श्रेष्ठको नेतृत्वमा जुर्मुराउँदै प्युठानी समाज

प्युठान जिल्लामा जन्मेर बाँके जिल्लामा आई विभिन्न पेशा व्यवसाय गरेर स्थायी तथा अस्थायी रुपमा वसोवास गरिरहेका प्युठानी नागरिकहरु पुनः एकपटक जुर्मुराउन थालेका छन् ।

प्युठानी युवा समाज बाँकेले शनिवार नेपालगञ्जमा एक कार्यक्रम गरी प्युठानी दाजुभाई दिदीबहीनिहरुलाई जुर्मुराउन पहल सुरु गरेको छ ।

प्युठानी सेवा समाजलाई सकृय बनाउन पहल गर्नका लागि आयोजना गरिएको प्युठानी युवा समाज बाँकेको प्रथम भेलाले विष्णु श्रेष्ठको संयोजकत्वमा एउटा कार्यसमिति गठन गरेको छ ।

भेलाले समितिको सह संयोजकमा लक्ष्मण पन्थी, सचिवमा रोशन केसी, सह सचिवमा प्रचण्ड जिसी र कोषाध्यक्षमा रामचन्द्र पोख्रेललाई चयन गरेको छ ।

त्यसैगरी सदस्यहरुमा क्रमशः रेशम श्रेष्ठ, मेघराज पोख्रेल, माधव जिसी, सुदन केसी, आतंक बस्नेत, कमल बोहरा, साबित्रा बस्नेत, सरिता अधिकारी, अस्मिता सुवेदी, दुर्गाबहादुर केसी, शंकर विष्ट, धर्मेन्द्र बोहरा र मीनराज सुवेदी चयन भएका छन् ।

त्यसैगरी सल्लाहकारमा कृष्णप्रसाद श्रेष्ठ, गेहराज रिजाल (नबीन शर्मा), मधुसुदन शर्मा, श्यामसुन्दर अधिकारी, सूर्य बहादुर केसी र कृष्ण अधिकारीलाई चयन गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

नवगठित कार्यसमितिले प्युठानी समाज बाँकेका संस्थापकदेखि तत्कालिन अवस्थाका कार्यसमिति पदाथिकारी एवं सदस्य तथा सामाजिक, राजनीतिक, शिक्षा, स्वास्थ्य, पत्रकारीता, व्यवसाय, सुरक्षा, बैंकिङ्ग, कानून लगायतका क्षेत्रमा कृयाशिल रही बाँकेमा सक्रिय रहेर आ–आफ्नो क्षेत्रबाट समाजलाई सेवा पुराइरहेका अग्रजहरुलाई दोसल्ला ओढाएर सम्मान समेत गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्युठानी सेवा समाजका संस्थापक संयोजक मधुसुदन शर्माले समाज गठन गर्दाका इतिहास सुनाएका थिए । “साल याद भएन तर बर्दियाबाट एकजना भाईले आफ्नी श्रीमती विरामी भई उपचार गर्नका लागि नेपालगञ्ज ल्याए । उनीहरु नेपालगञ्जको घरबारीटोलस्थित एउटा होटलमा बसे तर, उनको श्रीमतिको त्यही होटलमा निधन भयो ।” शर्माले पुराना दिन सम्झदै भने, “उनका चिनजानका मान्छे यहाँ कोही थिएनन् ती भाईले मलाई भने चिनेजानेको कोही छैन कसरी लाशको व्यवस्थापन गर्ने ? अनि मात्र मलाई लाग्यो समाज चाहिँदो रहेछ ।”

शर्माले त्यस समयमा नेपालगञ्जमा उपलव्ध केही प्युठानीहरु मिलेर महेन्द्र पुस्ताकलयमा गएर प्युठानी सेवा समाज गठन गर्नका छलफल गरिएको इतिहास सुनाए ।

कार्यक्रमलाई प्रा.डा. गोपाल प्रसाद अधिकारी, प्यूठानी सेवा समाजका संस्थापक संयोजक मधुसुदन शर्मा, नेपाली कांग्रेस बाँकेका पूर्वसभापति एवं समाजसेवी कृष्णमान श्रेष्ठ, नेपालगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, युवा नेता गेहराज रिजाल (नबीन शर्मा) तथा सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स प्रालिका प्रतिनिधी पंकज गुप्ता लगायतले सम्बोधन गरेका थिए ।

वक्ताहरुले प्युठानी सेवा समाज गठन भएको यत्तिका बर्ष हुँदा पनि सकृय हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेका थिए । उनीहरुले समाजलाई अव युवाहरुले डोर्‍याउनु पर्नेमा जोड दिएका थिए । राजीनिती एकातिर राखेर सम्पूर्ण प्युठानीहरुको आई परेका समस्या समाधान गर्नका लागि तथा समाजमा राम्रा र उदाहरणीय कामहरु गरेर सभ्य समाज निर्माण गर्नुपर्ने भन्दै युवाहरु आग्रह गरेका थिए ।

विष्णु श्रेष्ठको अध्यक्षतामा सम्पन्न प्युठानी युवा समाजको कार्यक्रमको प्रमुख अतिथी समाजसेवी दिवाकर गौतम रहेका थिए भने कार्यक्रमको सञ्चालन रोशन केसीले गरेका थिए ।

यस्तो छ प्युठानी सेवा समाजको संक्षिप्त इतिहाँस:

प्युठानी समाज बाँके गठन गर्नका लागि २०५०-०५१ साल अघि पहिलो पटक प्युठानी भेला आयोजना गरिएपनि २०५६ साल फागुन २० गते मधुसुदन शर्माको संयोजकत्वमा भेला आयोजक समिति गठन भएको थियो । जसको सदस्यहरुमा स्व. दामोदर आचार्य, गोपाल केसी, सूर्य बोहरा र कृष्ण अधिकारी रहेका थिए ।

तत्पश्चात २०५६ साल चैत्र १२ गते ११९ जना प्युठानीहरुको उपस्थितीमा भेला सम्पन्न गरिएको थियो । भेलाले मधुसुदन शर्मा रिजाल अध्यक्ष र मदन केसी, वामदेव अधिकारी, गोपाल केसी, प्रकाशजंग राणा, श्रीमती शान्ता आचार्य, सूर्य बोहरा, स्व. जगन्नाथ प्रसाद श्रेष्ठ, स्व. दामोदर आचार्य, निवेदन वैद्य र कृष्ण अधिकारीलाई सदस्यमा चयन गरेको थियो भने स्व. उत्तर कुमार श्रेष्ठ, वेदनिधी शर्मा अधिकारी, मधुसुदन सुवेदी, कर्णबहादुर के.के. र गुणेन्द्रबहादुर क्षेत्री सुवेदीलाई सल्लाहकारमा चयन गरेको थियो ।

त्यसपछि २०५८ साल साउन १३ गते प्युठानी सेवा समाज बाँकेको पहिलो साधारणसभाले पहिलो कार्यसमिति गठन गरेको थियो ।

उक्त कार्यसमितको अध्यक्षमा गुणेन्द्र बहादुर क्षेत्री सुवेदी, उपाध्यक्षमा स्व. दामोदर आचार्य, सचिवमा सूर्य बोहरा, कोषाध्यक्षमा कृष्ण प्रसाद श्रेष्ठ तथा सदस्यहरुमा मधुसुदन शर्मा रिजाल, स्व. श्रीमती कल्पना सुवेदी, मदन केसी, गोपाल केसी, स्व. रत्नलाल श्रेष्ठ, जेन्टिल गौतम र कृष्ण अधिकारी रहेका थिए ।

उक्त समितिले २०६१ साल वैशाखमा बाँकेका विभिन्न ठाउँमा आई स्थायी तथा अस्थायी रुपमा वसोवास गरेका प्युठानी दाजुभाई दिदीबहीनिहरुलाई समेटेर सचिव सूर्य बोहराको संयोजकत्वमा एउटा हाते डायरी समेत प्रकाशित गरेको थियो । जुन डायरीमा प्युठानी सेवा समाज बाँकेको इतिहाँस समेत समेटिएको थियो ।

उक्त समयमा समाजले रक्तदान लगायतका विभिन्न सामाजिक कार्यहरु समेत गर्ने गरेको थियो । प्युठानी सेवा समाजका हरेक सदस्यलाई सदस्यता प्रमाणपत्र पनि वितरण गरिएको थियो । अत्यन्तै सक्रिय रहेको उक्त समाज सचिव सूर्य बोहरा नेपालगञ्ज बाहिर गएपछि भने सिथिल हुन पुग्यो र कहिल्यै जाग्न सकेन ।

एक दुई पटक भने गेहराज रिजाल (नवीन शर्मा), श्यामसुन्दर अधिकारी लगायतका केही युवाहरुले समाजलाई पुर्नजिवित पार्नका लागि अगुवाई गरेका थिए तर त्यो पहल सार्थक हुन सकेन । अब भने प्युठानी युवा समाजले प्युठानी समाज बाँकेलाई फेरि सकृय बनाउने आशा देखिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया