नेपालगन्ज बन्ला त गुलमोहर सिटी !

नेपालगन्जमा विभिन्न रंगका विरुवा रोपेर गुलमोहर सिटीको पहिचान स्थापित गर्ने योजना


नेपालगन्जमा नीलो गुलमोहर रोप्न थालिएको छ । ग्रीन नेपालगन्ज, क्लीन नेपालगन्जले नेपालगन्जका मुख्य सार्वजनिक स्थानमा गुलमोहर रोप्न लागेको हो ।


त्यसक्रममा मंगलवार नेपालगन्ज–१८ कारकादौस्थित सडक डिभिजन कार्यालयबाहिरको सडक छेउ गुलमोहर रोपिएको ग्रीन नेपालगन्ज, क्लीन नेपालगन्जका संयोजक डा. विनोद कर्णले जानकारी दिए ।

‘१५ थान नीलो गुलमोहरका विरुवा रोपिएको छ,’ केही दिन अघिपनि त्यतिनै विरुवा नजिकै रोपिएको जानकारी दिंदै डा. कर्णले दैनिक नेपालगन्जसँग भने, ‘विभिन्न ठाउँ पहिचान गरि नीलो र गोल्डेन गुलमोहर लगाइएको हो ।’


मंगलवार नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, उप–प्रमुख कमरुद्दिन राई सहितका विभिन्न व्यक्तित्वहरुले ग्रीन नेपालगन्ज, क्लीन नेपालगन्जको अभियानमा सहभागिता जनाएका छन् । विरुवा रोप्दै नगर प्रमुख विष्टले ‘हरियालीयुक्त नेपालगन्ज निर्माणमा आफु कटिबद्ध भएको’ दोहोर्याए ।


ग्रीन नेपालगन्ज, क्लीन नेपालगन्जका संयोजक डा. कर्णले नेपालगन्जमा विभिन्न रंगका विरुवा रोपेर गुलमोहर सिटीको पहिचान स्थापित गर्ने योजना सुनाउँदै काम अगाडी बढिसकेको बताए ।

‘तर, हामीलेमात्रै चाहेर गरेर हुँदैन,’ सरकारको साथ सहयोगसँगै स्थानीयवासीको सहभागितामा जोड दिंदै डा. कर्णले भने, ‘सबै मिलेर वातावरणमैत्री ग्रीन एण्ड क्लीन नेपालगन्ज अभियानमा हातेमालो आवश्यक छ ।’

नेपालगन्जमा सुर्खेतरोड विस्तारअघि निकै ठाउँमा गुलमोहरका आकर्षक बोटहरु देखिन्थे । डा. कर्णकै अगुवाईमा सुर्खेतरोडलाई हरियाली बनाउने अभियान थालिएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया