पत्रकार धम्क्याउनेलाई कारबाही माग

पत्रकार प्रमोद रिजाललाई समाचार लेखिएको विषयलाई लिएर धम्की दिने कोहलपुर नगरपालिकाका नगर स्वास्थ्य प्रमुख अनिल सेन ठकुरीलाई कारबाही माग गरिएको छ ।

नेपाल पत्रकार महासंघ लगायतका विभिन्न संघसंस्थाले पत्रकार धम्कीको घटनाप्रति विरोध जनाउँदै कारबाही माग गरेका हुन् ।

कोहलपुर क्षेत्रबाट प्रकाशित कोहलपुर टाइम्स न्यूज पोर्टलमा “नगर अस्पतालमा सिटामोल छैन” शिर्षकमा प्रकाशित समाचारलाई लिएर नगर स्वास्थ्य प्रमुख अनिल सेन ठकुरीले टाइम्सका कार्यकारी सम्पादकलाई अश्लिल गाली गलौज गर्दै ज्यान मार्ने धम्की दिएका छन् ।

बुधवार अपरान्ह १ः१९ बजे टाइम्सका कार्यकारी सम्पादक प्रमोद रिजाललाई फोन सम्पर्क गरेर जे पायो त्यही समाचार किन प्रकाशित गरेको भन्दै धम्की दिएका हुन् । तँ कहाँ छस् ? यहाँ आइज भनेर नगर स्वास्थ्य प्रमुख सेनले धम्की दिएपछि मानसिक रुपमा पीडा थपिएको पीडित पत्रकार रिजालले बताए ।

यसै विषयलाई लिएर नेपाल पत्रकार महासंघ बाँके सहित विभिन्न पेशागत संघ संगठनले बुधवार छुट्टा/छुट्टै बिज्ञप्ति जारी गर्दै घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।

नेपाल पत्रकार महासंघ बाँके सचिव कमल डांगीद्वारा हस्ताक्षरित बिज्ञप्तिमा समाचारको विषयलाई लिएर कोहलपुर नगरपालिका नगर स्वास्थ्य शाखा प्रमुख अनिल सेन ठकुरीले अश्लिल र अमार्यादित भाषाको प्रयोग गर्दै धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघ बाँके शाखाको गम्भिर ध्यानाकर्षण भएको जनाईएको छ ।

महासंघले घटनामा संलग्न उपर कानुनी कारबाही गर्न माग गर्दै आगामी दिनमा यस प्रकारका प्रेस स्वतन्त्रता बिरोधी गतिविधि नगर्न सम्बन्धित सबै पक्षलाई सचेत समेत गराएको छ । 

यसैबिच प्रेस चोतारी नेपाल, प्रेस सेन्टर नेपाल, क्रियाशिल पत्रकार समुह बाँके र प्रेस युनियनले समेत विज्ञप्ती जारी गरी घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै दोषी उपर कडा कारबाहीको माग गरेका छन ।

प्रतिक्रिया

प्रतिक्रिया