लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले जीवनोपयोगी सीप सिक्ने वातावरण निर्माण गर्दै रोजगारी प्रबद्र्धन गर्ने प्रदेश सरकारको योजना सुनाएका छन् ।
मुख्यमन्त्री चौधरीले विकास र समृद्धिका लागि प्रदेश सरकार र स्थानीय सरकारका बीचमा समन्वय, समझदारी र सहकार्य जरुरी रहेको उल्लेख गरे ।
आइतवार प्रेस युनियन, बाँकेले नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा मुख्यमन्त्री चौधरीले प्रदेश सरकारले रोजगारलाई प्राथमिकता दिएको बताए । दुई लाखलाई रोजगारी दिने गरी प्रदेश सरकार लागिपरेको बताउदै चौधरीले त्यसका लागि एक अर्ब छुट्याएको र संघबाट पनि त्यतिनै अपेक्षा गरिएको बताए ।
उनले साउनमा मन्त्रीमण्डल विस्तार हुने बताएका छन् । राजनीतिक सहमतिमा मन्त्रीमण्डलले पूर्णता पाउँछ, मुख्यमन्त्री चौधरीले भने, ‘यतिबेला जनतालाई के दिने भन्नेमा लागेका छौं । त्यसपछि मन्त्रीमण्डल विस्तार गर्छौ ।’
प्रदेश सरकारले स्थानीय उत्पादनलाई बढावा दिएको र जिल्लाको विशेषता अनुसार हब बनाउने अभियानमा लागेको चौधरीको भनाइ छ । सरकारले बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ हेर्नका लागि स्काईब्रिज बनाउने बताएको छ ।
यसअघि आइतवार बिहान मुख्यमन्त्री चौधरीले बाँकेको कोहलपुरस्थित नयाँ बसपार्कको उद्घाटन गरे ।
बसपार्क उद्घाटन गर्दै मुख्यमन्त्री चौधरीले कोहलपुर पश्चिम नेपालको गेटवे भएको बताउँदै कोहलपुर क्षेत्रको विकास र समृद्धिका लागि लुम्बिनी प्रदेश सरकारको साथ र सहकार्य रहने प्रतिबद्धता व्यक्त गरे ।
जीवनोपयोगी सीप सिक्ने वातावरण निर्माण गर्दै रोजगारी प्रबद्र्धन गर्ने प्रदेश सरकारको योजना रहेको सुनाउँदै मुख्यमन्त्री चौधरीले विकास र समृद्धिका लागि प्रदेश सरकार र स्थानीय सरकारका बीचमा समन्वय, समझदारी र सहकार्य जरुरी रहेको उल्लेख गरे ।