नाकामा उस्तै बेचविखनको जोखिम

पछिल्लो एकवर्षमा शान्ति पुनः स्थापना गृहले मात्रै गर्यो २८८ जनाको उद्धार

शान्ति पुनः स्थापना गृह, बाँकेले जिल्लाका विभिन्न नाकाबाट २८८ मानब बेचविखनको जोखिममा रहेका युवती र महिलाको उद्धार गरेको जनाएको छ ।


तीमध्ये सबैभन्दा बढी जमुनाहा नाकाबाट २३३, जानकीको शिवपुरी नाकाबाट २२, डडुवाको खडैचा नाकाबाट १२, नरैनापुरको सुइया नाकाबाट ४ र कोहलपुर बसपार्कबाट १७ जानको उद्धार भएको शान्ति पुनः स्थापना गृहका क्षेत्रीय कार्यक्रम संयोजक निर्मल सुवेदीले जानकारी दिए ।


‘उद्धार गरिएकामध्ये बाँकेका ५८ र बर्दियाका ४२ सहित अन्य जिल्लाका समेत छन्,’ क्षेत्रीय कार्यक्रम संयोजक सुवेदीले विहीवार पत्रकारहरुसँगको अन्तक्र्रियामा भने । सुवेदीका अनुसार, हरेक दिनजसो मानव तस्करले विभिन्न ढंगले मानव बेचविखनका उपाय गरिरहेको पाइन्छ ।


अहिलेसम्म जिल्लाका सबै नाकाबाट ६ हजार ३४० जनालाई सूचना तथा परामर्श दिएको गृहले जनाएको छ । सुवेदीका अनुसार,एक बर्षको अवधीमा अहिलेसम्म मानब बेचविखन तथा ओसारपसार सम्वन्धी घटना दर्ता चार रहेको छ । सो घटना दर्ता पनि सबै नाकाको हो ।


‘खुल्ला सीमा भएका कारण पनि मानबबेचविखन जस्तो अपराध रोकथामको चुनौती छ र यसको सांगठनिक रुपमा वृद्धि भएको देखिन्छ’ शान्ति पुनःस्थापना गृहका क्षेत्रीय कार्यक्रम संयोजक सुवेदीले भन्छन्, ‘अधिकांस उद्धार भएका कर्णाली प्रदेशका छन् ।’


गरिवीका कारण पनि अवसर खोज्दा दलालको चंगुलमा फस्ने खतरा देखिएको उल्लेख गर्दै संयोजक सुवेदीले युवतीको शरिरको नाप गरेर पुजा गर्ने बहानामा पनि भारततिर लगिने गरेको तथ्य फेला पारिएको बताए । ‘मानब बेचविखनको जोखिममा अझैपनि महिलाको संख्या निकै उच्च देखिन्छ,’ उनी भन्छन्, ‘सबैभन्दा बढी मानबबेचविखनको जोखिममा रहेका उमेर समूह १८ देखि २५ वर्षको रहेको तथ्यले देखाएको छ ।’


शान्ति पुनःस्थापना गृह, बाँकेकी संयोजक सिर्जना गौतमले नयाँ नयाँ ढंगले मानव बेचविखनको प्रयास हुने गरेको जानकारी दिइन् । जिल्ला संयोजक गौतमका अनुसार, आर्थिक बर्ष २०७९÷/०८० मा भारतबाट उद्धार गरिएकाको संख्या २२ रहेको छ । संस्थामा खोजतलासका लागि परेको १७२ निवेदनमध्ये १२४ जना भेटिएको जनाइएको छ ।


पत्रकारसँगको अन्तक्र्रियामा सुपरभाइजर पार्वती चौधरीले विभिन्न जिल्लाका नाकामा बसेर काम गर्दाको अनुभव सुनाउँदै बेचविखनको जोखिममा रहेका महिलाका कतिपय समान अवस्था रहने गरेको बताइन् । ‘प्रेम प्रलोभन र झुटो विवाहका कथाहरु सबैजसो नाकामा उस्तै पाइएका छन्,’ चौधरीले भनिन् ।

प्रतिक्रिया

प्रतिक्रिया