अपराध विरुद्ध नागरिक सहकार्य आवश्यक

लुम्बिनी प्रदेश प्रहरी नायब महानिरीक्षक (डीआईजी) उमेश राज जोशीले समाजमा रहेको अपराध न्युनिकरणका लागि नागरिक स्तरबाटै सहकार्य आवश्यक रहेको बताएका छन् ।
आज नरैनापुर गाउँपालिका वडा नं.५ मटेहिया स्थित ईलाका प्रहरी कार्यालय भगवानपुरको नवनिर्मित अत्याधुनिक भवन उद्घाटन कार्यक्रमका प्रमुख अतिथि रहेका डीआईजी जोशीले सुरक्षा प्रत्याभूत भएपछि बाँकी विकास द्रुत गतिमा हुने बताए ।
नरैनापुर क्षेत्रको विकासको अवस्था विश्लेषण गर्दै जोशीले प्रहरी सुरक्षा चुस्त भएपछि वित्तिय कारोबार, विकासका पूर्वाधार निर्माणमा प्रहरी सुरक्षाको भूमिका पनि आवश्यक मापदण्ड रहेको जिकिर गरे ।
नरैनापुरको विभिन्न प्रहरी युनिटहरुमा अझैपनि भवन अभाव रहेकोले अब्यवस्थाका विच पनि प्रहरीले उच्च मनोबलका साथ जनसेवामा समर्पित रहेको डीआईजी जोशीको भनाई छ ।
प्रदेश सरकारको करिब ३ करोड बढि लगानीमा निर्माण भएको ईलाका प्रहरी भवन उद्घाटन कार्यक्रममा बोल्दै नरैनापुर गाउँपालिका अध्यक्ष ईस्तियाक अहमद शाहले नरैनापुरका अझै थुप्रै प्रहरी कार्यालयमा भवनको खाँचो रहेको बताए ।
विकट क्षेत्रबाट विस्तारै विकासको पूर्वाधार संग नरैनापुरलाई जोड्ने प्रयासमा सबै वडा अध्यक्षहरुलाई सक्रियतापूर्वक लाग्न आग्रह गर्दै अध्यक्ष शाहले भने, पक्ष विपक्षको राजनीति अहिले आवश्यक विषय होइन ।
भवन उद्घाटन कार्यक्रममा बाँके प्रहरी प्रमुख सन्तोष सिंह राठौर लगायत प्रहरी उच्च अधिकारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया