नेपालगन्जका उद्योगी व्यवसायीहरुको आसन्न नेतृत्व: काँग्रेस–माओवादीनै आमने सामने


नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी नेतृत्वका लागि सत्तासिन काँग्रेस–माओवादी आमने –सामने आउने भएका छन् ।

नेतृत्व चयनका लागि गरिने निर्वाचन साउन २० गतेका लागि निश्चित भएपछि टिम बनाउन भइरेका कसरतले निष्कर्ष दिनैलाग्दा नेतृत्वको दौडमा काँग्रेस–माओवादी आमने–सामने देखिएका हुन् ।


काँग्रेस सम्बद्ध व्यवसायीहरुको प्रजातान्त्रिक उद्योगी व्यवसायी संघबाट ललित रौनियार र माओवादीका टंकबहादुर धामीले समावेशी प्यानलको नेतृत्व गर्दै टिम बनाइरहेका छन् ।


‘हामी एक्लै निर्वाचनमा जाने गरि टिमलाई अन्तिम रुप दिंदैछौं,’ आफुलाई संघको कार्यसम्पादन समितिले महासचिवमा प्रस्ताव गरेको जानकारी दिंदै ध्रुब दाहालले दैनिक नेपालगन्जसँग भने, ‘एमालेका साथीहरुसँग सहकार्य गरेर जाने कुरालाई बिट मारिएको छ ।’ उनले रौनियारको अध्यक्षतामा आफु महासचिवको दावी गरेका छन् । ‘मेरो बलियो दावी हो,’ दाहालले भने ।


सम्बद्ध स्रोतका अनुसार, यसअघि दावी गर्दै आएका शिव दाहालले गठबन्धनका क्रममा साझाका भिम रानाभाटका लागि छाडेपनि उपाध्यक्ष प्रस्तावित विष्णु श्रेष्ठलाई महासचिव ल्याउन खोजिएको थियो । तर, रानाभाटलाई महासचिव नदिने हो भने कोषाध्यक्ष माग गर्दा यसअघि प्रचारमै लागिसकेका मख्खनसिंह ‘धामी ब्याक हुनसक्ने अवस्थामा नरहेको’ भन्दै गठबन्धननै तोडिने अवस्था आएको हो ।


काँग्रेस समर्थित प्रजातान्त्रिक र एमाले सम्बद्ध साझा समावेशीबीचको टिम बनाउने एकसाता देखिको प्रयास मंगलवार टुंगिएको सम्बद्ध नेताले बताए । तीन उपाध्यक्ष र उपमहासचिवसहित प्रजातान्त्रिक संघसंग गठबन्धनको सहमतिलाई अन्तिममा कोषाध्यक्षका लागि समझदारी हुन नसकेपछि साझा समावेशी समूहले गठबन्धन तोडेको सम्बद्धको भनाइ छ ।


समावेशी समूहले भने धामीको नेतृत्वमा ‘टिम फाइनल गरिसकेको’ जनाएको छ । उद्योगतर्फको उपाध्यक्षमा चिरन्जीवी ओली र वाणिज्यतर्फ सलाउनद्दिन जसगढको नाम बाहिर आएपनि राप्रपा र जसपाको स्थानलाई लिएर समझदारी नटुंगिएकाले टिम सार्वजनिक गर्न ढिलाई भइरहेको सम्बद्धको भनाइ छ ।

महिला उपाध्यक्ष तर्फपनि माओवादीकी मन्दिरा पाण्डेलाई दिइनेभएपछि वाणिज्यमा राप्रपा वा जसपालाई मनाउन खोजिएको हो । जसपाबाट अब्दूल वाहिद अन्सारी (बब्लु)को नाम अघि सारिएको बताइएको छ ।


समावेशीले महासचिवमा विजय भण्डारी (बासु) लाई अघि सारेकोे छ । उनी राष्ट्रिय स्वतन्त्र पार्टी सम्बद्ध हुन् । ‘हाम्रो टिम फाइनलनै छ,’ छिट्टै पत्रकार सम्मेलन गरि सार्वजनिक गरिने तयारी रहेको जानकारी दिंदै समावेशी समूहका नेता इश्वर पोखरेलले दैनिक नेपालगन्जसँग भने, ‘हामी मैदानमा उत्रिन तयार छौं, टिम फाइनल भइसकेको छ ।’


साझा समावेशीले भने निर्वाचन अभियानबारे कुनै धारणा सार्वजनिक गरेको छैन । ‘हामी छलफलमै छौं,’ सम्बद्ध नेता भन्छन् ।

प्रतिक्रिया

प्रतिक्रिया