नेपालगन्ज रंगशालामा ठेकेदारकै भरमा करोडौको काम


नेपालगन्ज रंगशालामा निर्माण भइरहेको एथलेटिक्स सेन्थेटिक ट्रयाकको काममा गम्भीर लापरबाही देखिएको छ । प्रतीक्षा निर्माण कम्पनीले ११ करोड ६४ लाख ६४ हजार लागतमा ट्रयाक निर्माणको जिम्मा लिएर भइरहेको काममा गम्भीर लापरबाही देखिएको हो ।


१३ करोडको टेन्डर आह्वान भए पनि १० चैतअघि नै निर्माण सक्नेगरि ११ करोड ६४ लाख ६४ हजार लागतमा कम्पनी र राष्ट्रिय खेलकुद परिषदबीच सम्झौता काम अगाडी बढेको हो । तर, निर्माण कार्यमा गुणस्तर नियन्त्रण भइरहेको छैन ।


गुणस्तर नियन्त्रणविनै काम भइरहेको भन्दै राखेपको ध्यानाकर्षण गराइसकेका जिल्लास्थित खेल पदाधिकारीहरुले यस्तै रहे निर्माणकार्य रोक्ने चेतावनी दिएका छन् ।

‘करोडौंको काम भइरहेको छ, क्वालिटी कन्ट्रोलका लागि एक जना पनि मानिस राखेपले खटाएको छैन,’ जिल्ला खेलकुद विकास समिति बाँकेका अध्यक्ष सन्दीपजंग शाहले दैनिक नेपालगन्जसँग भने, ‘हाम्रा खेलपूर्वाधारमा भइरहेको यो लापरबाहीलाई नजरअन्दाज गर्न सकिन्न ।’


आठौं राष्ट्रिय खेलकुदका क्रममा निर्माण थालिएको रंगशाला निर्माणमा अधुरो रहेको एथलेटिक्स सेन्थेटिक ट्रयाकका लागि तत्कालिन खेलकुदमन्त्री महेश्वर गहतराजको पहलमा बजेट विनियोजन गरिएको थियो ।


गत बैशाख १० गते राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले शिलान्यास गरेको सेन्थेटिक ट्रयाकको निर्माण कार्य सुस्त गतिमा भइरहेको छ ।


‘डेढ महिना यता काम शुरु गरिएको हो,’ निर्माण कम्पनीका एक जना प्राविधिकको प्रत्यक्ष निगरानीमा स्थानीय कामदारको एउटा समूहले ड्रेन निर्माण गरिरहेको देखाउँदै राखेपकै कर्मचारी भन्छन्, ‘हामीलाई पनि केही भनिएको छैन, यहाँ हेर्नुस् ५/७ जनाले नाली निर्माणको काम गरिरहेका छन्, गुणस्तरबारे कुनै निगरानी छैन ।’


तत्कालिन खेलकुद मन्त्री गहतराजको पहलमा चालु आर्थिक वर्षभित्रै सेन्थेटिक ट्रयाक निर्माणको ठेक्का खोल्न मिल्ने गरी अर्थ मन्त्रालयले १३ करोड ८५ लाख बजेटको स्रोत सुुनिश्चित गरेको थियो ।


राखेपका सदस्य दीपेन्द्र विष्टले राखेपका प्राविधिक चिरन्जीवी लम्साललाई गुणस्तर नियन्त्रण र निगरानीका लागि खटाइएको जानकारी दिंदै लापरबाही भएको भए तत्काल सदस्य–सचिवसँग समन्वय गरि आफु नेपालगन्ज आउने बताए ।


दैनिक नेपालगन्जले लम्सालसँग यसका लागि पटक–पटक सम्पर्क गर्दापनि धारणा बुझ्न, जानकारी लिन गरिएको प्रयासमा रेस्पोन्स भएन । सम्बद्ध कर्मचारीका अनुसार, लम्साल केही दिनदेखि काठमाडौमै छन् ।

‘उनीसँग मैलेपनि पटक–पटक सम्पर्क गरेर क्लालिटी कन्ट्रोलका लागि सिरियस हुनेबारे कुरा गरेको छु,’ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शाहले गम्भीर लापरवाही रोक्न सदस्य सचिव र खेलकुदमन्त्रीका निजी सचिवसमेतलाई सूचित गराएको जानकारी दिंदै भने, ‘लम्सालजीका कुरा त मिडियासँग के गरौं, सदस्य सचिव र मन्त्रीसँगै गरौला, प्रमाण संकलन गरेर राखेको छु ।’ उनले नेपालगन्ज रंगशालाको भविष्यमानै प्रभाव पार्ने खेल पुर्वाधार निर्माणमा राखेप गम्भीर हुनुपर्ने भन्दै यस्तै रहे आफुहरुले हस्तक्षेप गरेरै काम रोक्नेसम्मको योजना सुनाए ।


‘कुनै कमजोरी भएको भए सुधार गरेर अगाडी बढ्ने हो, कर्मचारीले किन निगरानी गरिरहेका छैनन् ? मलाई पनि मोनिटरिङका लागि सदस्य–सचिवज्यूले भनिरहनु भएको छ,’ राखेप सदस्य विष्टले दैनिक नेपालगन्जसँग भने ।


सेन्थेटिक ट्रयाक ११ महिनामा सम्पन्न गर्ने गरी काठमाडौंस्थित प्रतीक्षा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको हो । तर, कम्पनीले स्थानीय केही कामदार परिचालन गरि ड्रेनको काम शुरु गरेको छ । ‘मुख्य काम अस्फाल्ट गर्ने र सेन्थेटिक ट्रयाक बिच्छ्याउने कुरामा समय लाग्दैन,’ फिल्डमा भेटिएका निर्माण कम्पनीका प्राविधिकले तोकिएकै समयमा काम सकिने विश्वास दिलाउँदै वर्षात्का कारण काम सुस्त हुन पुगेको दावी गरे ।


रंगशालामा अहिलेपनि रनिङ ट्रयाक निर्माण, फ्लड लाइट जडान लगायतका महत्वपूर्ण काम गर्न बाँकी छ । बजेटको स्रोत सुनिश्चित भएसँगै नेपालगन्ज रंगशालाले आठौं राष्ट्रिय खेलकुदमा आँटेका पूर्वाधार पाउने भएको होे । नेपालमा दशरथ रंगशाला, पोखरा रंगशाला र दाङको बेलझुण्डी रंगशालामा मात्र सेन्थेटिक ट्रयाक रहेको छ ।

आठौंमा नेपालगन्जमा निर्माण गरिने भनिएको ट्रयाक दाङ बेलझुण्डी लगिएको भन्दै आलोचना भएको थियो । । सेन्थेटिक ट्रयाक नहुँदा आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा एथलेटिक्सका खेल बेलझुण्डीमा भएका हुन् ।


निर्माण कम्पनीले १५ वैशाखदेखि निर्माणको काम थाल्ने जानकारी दिएपनि एक महिना ढिलोगरि आएको राखेप कर्मचारीको भनाइ छ ।


आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका अधिकांश खेल नेपालगन्ज रंगशालामा भएका थिए । त्यसैबेला नेपालगन्ज रंगशालामा प्यारापिटसहितको अन्तर्राष्ट्रिय मापदण्डको पौडीपोखरी, घाँसको फुटबल मैदान, अत्याधुनिक प्यारापिट, सुटिङ हल, भारोत्तोलन, भलिबल, ब्याडमिन्टन कोर्ट, बास्केटबल कोर्टलगायतका खेल संरचना निर्माण गरिएको हो । तर, तीनको उपयोग हुन नसकेको भन्दै चिन्ता गरिएको छ । (dainiknepalgunj.com बाट)

प्रतिक्रिया

प्रतिक्रिया