शुभकामनाको १६ औं साधारणसभाले छ करोडबढीको बजेट पारित गरेको छ
बाँकेको खजुरामा रहेको शुभकामना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो १६ औं बार्षिक साधारण सभा शनिवार आयोजना गरेको छ ।
साधारण सभामा संस्थाले आर्थिक बर्ष २०७९–०८० मा ५ करोड ५७ लाख कारोबार गरी रु. पाँच लाख ८१ खुद मुनाफा कमाएका आर्थिक प्रतिवेदन प्रस्तुत भएको थियो । संस्थाले आर्थिक बर्ष २०८०–८१ को लागि छ करोड तीस लाखको अनुमानित बजेट पारित गरेको छ ।
विक्रम संवत २०६५ सालमा स्थापना भएको यो संस्थामा हाल ४५९ जना शेयर सदस्य रहेको र ५१ लाख बढि शेयरपूँजी रहेको, ३५ लाख बढि जगेडा कोष रहेको उसको आर्थिक प्रतिवेदनले देखाएको छ ।
संस्थाले गत अषाढ मसान्तसम्म १ करोड ६३ लाख बचत संकलन गरेको र रु. २ करोड ११ लाख लगानीमा रहेको प्रतिवेदनमा उल्लेख छ । संस्थाले व्यवसाय कर्जा, कृषि कर्जा, घुम्ती पसल कर्जा, सुत्केरी कर्जा, अपातकालिन कर्जा, शैक्षिक कर्जा लगानी गर्ने गरेको छ ।
संस्थाका कार्यबाहक अध्यक्ष योगनाथ पौडेलको अध्यक्षतामा भएको साधारण सभामा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बिक, उपाध्यक्ष मञ्जु मल्ल, वडा नम्बर ३ का वडा अध्यक्ष पूर्ण बहादुर भण्डारीलगायत सहभागी थिए । ‘ जिल्ला सहकारी संघ, बहुउद्देश्यीय सहकारी संघ र राष्ट्रिय सहकारी बैंकलाई पनि निमत्राणा गरिएकोमा उनीहरुका कुनैपनि प्रतिनिधिको उपस्थिति रहेन,’ संस्थाका पदाधिकारीले दैनिक नेपालगन्जसँग भने ।
साधारण सभामा गाउँपालिका अध्यक्ष डम्बर वि. क. ले देशको बिषम परिस्थितिका बावजूद पनि संस्थाले आफ्नो कारोबार सुचारु राख्न सकेको, बचतकर्ताहरुको बचत फिर्ता गर्न र सानोतिनो लगानी गर्न सकिरहेकामा प्रशंसा गरे ।
संस्थाले व्यवसाय विविधिकरण गर्न र कुनै लघु उद्यमको शुरुआत गर्न चाहेमा मशीन औजार पालिकाले सहयोग स्वरुप उपलब्ध गराउने घोषणा पालिका अध्यक्ष विकले सभामा गरे ।
पालिका उपाध्यक्षले मन्तव्य राख्दै आफुले यो संस्थाको काम गर्ने शैली मन परेको बताएकी थिइन् । वडा अध्यक्ष पूर्णबहादुर भण्डारी, संस्थाका सल्लाहकारहरु मित्रलाल सापकोटा र प्रेम प्रसाद पौडेलले पनि आफ्नो मन्तव्य राखेका थिए । सभाको औपचारिक कार्यक्रम सहजीकरण संस्थाका सचिव तोजेन्द्र बि. क.ले गरेका थिए ।
कार्यक्रम सभामा सहकारी दिवसका दिन रक्तदान गर्ने रक्तदाताहरु, संस्थामा नियमित कारोबार गर्ने, उच्चतम बचत गर्ने, कारोबार गर्ने लगायतका विधाका व्यक्तित्वहरुलाई प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
संस्थाका परिकल्पनाकार मित्रलाल सापकोटाका अनुसार, २०५४ सालमा २५ जना शेयर सदस्य पुर्याउन नसकेर मेची काली बचत समूहको रुपमा दश बर्षसम्म सञ्चालन गरेर २०६५ सालमा सहकारीमा दर्ता गरिएको हो । ‘संस्थाको अनौपचारिक शुरुआत भएको २६ बर्ष भएता पनि सहकारी बनाएको १६ बर्ष पुगेको छ,’ सल्लाहकार सापकोटाले भने ।
देशमा सहकारीहरुको अनियमितता छताछुल्ल भैरहेको अवस्थामा खजुरामा बाहिरबाट आएर शाखा खोलेका सहकारीहरुले कारोबार बिगारेको कार्यक्रममा टिप्पणी गरिएको थियो । ‘तर, यहाँका स्थानीय जनताहरुले सञ्चालन गरेका सहकारीहरु राम्रोसँग चलेका छन्,’ कार्यक्रममा सहभागीहरुले भने ।