नेपालगन्ज घटनाः कहिलेसम्म सुनसान सिनेमा घर ?

गत साता मंगलबारदेखिको तनावले नेपालगन्जमा असहज परिस्थिति सिर्जना हुँदा त्यसको चौतर्फी प्रभाव देखिएको छ । सबैभन्दा बढी प्रभाव नेपालगन्जको बजार, व्यवसायले भोग्नु परेको छ ।


बजार व्यवसाय बिस्तारै लयमा फर्किरहँदा नेपालगन्जका सिनेमा घर भने सुनसान छन् । ‘दर्शक अभावका कारण कतिपय शो रद्द गर्नु परेपनि सिनेमा घर बन्द गर्न सकिंदैन’, सिने रोयलका प्रबन्धक ऋतेष श्रेष्ठले दैनिक नेपालगन्जसँग भने, ‘सोमबार मात्रै सात वटा शो मध्ये तीन वटा रद्द गरेर चार वटा मात्रै सञ्चालन गरियो ।’


तर, शोमा दर्शकहरूको संख्या भने अत्यन्तै न्यून रहेको जानकारी दिंदै प्रबन्धक श्रेष्ठले भने, ‘८/१० देखि १२/१५ जना दर्शकको भरमा शो सञ्चालन गर्यौं ।’ ६० बढी कर्मचारी रहेको सिने रोयलमा मासिक ६ लाख बढी विद्युत खर्च मात्रै गर्नुपर्छ ।

‘यो अवस्थाले अपरेशन कष्ट धान्नै सकिंदैन’, प्रबन्धक श्रेष्ठले पछिल्लो सातादेखि नेपालगन्ज भएको असहज परिस्थितिको सबैभन्दा ठूलो प्रभाव सिनेमा घरले भोग्नु परेको छ । उनका अनुसार, रोयल सिनेमाले दैनिक १६ वटासम्म शो सञ्चालन गर्ने गरेको थियो ।


त्यही अवस्था क्युएफएक्स बागेश्वरीको छ । क्युएफएक्सका प्रबन्धक सञ्जिव शाक्यका अनुसार, सामान्य बाँकी ३ पेजमा
अवस्थामा दैनिक १० वटासम्म शो सञ्चालन हुने क्युएफएक्सले पछिल्ला दिन ५/७ शो मात्रै निरन्तरता दिएको छ ।

‘सोमबार ५ वटा शो मध्ये ४ वटा मात्रै सञ्चालन गर्न सकियो’, प्रबन्धक शाक्यले दैनिक नेपालगन्जसँग भने, ‘कफ्र्युको समयमा सिनेमा चलाउने कुरा भएन, तर कफ्र्यु आउने वातावरण अझै बनेको छैन ।’ झण्डै ३० जना कर्मचारी प्रत्यक्ष कार्यरत क्युएफएक्सको चिन्ता पनि यही अवस्थामा सञ्चालन खर्च कसरी जुट्ला भन्ने नै देखिन्छ ।


‘नेपालगन्जको अवस्थाबारे बाहिर गएको चर्चाले मानिसहरू फिल्म हलसम्म आइपुग्ने वातावरण बनेको छैन’, क्युएफएक्सका प्रबन्धक शाक्य भन्छन्, ‘नेपालगन्ज भित्रका दर्शकले मात्र हल चल्ने होइन ।’ उनका अनुसार, बजार बाहिरका दर्शक नेपालगन्ज आउने वातावरण बनाउने तर्फ सबैको ध्यान जानु आवश्यक छ ।


सिने रोयलले अत्याधुनिक सिनेमाघरको अनुभूति दिलाएपनि त्यसका मुख्य दर्शकपनि ग्रामीण क्षेत्रकै बढी आउने गरेको हल व्यवस्थापनको अनुभव छ । ‘बजारका दर्शकले मात्रै हाम्रो रिक्वाइरमेन्ट फुलफिल गर्दैन’, सिने रोयलका प्रबन्धक श्रेष्ठ भन्छन्, ‘मुख्यगरी सीमापारी भारतीय क्षेत्रबाट आउने दर्शक पनि पछिल्लो घटनापछि ठप्प भएको छ ।’


पछिल्लो साता मंगलबार पछि नेपाल–भारत सीमा क्षेत्रमा गरिएको कडाईले भारतीय नागरिक नेपालगन्ज आउने वातावरण छैन । त्यसको प्रभाव अत्याधिक रूपमा नेपालगन्जका क्यासिनोलाई परेको छ । तर, प्रत्यक्ष रूपमा नेपालगन्जका दुवै ठूला लगानीका सिनेमा घरमा देखिने भारतीय दर्शकपनि शुन्य भएका छन् ।


‘यो अवस्था बिस्तारै सुधार हुँदै गए आगामी शुक्रबारबाट दर्शकको भीड लाग्ने आशा गरेका छौं’, सिने रोयलका प्रबन्धक श्रेष्ठ र क्युएफएक्सका प्रबन्धक शाक्यको एउटै स्वर छ, ‘आकर्षक सिनेमा पनि रिलिज हुन गैरहेकाले नेपालगन्जको अवस्था राम्रो भैदिए दर्शक पक्कै आउँछन् ।’


ग्रामीण क्षेत्र होस् वा भारतीय नागरिक, क्यासिनोका लागि होस् वा सिनेमा हेर्न हल पुग्ने दर्शक, उनीहरू नेपालगन्ज आउने, जाने गर्दा बजारको चहलपहल मात्रै होइन किनमेल र व्यवसाय प्रबन्धनमा योगदान पुग्ने गर्छ ।

‘बजार चलायमान बनाउन सिनेमाघरको भूमिका पनि महत्वपूर्ण हुन्छ’, नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देल भन्छन्, ‘नेपालगन्ज शान्त र पूर्ववत् वातावरण छ भन्ने कुराको सुनिश्चितता गर्न नेपालगन्जबासी तत्पर हुनैपर्छ ।’

अध्यक्ष सिग्देलले भारतीय नागरिकलाई सहज आवागमनको वातावरण बनाउन स्थानीय प्रशासनले तत्काल पहल थाल्नुपर्ने धारणा राख्दै भने, ‘आन्तरिक रूपमा शान्ति, सुव्यवस्थाको सुनिश्चितता गर्दै उचित वातावरण बनाउने तर्फ स्थानीय प्रशासनलाई सबै नागरिकले सघाउनु पर्छ ।’

कर्फ्यु कहिले सम्म ?

गत साता मंगलबार १ बजेदेखि जारी कर्फ्यु र निषेधाज्ञा पूर्ण रूपमा हटेको छैन । बिहीबारदेखि दिउँसोमा कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरेपनि रात्रीकालीन कर्फ्यु अझै कायमै रहेको छ ।

नेपालगन्जको अवस्था सामान्य हुँदै गएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले रातीको समयमा कर्फ्युको अवधी घटाउँदै लगेपनि पूर्णतया हटाएको छैन ।

जिल्ला प्रशासन कार्यालय बाँकेले सोमबार सूचना जारी गरेर सोमबार राती १० बजेदेखि मंगलबार विहान ४ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ ।

दिउँसोका समयमा निषेधाज्ञा जारी गर्दै प्रशासनले धर्ना, जुलुस प्रदर्शन, सामूहिक भेला हुन रोक लगाएको छ । प्रशासनले अवस्था सामान्य हुँदै गएपछि बिस्तारै कर्फ्यु र निषेधाज्ञाको समय घटाउँदै लग्ने बताएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया