बाँकेमा रैथाने समुदायका रुपमा रहेको कसौंधन वैश्य समाज बाँकेको नेतृत्व पुस्तान्तरण भएको छ ।
नेतृत्वका लागि युवा पुस्ताले देखाएको अग्रसरतालाई समाजले समर्थन गर्दै पहिलो पटक समाजको नेतृत्व पुस्तान्तरण भएको हो ।
कसौधन वैश्य समाज बाँकेको शनिवार भएको निर्वाचनबाट अध्यक्षमा सन्तोषकुमार वैश्य निर्वाचित भए । सोयाविन उद्योगका सञ्चालक उनी उल्लेख्य मतान्तरका साथ रामकुमार वैश्यविरुद्ध प्यानलनै लिएर अध्यक्ष निर्वाचित भएका हुन् ।
सर्वसम्मत नेतृत्व पुस्तान्तरणका लागि पहल लिएका सन्तोष अन्तिमसम्म अर्काे पक्ष तयार नभएपछि टिम सहित निर्वाचन अभियानमा होमिएका थिए । उनकै प्यानलबाट सदस्यहरुमा रामलखन वैश्य, सन्तोषकुमार वैश्य, दिनेशकुमार बनिया, विजयकुमार वैश्य, बीरेन्द्रकुमार वैश्य, सन्तोषबाबु गुप्ता(आर्य), राजकुमार कशौधन (बनिया), सुनिता गुप्ता निर्वाचित भए ।
‘सर्वसम्मतका लागि भएको प्रयास सफल नभएपनि अबको समाजले आगामी कार्यकाल एकढिक्का भएर अगाडी बढ्छ,’ व्यापार र सामाजिक गतिविधिलाई एकसाथ अगाडी बढाउने योजना बनाएका नवनिर्वाचित अध्यक्ष सन्तोषले निर्वाचित भएपछि दैनिक नेपालगन्जसँग भने, ‘मैत्रीपूर्ण प्रतिष्पर्धाबाट म नेतृत्वमा आएकाले सबैको धारणा र अभिमतलाई उक ठाउँमा राखेर समाजलाई नेतृत्व दिनेछु ।’
राजनीतिक र व्यक्तिगत स्वार्थका लागि नभइ, आफु समुदायको हितका लागि गरेको दावेदारीलाई समाजका सबै मतदाताले स्वीकार गरेकाले पनि आफु अझै बढी जिम्मेवार भएर अगाडी बढ्ने सन्तोषको भनाइ छ ।
‘हाम्रो समुदाय भित्रको लोकतान्त्रिक प्रक्रियाप्रति तपाईंको अटल प्रतिबद्धताले हाम्रो एकतालाई मात्र बलियो बनाएको छैन’, निर्वाचित भएपछि अध्यक्ष सन्तोषले सन्देश जारी गर्दै भनेका छन्, ‘हाम्रो कसौधन समाजका सदस्यहरूबीच सामूहिक कार्यको शक्तिलाई पुनः पुष्टि गरेको छ ।’
निर्वाचनताकाका सबै पक्ष–विपक्ष, वाद–विवाद र विभाजनलाई बिर्सिएर समाजको एकतामा शक्ति निर्माण गर्दै अगाडी बढ्ने प्रतिबद्धता जाहेर गरेका अध्यक्ष सन्तोषले जातीय उत्थान र सामुहिक प्रगतिका योजना बनाएर काम गर्ने बताए ।