कोहलपुर गोल्डकप फुटबलको दोस्रो संस्करण आज बुधवारदेखि बाँकेको कोहलपुर–२ तेह्र विगाह खेलमैदानमा शुरु हुने भएको छ ।
कार्तिक २२ गतेसम्म सञ्चालन हुने ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप खेलकुद प्रतियोगिता—२०८०’ को उद्घाटन आज लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीले गर्दैछन् ।
‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मुख्य नारा सहित सञ्चालन हुन लागेको ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप खेलकुद प्रतियोगिता’ को सम्पूर्ण तयारी पुरा भएको खेल संयोजक राम बहादुर मल्लले पत्रकारहरुसँग जानकारी दिए । उनका अनुसार, अबेररातीसम्म खेल मैदानका प्राविधिक काममा सबै खटिएका छन् । दुई वटा मुख्य प्रवेश गेट र दुई वटा आपतकालिन गेट, अस्थायी प्याराफिटको निर्माण गरिएका छन् ।
पत्रकारहरुसँगको छलफलमा लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव जयप्रसाद भट्टराईले प्रतियोगिता अवधिभर परिषद्ले नियमन र निगरानीसँगै साथ सहयोगको प्रतिबद्धता जनाए । उनले कोहलपुर गोल्डकपको निरन्तरताका लागि प्रदेश प्रतिबद्ध रहेको बताए । ‘अघिल्ला वर्षका कमजोरी सुधार गर्दै प्रतियोगितालाई स्तरिय बनाउँदै अगाडी बढ्नुपर्नेछ,’ उनले भने ।
तयारीका क्रममा दैनिक नेपालगन्जको जिज्ञासामा फिल्ड तथा मञ्च व्यवस्थापन समिति संयोजक इन्द्र गुरुङ्गले खेलका लागि आवश्यक कम्पाण्ड, फिल्ड, मञ्च व्यवस्थापन लगायतका सम्पूर्ण काम पुरा भएको जाानकारी दिए । करिब ३ हजार दर्शकले खेल अवलोकन गर्न मिल्ने गरी प्याराफिट निर्माण भएको छ भने ग्राउण्डमा पनि करिब ५ हजारदेखि ८ हजारसम्म दर्शकले गोल्ड कपको अवलोकन गर्न सक्ने व्यवस्था मिलाइएको गुरुङ्गले बताए ।
नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा अस्थायी घुम्ती शौचालय, पिउने पानीको व्यवस्था गरिएको छ । बृद्ध तथा अपाङ्गहरुको लागि छुट्टै बसाई व्यवस्थापन गरिएको र प्रत्येक खेलाडी ५ लाखको विमा पनि गरिएको आयोजकले जनाएको छ ।
यस्तै खेलकुद प्रतियोगितामा भाग लिन आउनुभएका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुलाई कोहलपुर क्षेत्रका विभिन्न होटलहरुमा बस्ने व्यवस्था मिलाइएको खेलाडी, होटल तथा यातायात समितिका संयोजक सुरेश अधिकारीले जानकारी दिए ।
फुटबलको रोमाञ्चक खेल अवलोकनका लागि प्याराफिटमा १ सय रुपैया शुल्क र ग्राउण्डमा बसेर हेर्नका लागि ५० रुपैया टिकट काट्नुपर्ने व्यवस्था आयोजकले गरेका छन् । यसका लागि दुई वटा टिकट काउन्टरको व्यवस्था गरिएको टिकट व्यवस्थापन समितिका संयोजक सन्तोष मल्ले जानकारी दिए ।
प्रतियोगिता अवधिभर सुरक्षा व्यवस्थाका लागि ५० जना सेक्यूरेटी गार्डको व्यवस्था मिलाइएको छ भने ५० जना स्वमसेवकको पनि व्यवस्था मिलाइएको सुरक्षा व्यवस्थापन समिति संयोजक यम बहादुर गैरेले जानकारी दिए । ‘सुरक्षा व्यवस्था निकै चुस्त बनाइएको छ,’ गैरेले दैनिक नेपालगन्जसँग भने ।
उद्घाटनमै चर्च व्वाइजसँग भिड्दै आयोजक:
‘मुख्यमन्त्री कोहलपुर गोल्डकप खेलकुद प्रतियोगिता—२०८०’ को उद्घाटन खेल आयोजक र चर्च व्वाइजबीच हुने भएको छ ।
हामी पूर्णतया भिड्ने तयारीमा छौं,’ आयोजक रेसिङका टिम प्रशिक्षक जनक केसीले पत्रकारस्ँग भने, ‘हामी पहिलेपनि कमजोर होइनौं, यसपटक त विदेशी प्लेयर पनि झिकाएका छौं ।
प्रतियोगितामा अफ्रिकन राष्ट्र क्यामरुन, विभागिय क्लब सहित ए डिभिजनका ८ वटा क्लबहरु सहभागी हुनेछन् ।
जसमा चर्च व्वाइज यूनाईटेड काठमाडौं, गोर्खा व्वाईज स्पोर्टस क्लब बुटवल, सुदुरपश्चिम ११, स्पोर्ट्स क्लब धनगढी, त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौं, कोहलपुर रेसिङ्ग साहारा क्लब कोहलपुर, वि.एफ.सी. चितवन क्लब चितवन, एभिनियर एफ.सि. क्यामरुन र दुधौली स्पोर्ट्स क्लब सिन्धुली गरी आठ टिम सहभागी हुनेछन् । प्रतियोगितामा प्रथम हुनेलाई ८ लाख रुपैया र दोस्रो पुरस्कार ४ लाख सहित ट्रफी छ ।