देशका विभिन्न जिल्लासँगै नेपालगन्जमा कोरा साइक्लिङ च्यालेन्ज–२०२३ आयोजना गरिएको छ । साइकल प्रेमिहरुको महाउत्सवका रूपमा मनाईंदै आएको यो आयोजना शनिवार पाँचौं संस्करणका रूपमा नेपालगन्जमा गरिएको हो ।
नेपालगन्ज साइक्लिङ क्लबका अध्यक्ष सतिश निरौलाका अनुसार, बिहान ६ः३० बजे नेपालगन्ज बौद्ध गुम्बाबाट शुरु गरिएको कार्यक्रमको शुभारम्भ भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर बद्री चापागाईंले गरेका हुन् ।
आयोजक नेपालगन्ज साइक्लिङ क्लबका अनुसार, कोरामा ७ बर्षिय अभिनब चौधरी सहित ६५ जनाले सहभागिता जनाएका थिए ।
साइकल यात्रीहरुले नेपालगन्जको बौद्ध गुम्बा, जामे मस्जिद, बागेश्वरी मन्दिर, हनुमानगढी मन्दिर, गुरुद्वारा, ज्योतिचर्च, त्रिशक्ती मन्दिर हुँदै चौलिक्का, ढोडे गाउँ, शिवपुरा इण्डो–नेपाल बोर्डर हुँदै जोगागाउँ मन्दिर भएर ३० किलोमीटरका यात्रीहरु नेपालगन्ज फर्किए ।
त्यस्तै, ५०/७५/१०० किलोमीटरका यात्रीहरु बर्दियाका केहि स्थल परिक्रमा गरि नेपालगन्ज फर्किए भने एउटा समूह अगैया हुँदै नेपालगन्ज फर्किएको क्लबका सचिव प्रदीप सापकोटाले जानकारी दिए । तीन जनाको टोली अगैया पुगेर नेपालगन्ज फर्किको हो ।
कार्यक्रमलाई भब्य र उल्लासमय वातावरणमा सम्पन्न गर्न सहभागिता जनाउने सम्पुर्ण साइकल यात्रीलाई आयोजक नेपालगन्ज साइक्लिङ क्लबका अध्यक्ष निरौलाले धन्यवाद दिँदै आगामी दिनमा साइक्लिङका थप कार्यक्रमसमेत आयोजना गरिने बताएका छन् ।
कार्यक्रमका लागि कुनै पनि सरकारी तथा गैर सरकारी सस्था तथा व्यावसायिक प्रतिष्ठानबाट सहयोग नलिएर स्वयं सहभागी आफ्नै खर्चमा स्वस्फूर्त आयोजना गरिएको समेत क्लबले जनाएको छ ।
कार्यक्रममा नेपालगन्ज एसओएस युवालयको समेत सहभागिता थियो । युवालयका डाइरेक्टर तुलाराम बिश्वाससहितको टोली कार्यक्रममा सहभागी भएको आयोजकले जनाएको छ ।