नेपालगन्ज उद्योग वाणिज्य संघको आसन्न निर्वाचनलाई लिएर दुबै प्यानलले आफ्ना कार्यालय खोलेका छन् ।
प्रजातान्त्रिक प्यानलका नाममा ललित कुमार रौनियार र समावेशी प्यानलबाट टंक बहादुर धामीले नेतृत्व गरेका छन् । दुबैले टिम सार्वजनिक गरिसकेका छैनन् ।
निर्वाचन नजिकिंदै गर्दापनि आफ्ना टिम भने अझै सार्वजनिक गर्न नसकेका दुबै प्यानलले नेतृत्व घोषणा गरि प्रचार रणनीतिमा लागेका छन् । केही मानिस तान्ने रणनीतिमा छौं, उद्योग उपाध्यक्ष र महासचिव खाली राखेर रौनियार टिमका सदस्य भन्छन्, ‘केही रणनीति बनेरै टिम सार्वजनिक नगरिएको हो ।
समावेशी प्यानलबाट टिम तयार भइसकेपनि प्रजातान्त्रिकका अनुहार हेरेर अन्तिम निर्णय गर्ने रणनीतिमा नेतृत्व रहेको बताइन्छ । ‘त्यसो होइन, अब सार्वजनिक गर्न बाँकी हो,’ समावेशी समूहका संयोजक इश्वर पोखरेल भन्छन्, ‘एकाध दिनमा टिमनै सार्वजनिक हुन्छ ।
त्यसबीच प्रजातान्त्रिक उद्योग व्यवसायी संघ बाँकेले नेपालगन्जमा प्रचारप्रसार प्रसार सचिवालय औपचारिक रुपमै सञ्चालनमा ल्याएको छ ।
आगामी भदौ २ गते हुने संघको निर्वाचनलाई लक्षित गरी सञ्चालनमा ल्याइएको सचिवालय नेपाल उद्योग बाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य अच्युत प्रसाईंले मंगलवार औपचारिक कार्यक्रमबीच उद्घाटन गरेका हुन् ।
प्रजातान्त्रिक उद्योग व्यवसायी संघ बाँकेका अध्यक्ष संजय थापाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि प्रसाईंले प्रजातान्त्रिक उद्योग व्यवसायी संघका तर्फबाट उम्मेदवार बनेका सबैलाई एक ढिक्का भएर जिताउन आग्रह गरे । उनले विगतमा अप्ठ्यारो परिस्थितिमा पनि प्रजातान्त्रिक उद्योग व्यवसायी संघका उम्मेदवारले जितेको स्मरण गराउँदै अहिले झन सहज परिस्थिति भएकाले जीत सुनिश्चित रहेको दाबी गरे ।
कार्यक्रममा सहभागी नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यसमेत रहेका नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुुरीले उद्योग वाणिज्य संघको निर्वाचनमा सबैको साथ र सहयोग रहनु पर्ने बताए । ‘म यो वा त्यो भन्ने अवस्थामा छैन, तर नेपालगन्ज उद्योग वाणिज्य संघमा असल नेतृत्व आउनु पर्दछ, यसमा मेरो साथ सहयोग रहन्छ नै ।’
नेपाली कांग्रेस बाँकेका उपसभापति गोपाल प्रसाद अधिकारीले आर्थिक मन्दीले थला परेको अवस्थामा बजारमा सटरहरु बन्द भएको र व्यापारीहरु पलायन परेको भन्ने सुचना आउँदै गर्दा पछिल्लो समयमा संघका मतदाता बृद्धि भएकोप्रति आशंका गरे ।
उपसभापति अधिकारीले संघलाई शुद्ध व्यवसायी संस्थाको रुपमा हेर्न पाउनु पर्ने जनचाहाना भएको हुदाँ निर्वाचन जित्नका लागि सदस्यता बढाउने क्रियाकलापको विरोध गरे भने, ‘सटरहरु बन्द छन् थला परेका आर्थिक अवस्था छ कतिपय व्यवसायीहरु पलायन हुनु पर्ने बाध्यता छ तर पनि संघमा सदस्य बढ्ने क्रम रोकिएका छैन, यो किन र केका लागि हो भन्ने बुझ्नु पर्छ ।’
कार्यक्रममा प्रजातान्त्रिक उद्योग व्यवसायी संघका तर्फबाट अध्यक्षका उम्मेदवार ललित कुमार रौनियारले पछिल्लो समय नेपालगन्ज उद्योग वाणिज्य संघले उद्योगी व्यवसायीहरुको विश्वास गुमाएको अवस्था रहेको टिप्पणी गरे । संघलाई उद्योगी व्यवसायीहरुको संस्थाको बनाउन लागि आफ्नोको उम्मेदवारी रहेको बताए ।
प्रजातान्त्रिक उद्योग व्यवसायी संघ बाँकेका उपाध्यक्ष ध्रुब दाहालले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव हिमनाथ पौडेलले गरेका थिए । कार्यक्रममा ठुलो संख्यामा व्यवसायीहरुको सहभागिता देखिएको थियो ।