बाँके क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य किशोर सिंह राठौरले बाँके जिल्लालाई शैक्षिक हब बनाउन विशेष पहल लिने प्रतिबद्धता जनाएका छन् ।
सोमबार नेपालगन्जमा लुम्बिनी प्राबिधिक बिश्वबिद्यालयको प्रथम बार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मध्य र सुदुर पश्चिमको गन्तव्यका रुपमा रहेको बाँके जिल्लालाई सरकारले शैक्षिक हबका रुपमा विकास गर्न विशेष ध्यान दिनुपर्ने बताए ।
नेपाली कांग्रेसका सहमहामन्त्री राठौरले हुने खानेका छोराछोरी काठमाडौं लगायत अन्य क्षेत्रमा गएर अध्ययन गरे पनि यस प्राविधिक विश्वविद्यालयले गरिव र निम्न वर्गका जनताले बाँकेमै प्राविधिक शिक्षा पाउने बताए ।
पछिल्लो समय प्राविधिक शिक्षाको आवश्यकता बारे राठौरले कोरा शिक्षाले बेरोजगार उत्पादन गर्ने भएकाले अहिलेको आवश्यकता प्राविधिक शिक्षा नै भएको जिकिर गरे ।
लुम्बिनी प्रदेशका मुख्य मन्त्री डिल्ली बहादुर चौधरीले यो विश्वविद्यालय लुम्बिनी प्रदेशको गौरवको योजना भएकोले यसलाई आवश्यक बजेट तथा नीति निर्माण गर्नमा प्रदेश सरकारको ध्यान रहने कुराको आश्वासन दिए ।
मुख्यमन्त्री चौधरीले विश्व विद्यालयका लागि सेवा समिति समेत नियुक्त गरीसकेको र अब अन्य कुराहरु कमश पूर्णता दिदै लैजाने बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्ब मुख्यमन्त्री कुल प्रसाद केसी, प्रतिनिधिसभा सदस्य दिपा शर्मा, लुम्बिनी प्रदेश सामाजिक बिकास मन्त्री चन्द्रकेश सिके गुप्ता, प्रदेशसभा सदस्य सन्जु कुमारी थारु लगायत बाँके, बर्दियाका स्थानीय तहका मेयर उप–मेयर, अध्यक्ष उपाध्यक्ष, दलका प्रतिनिधि, विभिन्न संघ संस्थाका पदाधिकारी, पत्रकार लगायत सहभागिता थियो ।