वडा नं. १८ले सार्वजनिक गर्यो नीति तथा कार्यक्रम

वडा नं. १८ ले उपमहानगरपालिकाबाट आ.ब.२०८०/०८१ का लागि १ करोड ६३ लाख २७ हजार बजेट प्राप्त गरेको छ । सोही बजेटको आधारमा वडा नं. १८ ले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । वडाध्यक्ष दिपक कुमार बर्माले वडाकार्यालयबाट वडाको समुन्नत विकासका लागि विभिन्न खालका नीति बनाइएको बताए ।

वडाको प्रत्येक टोलहरूमा क्रमिक रूपमा पूर्वाधार विकासमा सडक तथा नाला निर्माण कार्यला प्राथमिकतामा राखिने छ’, वडाध्यक्ष बर्माले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भने, ‘सुन्दर स्वच्छः तथा हरियाली वडा बनाउनका लागि सार्वजनिक ऐलानी जग्गाको पहिचान गरि संर तथा उक्त जग्गामा वृक्षारोपण गरिने छ ।’ ‘वडामा बसोवास गरि रहेका भूमिहीन दलित भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोवासीहरूको पहिचान गरि बसोवास गरि रहेको क्षेत्रको नक्साङ्कन गरि जग्गाधनी पूर्जा वितरण कार्यलाई सम्बन्धितः ठाउँमा जोडदार पहल गरिने छ’, उनले भने, ‘बडालाई पर्यटकिय रूपमा विकास गर्नका लागि तिरूपति बालाजी मन्दिर निर्माण गर्न सार्वजनिक जग्गाको पहिचान गरि मन्दिर निर्माणका लागि पहल गरिने छ ।’ वडामा रहेको श्री माध्यामिक विद्यालय लग्दहवालाई १२ कक्षा संचालनका लागि कक्षा कोठा निर्माण, शिक्षक दरबन्दी तथा शैक्षिक स्तर सुधारमा जोड दिने नीति लिएको छ । ‘भुजईगाउँमा रहेको पाटेश्वरी आधारभूत विद्यालय, नेराप्रा वि संगम नगर तथा राम जानकी प्रा.वि.लाई व्यवस्थित गर्न भौतिक पूर्वाधार विकासमा जोड दिइने छ’, वडाध्यक्ष बर्माले भने । वडाले खेलकुल प्रोत्साहित गर्न वडा स्तरिय विद्यालयहरूमा खेलकुद प्रतियोगिता गराउने नीति लिएको छ ।

त्यस्तै, फोहोर व्यवस्थापनलाई व्यवस्थिति गर्ने बताएको छ । ‘वडामा विभिन्न धार्मिक सम्प्रदायको अन्तिम संस्कारका लागि आवश्यक पूर्वाधारको निर्माण गरिने छ’, वडाध्यक्ष बर्माले भने । वडाले जनतालाई छिटो छरितो सेवा दिनका लागि विद्युतिय शासन प्रणाली लागु गर्ने नीति लिएको छ । ‘वडा नं १८ भित्र रहेका होटल तथा रेष्टुरेन्टहरूमा कानूनीले बन्चित गरेको गलत क्रियाकलाप नदिन बेला–बेलामा अनुगमन गरिनेछ’, वडाध्यक्ष बर्माले नीति तथा कार्यक्रममा उल्लेख गरेका छन्, ‘वडा भित्र रहेका बयान एवं फरक क्षमता भएका व्यक्तिहरूलाई आय आर्जन सम्बन्धी कार्य संचालन गरिने छ ।’

योजना कार्यान्वयन गर्छु : वडाध्यक्ष बर्मा

‘आजसाँझसम्म बसेर पनि तपाईहरूको माग, कार्यक्रम, योजना र सुझाव लिन्छु’, वडा नं. १८ का वडाध्यक्ष बर्माले शनिबार आयोजित वडा भेलाको पहिलो सत्र समापन गर्दै भने । पहिलो सत्र नै बर्षाले प्रभावित भएर सकिंदा दोस्रो सत्र सुरु हुनु अवागै ठूलो झरी पर्यो । झरी पछि सहभागी वडाबासी तितरवितर होलान्, वडाको नीतिमा सुझाव नदिई हिड्लान्, आफुले ल्याएको नीति तथा कार्यक्रममा सुझाव नराखी जालान् भन्नेमा चिन्तित देखिएका वडाध्यक्ष बर्माले वडा भेलाको पहिलो सत्र समापनमै आफु साँझसम्म नै कार्यक्रम स्थलमै रहने र वडाबासीका सुझाव लिएर मात्रै जाने बताएका हुन् । उनले झरी बीच वडा भेलाको पहिलो सत्र समापन गर्दै लिखित, मौखिक योजना र सुझाव दिन आव्हान गरे । झरीमा ओत लागेका वडाध्यक्ष बर्मा ओत लागेका वडाबासीसँग तपाईको केही सुझाव छ भन्दै थिए । ‘केही छ भने लेखेर वा मौखिक भन्दा हुन्छ, कही कुनै योजना अगाडि बढाउनु पर्ने छ ?’ वडाध्यक्ष बर्माले आफु नजिक ओत लागेका स्थानीयलाई प्रश्न गर्दै थिए । ओत लागेका स्थानीय सँग संवादमा सक्रिय रहेका उनले वडाका विभिन्न विषयमा सम्झाएका पनि देखिन्थ्ये ।

दैनिक नेपालगन्जसँगको कुराकानीमा वडाध्यक्ष बर्माले भने, ‘टोलटोलका समस्या थाहा छ, यसअघि पनि अनौपचारिक कुरा भैरहेको छ । औपचारिक रूपमा सुझाव लिनु थियो, बर्षात्ले समस्या गर्यो ।’ अध्यक्ष बर्माले कुनै महत्वका कार्यक्रम छुटेको भए वडाबासीबाट पाउन सकिने भएकाले लिखित वा मौखिक रूपमै भएपछि सुझाव दिन आग्रह गरेको बताए । ‘सबै माग वडाको बजेटबाट पूरा गर्न नसकिएला’, वडाध्यक्ष बर्माले भने, ‘तर, वडाबासीले माग गरेका योजना उपमहानगरपालिका, प्रदेश र संघीय सरकारको योजनामा पारेर समेत पूरा गर्न मेरो पहल हुनेछ ।’ उनले आफ्नो वडाका टोलमा रहेका समस्याबारे निरन्तर छलफलमा रहने गरेको उल्लेख गर्दै यसअघि नै कार्यक्रमहरू मौखिक रूपमै पनि आफुले लिइरहेको बताएका थिए ।

‘वडाबासीका उचित योजना र माग पूरा गर्ने मेरो दायित्व हो’, वडाध्यक्ष बर्माले भने, ‘त्यसका लागि तीन तहकै सरकारसँग पहल गर्नेछु ।’ अध्यक्ष बर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपालगन्ज नगर प्रमुख प्रशान्त विष्ट, विभिन्न वडाका वडाध्यक्ष तथा प्रतिनिधि, विभिन्न राजनीतिका दलका स्थानीय नेता, बडाबासी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमका वक्ताहरूले वडा नं. १८ ले वडाको बजेटबाट मात्रै असम्भव रहेको विकास निर्माणका कार्य पूरा गर्नका लागि उपमहानगरपालिका, प्रदेश र संघीय सरकारबाट समेत बजेट ल्याउन सफल भएकोमा प्रशंसा गरेका थिए । उनीहरूले वडाध्यक्ष बर्माले स्थानीय स्तरमा शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माणका लागि गरेको अथक प्रयास गरेको र त्यो वडामा भैरहेको कामले देखाएको बताएका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया