गहिरिंदो अटोमोबाइल संकट: संघर्षका लागि मर्ज भए संघ

कोरोना महामारीदेखि आर्थिक मन्दीसम्म आइपुग्दा मुलुकको अटोमोबाइल क्षेत्र धराशयी भएको छ । त्यसको प्रत्यक्ष प्रभाव बाँकेमा पनि परेको छ । बाँकेका व्यवसायी भन्छन्, ‘सीमा क्षेत्र भएकाले यहाँको समस्या अझ बढी छ ।’


अटोमोबाइल क्षेत्रको संकट गहिरिदिंदै गएको भन्दै त्यसविरुद्ध संघर्षका लागि जिल्लाका विषयगत सबै व्यवसायिक संगठनहरू एक ढिक्का भएका छन् ।

‘अझ बृहत ढंगले संगठित हुँदै अगाडि बढ्न प्रतिबद्ध छौं’, शनिबार बाँकेका तीन संघको मर्जर कार्यक्रमपछि एक बनेको बाँके अटोमोबाइल्स एशोसिएसनका अध्यक्ष नरेन्द्र ओलीले दैनिक नेपालगन्जसँग भने, ‘अटो क्षेत्रमा काम गर्ने सबै विषयगत क्षेत्रलाई समेटेर यसलाई एउटा बृहत छाता बनाउँछौं ।’


पछिल्ला दिनहरूमा सीमापारी भारतबाट इलेक्ट्रिक स्कुटी निर्बाध भित्रिरहेको भन्दै व्यवसायीहरूले त्यसविरुद्ध राज्यको नियमन खोजेका छन् ।

‘भारतीय क्षेत्रबाट निर्बाध रूपमा इलेक्ट्रिक स्कुटीहरू नेपालगन्ज आएर बिक्री भैरहेका छन्’, अध्यक्ष ओलीले त्यसको नियन्त्रणका लागि प्रभावकारी संयन्त्र आवश्यक भएको भन्दै नेपालगन्जसँग उद्योग वाणिज्य संघ, सँग सहकार्य गरेर अगाडि बढ्ने योजना सुनाए ।

‘विहान आवश्यक उपकरण लिएर आउने व्यक्तिहरू दिनभर नेपालगन्जमा मेकानिकल सर्भिस उपलब्ध गराएर बेलुका फर्किने गरेका छन्’, अटोमोबाइलका क्षेत्रमा भित्रिएको नयाँ समस्या सुनाउँदै अध्यक्ष ओलीले भने, ‘नेपालको पैसा मात्रै बाहिर गएको छैन यहाँ भएका योग्य जनशक्तिले काम नपाउने र राजश्व समेत मर्ने काम भैरहँदा पनि राज्यको
निकायले नियन्त्रण गर्न सकेको छैन ।’


विभिन्न संगठनमा विभाजित बाँकेका अटोमोबाइल्स अटो व्यवसायीहरू केही महिनाअघि एकीकृत भएका थिए । त्यसको औपचारिक र वैधानिक व्यवस्थाका लागि शनिबार मर्जर भेला डाकिएको हो ।

मर्जरका लागि मुख्य भूमिका खेलेका नेपालगन्ज उद्योग वाणिज्य संघका सदस्य किसन गुरुङ्गको प्रमुख आतिथ्यतामा भएको भेलाले अधिवक्ता शक्ति सिंह हमाललाई कानुनी सल्लाहकार नियुक्त गर्दै एकीकृत संघको वैधानिक व्यवस्था मिलाउन जिम्मेवारी दिएको अध्यक्ष ओलीले जानकारी दिए ।


प्रमुख अतिथि गुरुङ्गले अटोमोबाइल्सका क्षेत्रमा गहिरिंदो संकटलाई न्यूनीकरण गर्दै अगाडि बढ्न नेपालगन्ज उद्योग वाणिज्य संघले सहयोगी भूमिका खेल्ने प्रतिबद्धता जनाए ।

एशोसिएसनका महासचिव जगदीश भट्टको सहजीकरणमा भएको कार्यक्रममा एशोसिएसनका उपाध्यक्ष रविन्सन श्रेष्ठ, सविन घिमिरे लगायतले आफ्ना धारणा राखेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया