञवाली