बालिका बेपत्ता पार्ने प्रहरी फन्दामा, तीन मुद्दामा अनुसन्धान

तीन साता अघि बालिका बेपत्ता पारेको घटनाले तात्तिएको नेपालगन्जलाई बाँके प्रहरीले शान्त पारेको छ।

आफ्नी छोरीलाई छिमेकी युवकले ‘अपहरण गरी बेपत्ता पारेको’ भन्दै पीडित परिवारले जाहेरी दिएपछि तात्तिएको प्रहरीले घटनाको २० दिनपछि आरोपी युवालाई आफ्नो फन्दामा पारेको हो ।

प्रहरीले घटनामा विभिन्न शक्ति, समूहको दबाबमा परेर पक्राउ गर्न ढिलाई गरिरहेको आरोप सहित धर्ना, प्रदर्शन भैरहँदा बाँके प्रहरीले भारतका विभिन्न ठाउँमा उनीहरूको खोजी गरिरहेको सम्बद्ध स्रोतले बताएको थियो ।

‘हामी मुम्बईदेखि दिल्लीसम्मका धेरै ठाउँमा धाएर यी दुवैलाई एकै ठाउँबाट नियन्त्रणमा लिन सफल भएका हौं’, प्रहरी अपरेशनबारे एक सुरक्षा अधिकारी भन्छन्, ‘तर सुरक्षा संवेदनशीलताका कारण हामी न मिडिया समक्ष जान सक्यौं, न त परिवारलाई केही आश्वस्त पार्न सक्यौं।’

त्यसको फाइदा उठाउँदै कतिपयले प्रहरी विरुद्ध भ्रम फैलाएको गुनासो सुरक्षा अधिकारीको छ । बाँके प्रहरीका अनुसार, सीमावर्ती भारतीय नाका नजिकबाट आरोपी युवा र अपहरणमा परेकी भनिएकी बालिका शुक्रबार विहान प्रहरीले फेला पारेको छ ।

घटना प्रकृतिमा जे जस्तो देखिएपनि युवक परिपक्व र बालिका कम उमेरकी रहेकाले अभियोग अनुसारको आरोप ठहर हुने सम्भावनाका आधारमा कानुनी कारवाही अगाडि बढाइएको छ ।

‘भारतीय सीमा नाका नजिक लुकिछिपी रहेको अवस्थामा युवालाई नियन्त्रणमा लिइएको छ’, बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले घटना पुष्टि गर्दै दैनिक नेपालगन्जसँग भने, ‘युवकसँगै भेटिएकी बालिकाको आवश्यक स्वास्थ्य परीक्षण र बयान लिएर परिवारको जिम्मा लगाइएको छ ।

आरोपी युवकलाई विभिन्न तीन वटा मुद्दामा अनुसन्धान अगाडि बढाइने जानकारी दिँदै प्रहरी उपरीक्षक सिंहले यसका बहानामा प्रहरीलाई दबाब दिने र साम्प्रदायिक दबाब विथोल्ने क्रियाकलाप हुन नदिन सरोकारवाला सबै सचेत हुनुपर्ने औँल्याए ।

‘प्रहरीले कसैको दबाब र प्रभावमा काम गर्दैन, नियमित अपराध अनुसन्धान र खोजी कार्यमा भैरहेकोले परिणाम प्राप्त भएको औंल्याउँदै प्रहरी उपरीक्षक राठौरले भने, ‘सामाजिक विकृतिमा आफ्ना सन्तानप्रति अभिभावक सचेत निगरानीमा संवेदनशील हुनुपर्ने अवस्था देखिन्छ ।’

बाँके प्रहरीका अनुसार, शुक्रबार नियन्त्रणमा परेका युवक विरुद्ध विभिन्न तीनवटा मुद्दा परेका छन् । त्यसविरुद्ध अनुसन्धान अगाडि बढाएको प्रहरीले पीडित बालिकासँग बयान लिएको छ ।

‘परिवारले जबर्जस्ती करणी, अपहरण शरीर बन्धक र मानवबेचबिखन मुद्दामा किटानी जाहेरी दिएको छ उमेर हदका कारण किटानी जाहेरी अनुसारको जबर्जस्ती करणी ठहर हुने संकेत गर्दै अनुसन्धान संलग्न एक प्रहरी अधिकारी भन्छन्, ‘अरू मुद्दा भने अनुसन्धानका आधारमा आउने प्रमाणले पुष्टि गर्दै जाला ।’ प्रहरीले दुवैको स्वास्थ्य परीक्षण गराएको छ । त्यस्तै, सरकारी वकिलको कार्यालयमा लगेर दुवैको बयान लिने काम पनि गरिसकेको बताइन्छ ।

‘अपराधलाई सामाजिक रंग दिन हुँदैन’, प्रहरी अधिकारी भन्छन्, ‘अपराधी कानुन बमोजिम कारवाहीको दायरामा आउँछन्, अदालतबाट सजाय पाउँछन् । प्रहरी अधिकारी सामाजिक सद्भाव विथोल्ने गरी कसैले पनि घटनालाई अतिरञ्जित गर्न नहुने बताउँछन् ।

प्रतिक्रिया

प्रतिक्रिया