अध्यक्षको नाममा रकम निकासा, अध्यक्ष बेखबर

जय किसान माध्यमिक विद्यालयमा अनियमितता

बाँके नरैनापुर गाउँपालिका स्थित एउटा विद्यालय ब्यवस्थापन समितिका अध्यक्षको नाममा उनलाई थाहै नदिई रकम निकासा गरेको खुलेको छ ।


नरैनापुर गाउँपालिका वडा नं.६ स्थित जय किसान माध्यमिक विद्यालयका लेखापाल रामवरन मौर्यले उक्त विद्यालयका अध्यक्ष अम्बरलाल मौर्यको नाममा चेक काटेर आफु रकम निकासा गरेको खुलेको हो ।


विना प्रयोजन, विना शीर्षक रकम निकासा भएको आन्तरिक सूचना पाएपछि सो बारे सनराईज बैंक लिमिटेड नरैनापुरमा बुझ्दा मेरो नाममा चेक काटिएको र आफुलाई सूचना समेत नरहेको पाइयो, नेपालगन्ज न्युज संग कुरा गर्दै अध्यक्ष मौर्यले भने, यसबारे सूचना पाएपछि लेखापाल माथि कारवाही प्रक्रिया अगाडी बढाउने तयारी गरेको छु ।


लेखापाल रामवरन मौर्यले उक्त चेक मार्फत ३५ हजार रुपैया निकासा गरेको तथ्य पत्ता लागेको हो, अध्यक्ष मौर्यले भने, लामो समय देखि लेखापालले विद्यालयको रकम हिनामिना गरिरहेका सूचना मैले शिक्षा शाखामा दिँदा समेत कुनै कारवाही भएको छैन ।


विद्यालयमा आवश्यकता भन्दा बढि कर्मचारी भर्ना गरेको र उनीहरुको तलब निकासा नगर्दा विवाद उत्पन्न भएको हो, जयकिसान माध्यमिक विद्यालयका लेखापाल रामवरन मौर्यले भने, अध्यक्षले नन्दकिशोर धोबीलाई कार्यालय सहायकमा र अवधेश कुमार मौर्यलाई खाजा ब्यवस्थापकमा मनोमानी ढंगले नियुक्त गरेकोले सोही विषय अहिले विवादको केन्द्र बनेको छ ।


अध्यक्षले आरोप लगाए बमोजिम अवैधानिक तरीकाको कुनै ट्रांजेक्सन भएको छैन, लेखापाल मौर्यले भने, ब्यवस्थापन समितिको निर्णय बिना कुनैपनि आर्थिक कारोबार भएको छैन ।


२०८० बैशाख १५ गते नरैनापुर शिक्षा समितिको निर्णय अनुसार निज लेखापाल राम वरन मौर्यको सरुवा आदर्श मावि लक्ष्मणपुरमा भएको थियो । पावरको आधारमा शिक्षा शाखाले उनलाई हाल सम्म सरुवा पत्र समेत दिएको छैन, र उनी पटक पटक अनियमितताको विवादमा तानिँदै आएका छन् ।


विद्यालय माथि हालै दर्ता भएको एउटा मुद्दाका विषयमा रकम निकासा गर्ने निर्णय भएको थियो, नरैनापुर शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख कृष्ण कुमार थारुले भने, उक्त रकम सोही शीर्षकमा हो वा फरक त्यो विवरणहरु हेरेपछि खुलासा हुन्छ ।


हामी चाँडैनै सबै विद्यालयको विल भरपाई र खाताको अवस्थाहरुमा निगरानी बढाउने तयारी गरेका छौं, शाखा प्रमुख थारुले भने, विद्यालयबाट निरन्तर गुनासो आइरहेको हुँदा ती विषयमा हाम्रो पनि ध्यानाकर्षण भएको छ ।


यसअघि प्रधानाध्यापक नियुक्ती बारे विवाद रहँदै आएको सो विद्यालयमा विभिन्न शीर्षकमा रकम हिनामिना रहेको, शैक्षिक वातावरण प्रभावित रहेको, दिवा खाजा खरीद र विद्यालयको पुस्तक खरीदमा ब्यापक भ्रष्टाचार देखिएको भन्दै विद्यालयले आवश्यक जाँचका लागि सार्वजनिक रुपमै अहवान गरेको थियो ।


विद्यालयको जग्गा ठेक्कामा दिँदा विद्यालयलाई प्राप्त हुनु पर्ने रकम ९ लाख रुपैया विद्यालयमा दाखिला नभएको, कक्षा ९ देखि १२ सम्म संचालित कृषि संकायको रकममा हिनामिना रहेको, विद्यालयका लागि खरीद भएको पुस्तकमा ५ लाखको अनियमितता देखिएको, विद्यालयको खाता र विद्यालयमा रहेको विभिन्न जिन्सी सामाग्रीमा हेरफेर गरि रकम हिनामिना भएको अध्यक्ष मौर्यले यसअघि खुलासा गरेपनि हाल सम्म कारवाही हुन सकेको छैन ।

प्रतिक्रिया

प्रतिक्रिया