कसौंधन वैश्य समाज बाँके नेपालगन्जको नवनिर्वाचित कार्यसमितिको पदस्थापन गरिएको छ ।
शनिबार नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टको प्रमुख आतिथ्यतामा समाजका निर्वाचन अधिकृत, अधिवक्ता विनोद गुप्ताले नवनिर्वाचित अध्यक्ष सन्तोष कुमार वैश्यलाई पद तथा गोपनियताको सपथ ग्रहण गराए ।
त्यसलगत्तै समाजका अध्यक्ष नन्दलाल वैश्यले नवनिर्वाचित अध्यक्ष सन्तोषलाई समाजको ‘पगडी’ पहिर्याउँदै पदभार हस्तान्तरण गरेका हुन् ।
‘समाजका सम्पूर्ण युवालाई संगठित गर्दै अग्रजहरूको दिशा दिर्नेशनमा अगाडि बढ्न प्रतिबद्ध छु’, पदभार ग्रहण पछि सन्तोषले दैनिक नेपालगन्जसँग भने ।
नवनिर्वाचित अध्यक्ष सन्तोषले आफ्नो कार्यसमितिलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएपछि सबैलाई निर्वाचन समितिले प्रमाणपत्र प्रदान गरेको थियो । ‘समाजलाई युग अनुसार अगाडि बढाउन हरसम्भव प्रयास मेरो हुनेछ’, पदभार ग्रहण गर्दै सन्तोषले भने ।
कार्यक्रमका प्रमुख अतिथि, नगर प्रमुख विष्टले कार्यक्रममा आफ्ना धारणा राख्दै समाजलाई सकारात्मक रूपमा डोर्याउन नेतृत्वको भूमिका अपेक्षा गरे । उनले समाजको नेतृत्वमा रहेको हिन्दु समशान भूमिलाई सुधारका लागि आवश्यक बजेट प्रदान गर्ने प्रतिबद्धता पनि जनाए ।
‘अहिले १० लाख रूपैयाँ प्रदान गर्ने योजना अगाडि बढाएको छु’, नगर प्रमुख विष्टले त्यसको व्यवस्थापन र स्तरोन्नतीमा समाजको भूमिका खोज्दै भने, ‘नेपालगन्ज उपमहानगरपालिकाको पूरा साथ रहनेछ ।’
कार्यक्रममा निवर्तमान अध्यक्ष नन्दलाल वैश्य, रूपैडिहा नगर अध्यक्ष समेत रहेका विजेपी नेता उमाशंकर वैश्य, नेपाली काँग्रेसका क्षेत्रीय अध्यक्ष रमेश गुप्ता लगायतले आफ्ना धारणा राखेका थिए । भौतिक रूपमा समाजलाई सु–सम्पन्न बनाउँदै आफुले अघि सारेका पूर्वाधार र योजनालाई समाजको नयाँ नेतृत्वले अझ प्रभावकारी ढंगले उठाउने विश्वास आफुले लिएको भन्दै निवर्तमान अध्यक्ष वैश्यले नयाँ कार्यसमितिलाई आवश्यक दिशा निर्देशन निरन्तर रहने प्रतिबद्धता जनाए ।
नयाँ कार्यसमितिमा सन्तोष वैश्यको नेतृत्वमा रामलखन वैश्य, सन्तोष कुमार वैश्य (जेपी), दिनेश कुमार वनिया, विजयकुमार वैश्य, वीरेन्द्र कुमार वैश्य, सन्तोष बाबु गुप्ता, राजकुमार कसौंधन वनिया र सुनिता गुप्ता निर्वाचित छन् ।
मंगल प्रसाद वैश्यका जेठा छोरा सन्तोष युवा उद्यमी हुन् । ‘समाजका सम्पूर्ण युवालाई संगठित गर्दै अग्रजहरूको दिशा दिर्नेशनमा अगाडि बढ्न प्रतिबद्ध छु’, पदभार ग्रहण पछि सन्तोषले दैनिक नेपालगन्जसँग भने ।