भेरी अस्पतालमा एमआरआई जडान शुरु

पश्चिम नेपालकै विशिष्टिकृत अस्पतालका रूपमा विकसित भैरहेको नेपालगन्जस्थित भेरी अस्पतालमा एमआरआई मेसिन आइपुगेको छ ।

तीन बर्षदेखिको पहल, प्रयास सार्थक हुँदै सोमबार अबेर राती एमआरआइ मेसिन भेरी अस्पताल परिसरमा आइपुगेको हो । मंगलबारबाट जडान शुरु गरिएको अस्पतालले जनाएको छ ।


झण्डै २४ करोड हालको मूल्य पर्ने विशिष्ट क्षमताको म्याग्नेटम भिटा सिष्टमको थ्रि टि एमआरआइ मेसिन नेपालगन्ज आइपुगेको जानकारी दिंदै भेरी अस्पतालले त्यसका लागि आवश्यक अन्य सामान समेत आइपुगेको जनाएको छ ।


‘भेरीलाई विशिष्टिकृत गर्दै जाने क्रममा आइपुगेको एमआरआइ मेसिन ठूलो उपलब्धी हो’, आइतबार बेलुका काठमाडौंबाट हिडाइएको मेसिन सोमबार अबेर राती नेपालगन्ज आइपुगेको जानकारी दिंदै भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री चापागाईले दैनिक नेपालगन्जसँग भने, ‘मंगलबारदेखि नै यसको इन्स्टलेसन सुरु भएको छ ।’ त्यसका लागि पूर्वधार तयार गर्न यसअघि नै नयाँ भवनमा इमरजेन्सी व्यवस्थापन गरिसकिएको थियो ।


तीन बर्ष अघि डा. प्रकाश थापा मेडिकल सुपरिटेन्डेन्ट रहँदा भेरीमा सेवाको विशिष्टिकृत प्रयासलाई तिव्रता दिइएको थियो । त्यतिबेलै तत्कालीन मेसु डा. थापा नेतृत्वले एमआरआइका लागि गरेको पहल र प्रयासले सार्थकता पाएको हो । ‘सम्भवत नेपालमै यति ठूलो लागतको मेसिन खरिदमा खुल्ला प्रतिस्पर्धाबाट ल्याइएको पहिलो हो’, तत्कालीन अस्पताल विकास समितिका सदस्य भन्छन्, ‘त्यसका लागि अस्पताल नेतृत्व र विकास समितिले निकै पैठेजोरी खेल्नु परेको थियो ।’


१८ लाख ३९ हजार अमेरिकी डलर मूल्यको एमआरआइ मेसिनका लागि डेढ बर्षअघि खुल्ला टेण्डर मार्फत एलसी गरिएको थियो । तर, विभिन्न प्रशासनिक झमेला झेलेको खरिद प्रक्रियाले अन्ततः अस्पतालका पक्षमा निर्णय भएपछि सार्थकता पाएको हो । जर्मनीबाट ल्याइएको एमआरआइ मेसिन जुलाई १७ मा काठमाडौं झारिएको थियो ।


‘भेरीमा सुविधासम्पन्न एमआरआइ मेसिनको उपलब्धता सामुदायिक स्वास्थ्यको क्षेत्रमा निकै महत्वपूर्ण उपलब्धी हो’, मेसिन आएसँगै थपिएका चुनौति सामना गर्न कसरत गरिरहेका प्रमुख मेसु डा. चापागाईले यथासम्भव स्रोत र साधनबाट यसलाई सञ्चालन गरी आम जनताको स्वास्थ्य सेवामा सहज पहुँच उपलब्ध गराउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

प्रतिक्रिया