दुना टपरीको सीपले सिकाउँदै स्वाबलम्बन

रुपनी जिएम

मखाना केवटले विगत ५/६ वर्षदेखि नै सालको पात बेचेरै घर चलाउँदै आइरहेको छिन् । ३५ वर्षीया मखानाको ६ वटा सन्तान छन् । उनले आफ्ना सबै सन्तानको लालनपालन त्यही सालको पात र पातबाट दुना टपरी बेचेर कमाएको पैसाबाट जोहो गर्दै आइरहेको बताउँछिन् ।

मखाना छिमेकीहरुसँग नजिकैको बनमा सालको पात टिप्न साइकलमा जाने जान्छिन् । परिवार एक्लैले चलाउने भएको हुनाले वनमा जाँदा उनी घर र पाँच जना भाइबहिनीको जिम्मा ठूलो छोरीलाई लगाएर जानुपर्ने अवस्था छ ।

नेपालगन्जको मुटु, त्रिभुवन चोक सदरलाइनमा सडक छेऊ बोरा ओच्छ्याएर दुना टपरी खुट्दै मखना भन्छिन्, ‘मेरो घरमा कमाउने म मात्रै हो, श्रीमान काम गर्न सक्नहुन्न, ६ जना छोराछोरी सहित ८ जनाको परिवार छौं । सबैको रेखदेख मैले नै गर्नु पर्नेहुन्छ ।’

‘वर्षामा पानीले गर्दा पात टिप्न खासै पाईँदैन,’ तमाम समस्याबीच काम गर्नेपर्ने बाध्यताप्रति भावुक हुँदै मखना भन्छिन्, अरु दिन पनि बिरामी भएँ भने त पात बेच्न ठप्प नै हुन्छ ।’ उनका अनुसार, अर्काको वनमा गएर आँखा छलेर पात टिप्न दुःख भएपनि कमाई ठिकै छ । ‘तर, यस्को पनि मौसम हेरेर मात्र कमाई हुने भएको हुनाले घर चलाउन गाह्रो छ,’ उनी भन्छिन् ।

आवश्यकता असिमित भएपनि पैसा सिमित मात्रामा चलाएर जिविको पार्जन गर्नु परेको मखनाको भनाइ छ । अरुसँग हात फैलाएर मागी खानुभन्दा दुना टपरीले स्वाबलम्बी बन्न सिकाएको मखनाको अनभूति छ ।

घरदेखि जंगल आउँदा र जाँदा झण्डै १६/१७ किलोमिटरको दुरीमा साइकल चलाएर आफै पात टिप्ने र बिहानै त्रिभुवन चोकको एक छेऊमा ग्राहकले चाहे जस्तै दुना टपरी खुटेर बेच्ने मखनाको दैनिकी केशव र उनकी श्रीमती सोनीको जस्तै बनेको छ ।

वर्षौंदेखि सालको पात बेचेरै जीवनको गुजारा चलाउँदै आउनु भएका तीनै जनाले मेसिनले बनाए जस्तै टपरी हातैले बनाउँछन् । बिक्रीपनि राम्रै हुन्छ । पुजा, श्राद्ध, विबाह, व्रतबन्ध आदि जस्ता काममा प्रयोग गर्न नेपालगन्जबासी सोही चोकमा बेच्न राखिएको सालको पात र पात बनाइएका सामान किन्न बिहानै पुग्ने गर्दछन् ।

मखानासँगै उनका छिमेकी केशव केवट पनि हरेक बिहान पाँच बजे नै नेपालगन्जको त्रिभुवन चोकमा सालको पातको टपरी खुट्दै गरेको अवस्थामा भटिन्छन् । बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं. ८ घरियारन टोलका केशव श्रीमती सोनी केवटलाई टपरी खुटेर बेच्नका लागि सहयोग गर्न हरेक बिहान पाँचै बजे नै उक्त चोकमा भेटिन्छन् । उमेरले भर्खरै ३० लागेका केशवलाई सालको पातबाट दुना, टपरी, बौंता जस्ता सबै प्रकारका सामान बनाउन पनि आउँछ ।

विगत ५ वर्षदेखि सालको पातबाट हाते सामान सडकमै बसेर बनाउँदै र बिक्री गर्दै केशवको परिवारले घरको गुजारा चलाउँदै आएको छ ।

प्रत्येक बिहान पाँच बजे श्रीमतीलाई सघाउन सडकको एक छेऊमा सालको पातको टपरी बुन्दै र बेच्दै गर्ने केशवले दिउँसो फर्निचरको काममा मजदुरी गरेर पैसा कमाउने गरेका छन् । ‘म बिहान श्रीमतीलाई पात खुट्नमा सघाउँछु । अनि दिउँसोमा फर्निंचरमा मजदुरीको काम गर्ने गर्छु,’ उनी भन्छन्,‘उब्जनीका लागि हाम्रो जग्गा छैन पेट पाल्नको लागि मजदुरी गर्ने पर्ने हुन्छ । केही वर्षदेखि सालको पातले घर चलाउन सजिलो भएको छ ।’

तीन सन्तानका अभिभावक केशव र उनकी श्रीमती सोनी सालको पात टिप्न झण्डै सोह्र किलोमिटर परको सामुदायिक वनमा जाने गर्छन् ।

वन हेरालुको आँखा छलेर सालको पात टिप्ने गरेको केशवकी श्रीमती सोनीले अनुभव सुनाइन् । ‘आफ्नो वन छैन अर्काको सामूदायिक वनमा गएर लुकीलुकी पात टिप्नु पर्छ । वन हेरालुले भेटाए भने जरिवाना तिर्नु पर्छ ।’ उनी भन्छिन्, ‘हामी धेरै पटक लुकेर पात टिप्दा कारवाहीमा परेका छौं, जरिवाना स्वरुप हामीले सय पचास जति तिर्ने गरेका छौं ।’

एउटा बोरामा २५/३० वटा सालको मुठ्ठा बेच्न राखिएका हुन्छन् । एक मुठ्ठोलाई २५ रुपैँयाका दरले बिक्री गर्ने गरेको उनीहरु बताउछन् ।

एक बिहानमा एक बोरा सालको पातबाट सात आठ सय जतिको कमाई हुने सोनीले बताए । मासिक २२/२३ हजारको कमाई भएपनि त्यो कमाई एक मुस्ट नहुने भएकाले घर खर्च चलाउन गाह्रो हुने सोनीको भनाइ छ । ‘छोराछोरीको पढाई खर्च देखि रोग लाग्दा उपचार खर्च पाहुनापनि सबै यसैबाट चल्ने भएकाले यो कमाईले घर धान्न गाह्रो भएको’ उनीहरुको पीडा छ ।

‘दिनको सातआठ सय जति कमाई हुने भएपनि त्यही पैसाले सबै कुरा चलाउनु पर्दा बचत हुनै पाउँदैन,’ छोराछोरीको भविष्यका लागि थोरै भएपनि रकम बचत गरिदिने रहर सोनीको रहरमै सिमित भएको दुखेसो गर्दै उनीहरु भन्छन्, ‘तैपनि गुजारा चलेकै छ ।’

बाँकेको राप्तिसोनारी गाउँपालिका वडा नं. ६ को खल्लाटपरीबाट बोरामा सालको पात भरेर बिहानै झिसमिसेमै नेपालगन्जको त्रिभुवन चोकमा पात बेच्न आइपुग्छिन्, कविता हमाल पनि ।

रुकुमबाट बसाईसराई गरी खल्लाटपरीमा आएकी कविताले सालको पात बेच्न थालेको झण्डै ७ वर्ष भएछ । एक बिहान पात बेचेर पाँच छ सय जतिको कमाई हुने बताउँदै कविताले आफुलाई आफ्नै मिहिनेतमा थोरै भएपनि पैसा कमाएर जाहो गर्न पाएकोमा खुशी लागेको उनको अनुभव छ ।

महिनामा कहिले बिस हजारको कमाई हुन्छ भने कहिले बाइस हजारसम्मको पनि कमाई हुने गरेको बताउने कविता सोही कमाईबाट आफु र आफ्नो घर खर्च चलेको बताउँछिन् ।

‘सामान्य घर खर्च र मेरो आफ्नै खर्च मैले यही सालको पात बेचेरै जुटाएको हुन्छु, महिनामा त्यस्तै एक्काइस् बाइस् हजारसम्मको कमाई हुँदा मलाई खुशी लाग्छ,’ कविता भन्छिन्,‘मैले आफ्नै मेहेनतमा थोरै भएपनि कमाएको छु, गुजारा राम्रै चलेको छ ।’

भारतमा काम गर्ने श्रीमानले कमाएको पैसाको मुख वर्षमा एक पटक मात्र दशैंमा देख्न पाइने अनुभव सुनाउँदै कविता भन्छिन्, ‘आफ्नो कमाईबाट जोहो टार्न पाएकोमा आफुलाई स्वाबलम्बी महिलाका रुपमा उभ्याएकी छु ।’

कवितासँगै सोही ठाउँबाट सिता खड्का र रमा थापा पनि एका बिहानै नेपालगन्ज साइकलमा बोरामा बाँधिएको सालको पात लिएर बेच्नका लागि आइपुग्छन् । रमाले सालको पात बेच्न शुरु गरेको ७ महिना मात्रै भएको छ भने सिताले ३ वर्ष भएको छ । घर नजिकैको सामूदायिक वनबाट पात टिपेर नेपालगन्जमा बिक्री गर्न आउने सिता र रमाको पनि कमाई एक बिहानको चारसय देखि पाँचसय सम्मको हुने गर्दछ ।

सालको पात बेचेरै अरुले पैसा कमाएको देखेर रमाले पनि सोही काम गर्न थालेको बताइन् । शुरुमा लाज र अप्ठ्यारो लागेपनि हिजोआज भने रमाइलो लाग्ने गरेको सिता र रमा दुवैले अनुभूति सुनाए ।

नेपालगन्जको मुटु मानिने त्रिभुवन चोकमा सालको पातसँगै बजारमा पालिने पशुचौपायालाई खुवाउनका लागि घाँसहरु पनि बेच्नका राखिएका हुन्छन् । घाँस बेचेरै जीविको पार्जन गर्दै आएका घसियारनहरुले पनि हिजोआज सजिलै घाँस पाउन छाडेपछि पेशा परिवर्तन गर्दै जंगलबाट सालको पात टिपेर बेच्न थालेको पाइन्छ । उनीहरुले सालको पातलाई मुठा बनाएर बेच्ने मात्र गर्नुहुन्न पातबाट बन्ने सबै प्रकारका सामाग्रीहरु हातैले बनाएर समेत बेच्ने गरेको देखिन्छ ।

कार्वन उत्सर्जन गर्ने विभिन्न प्रविधिका वैकल्पिक दुना, टपरी, थालीको चलनचल्ति व्यापकता भएपनि नेपालगन्ज आसपासका नागरिकहरु धार्मिक मान्यताका आधारमा सालको पात हुने चोखो भएकोले पातको अनिवार्य प्रयोग गर्दछन् ।

वर्षाको समयमा जंगलमा गएर पात टिप्न समस्या भएकै कारण केही महिना रोकिएपनि वर्षा सकिए लगत्तै उक्त चोकमा सालको पात प्रत्येक बिहान मुठाको २५ रुपैंयाका दरले किन्न पाइन्छ ।

प्रतिक्रिया

प्रतिक्रिया