अधिकारीलाई ‘उदीयमान पत्रकारिता पुरस्कार’

बाँकेका युवा पत्रकार कृष्णराज अधिकारीलाई ‘उदीयमान पत्रकारिता–पुरस्कार २०८०’ प्रदान गरिएको छ ।

नेपाल प्रेस युनियन बाँकेको १२ औं जिल्ला अधिवेशन तथा साधारणसभाको अवसरमा पत्रकार अधिकारीलाई नगदसहित पुरस्कृत गरिएको हो । प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल र जिल्ला अध्यक्ष अर्जुन ओलीले अधिकारीलाई पुरस्कार प्रदान गरेका हुन् ।


कला र संचारकर्ममा क्रियाशील पत्रकार अधिकारी रेडियो कृष्णसार एफएममा कार्यरत छन् । पछिल्लो समय डिजिटल माध्यमबाट आफ्नो पत्रकारिता यात्रालाई उनले अगाडि बढाइरहेका छन् । ‘उनले उत्पादन गरेका समाचार नियाल्ने हो भने समाजका समस्याहरुलाई उजागर गरेको पाइन्छ,’ उदीयमान पत्रकारिता पुस्कार प्रदान गरिएपछि उनका सहकर्मी भन्छन् ।


लोकतान्त्रिक मूल्य, मान्यताप्रति प्रतिबद्ध रही व्यवसायिक पत्रकारिताको माध्यमबाट सामाजिक मुद्दा उठानका साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा पेसागत जिम्मेवारी निर्वाह गरेको भन्दै प्रेस युनियन बाँकेले अधिकारीलाई दोसल्ला ओढाएर सम्मानपत्र र नगदसहित सम्मान गरिएको जनाएको छ ।


‘झनै जिम्मेवारी बढेको महशुस भएको छ,’ अधिकारीले पुरस्कार ग्रहणपछि भने, ‘अझै पत्रकारिताको माध्यमबाट आवाजविहीनको आवाज बन्ने हौसला प्राप्त भएको छ ।’

प्रतिक्रिया

प्रतिक्रिया