नेपालगन्जमा लागु हुँदै आवास जोखिम विमा

मधु पौडेल

बाँकेको नेपालगन्ज उपमहानगरपालिकाले आवास जोखिम विमा लागु गर्ने भएको छ । आइतबार पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा नगरले आफ्ना वडा नम्बर ३ र ७ मा प्रयोगका रुपमा आवास जोखिम विमा लागु गर्ने जानकारी दिएको हो ।

बाक्लो घरहरु तथा जोखिम युक्त घरहरु वडा नं.३ र ७ मा बढि भएको हुदाँ सुरुवाती चरणमा यिनै वडाहरुलाई छनोट गरिएको नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले बताए । प्रमुख विष्टले नेपालगन्ज उपमहानगरपालिका नागरीकहरुलाई सेवा,सुविधा र सुरक्षाका दृष्टिकोणले समेत आवास जोखिम विमा लागु गर्नु पर्ने भएको बताए ।

नेपाल अधिराज्य मै पहिलो पटक नेपालगन्ज उपमहानगरपालिकाले यस्तो कार्यक्रम लागु गर्न लागेको भन्दै प्रमुख विष्टले भने, ‘नगर भित्र अन्य वडाहरुका घरहरु जोखिममा नभएका होइन तर हामीले पहिलो सुरुवाती चरणमा ३ र ७ लाई लिएका छौं, विमा शुल्क वापत नगरले १५ लाख सम्मको रकम उपलब्ध गराउने छ ।’

उपप्रमुख करुद्धिन राईले नेपालगन्ज उपमहानगरपालिका वडा नं.८ र मा रहेका घरहरु समेत उच्च जोखिममा रहेको औल्याए । उनले स्वास्थ्य विमाबारे पनि नगरपालिकाले पहल लिइरहेको जानकारी दिए ।

शहरी विपद् तथा भुकम्पीय पूर्व तयारी कार्यक्रम (सुपर) अनुसार छनोटमा परेका वडाहरुमा २० टोलमा शहरी विपद् र भुकम्पको बुझाईको अवस्था थाहा पाउन लक्षित समूह छलफल लगायतका क्रियाकलापहरु गर्दै अगाडि बढेको जानकारी पत्रलकारलाई उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद रिजालले जानकारी दिए ।

प्रमुख प्रशासकीय अधिकृत रिजालका अनुसार, जनघनत्वका आधारमा छनोटमा परेका वडाहरुमा जोखिम तथा क्षमता बृद्धि सम्बन्धी कार्यविधि, निर्जिवन विमा कार्यक्रमका लागि कार्यविधि र बजेट व्यवस्थापन लगायतका विषयमा योजनाहरु निर्माण गरी नेपालगन्ज उपमहानगरपालिका अगाडि बढ्दै आएको छ । नेपालगन्जका साघँरा गल्लीहरुमा पस्नका लागि मोटर साइकल दमकलको निर्माण गरिएको जानकारी पनि रिजालले दिए ।


नेपालगन्ज सुदुर र मध्य पश्चिमका केन्द्र विन्दु भएका कारणले समेत यसको दायित्व स्थानीयतह भन्दा पनि माथि हुने धारणा राख्दै प्रमुख प्रशासकीय अधिकृत रिजालले विभिन्न तथ्यांक प्रस्तुत गर्दै बाँकेका अन्य पालिका र छिमेकी राष्ट्र भारतका सीमावर्ती वस्तीमा दमकल पठाइएको बताए ।

कार्यक्रमा युनिसेभका अधिकृत नरेश निदालले पश्चिम नेपालमा आउने भुइचालोको अवस्थालाई अनुसन्धान गरेर नेपालगन्जका केही वडालाई छनोट गरी कार्यक्रम संचालन गरिएको बताए ।

‘अहिले पनि नेपालगन्जमा साँघुुरा बाटोहरु छन्, यहाँ भुकम्पको जोखिम समेत छ, यसका लागि हामी सबै तयारी अवस्थामा हुनु पर्छ’ निदालले भने, ‘जोखिम हस्तान्तरणका लागि विमा कार्यक्रमको प्रभावकारी हुन्छ ।’


नेपालगन्ज उपमहानगरपालिका विपद् सुचना व्यवस्थापन अधिकृत रुपन ज्ञवाली सहजीकरणका गरेको कार्यक्रममा राष्ट्रिय विमा संस्थानका प्रतिनिधि नविन पौडेल, नेपाल विमक संघ बाँकेका सचिव सिद्धार्थ श्रेष्ठले पनि विमा पोलिसीबारे आफ्ना धारणा राखेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया