‘रविन्द्र सर’ अर्थात्, रविन्द्रराज रेग्मीको रहस्यमय मृत्युको वास्तविकताबारे विभिन्न लख काटने काम भइरहेको छ ।
सोमवारदेखि एकाएक बेपत्ता नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ निवासी रेग्मीको मंगलवार बिहान पूर्वपश्चिम राजमार्गको ढकेरी क्षेत्रमा शव फेला परेको थियो ।
घरबाट मिटिङ्ममा जानू छ भनेर भे.६.प. ८२२४ नं. को मोटरसाइकलमा निस्किएका ४२ वर्षीय रेग्मी आदर्श उच्च मावि राँझामा १५ वर्षदेखि प्राध्यापन गर्दै आएका थिए । प्राचार्य प्रकाश आचार्यका अनुसार, अर्थशास्त्र र गणित प्राध्यापन गर्दै आएका रेग्मी अस्थायीनै थिए ।
उनी महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा पनि आंशिक प्राध्यापन गर्दै आएका मिलनसार र मृदुभाषी व्यक्तित्व थिए । बुवा गणेशप्रसाद उपाध्याय रेग्मीका एकमात्र छोरा ‘रविन्द्र सर’का दुई छोरा र एक श्रीमति छन् ।
मोटरसाइकल पूर्वपश्चिम राजमार्गको छेउमा ट्रकका चालकले देखेपछि प्रहरीलाई सूचना दिएका थिए । जंगलमा घाँस काट्ने क्रममा महिलाहरुले शव देखेका थिए । सोमवार दिउसो २ः३० बजेतिर घरबाट निस्किएका रेग्मीको मृत्युबारे बाँके प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
‘हामीले घटनास्थलमा प्रारम्भिक अनुसन्धान गरिसकेका छौं,’ बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले घटनास्थल अनुसन्धानका लागि कुकुरसमेत परिचालन गरिएको जानकारी दिंदै भने ।
‘सडक छेउ मोटरसाइकल छ, शरिर जलेको अवस्था देखिन्छ, प्रत्यक्षदर्शीले भने, ‘घटना कसरी के भएको होला भन्ने अनुमान गर्न गार्हो छ ।’ यद्धपि, घटनास्थलबाट प्रहरीले रेग्मीको हस्ताक्षरित ‘नोट’ भेटेको छ ।
‘त्यसको आधिकारिकता परीक्षणका लागि फरेन्सिक ल्याब पठाइँदैछ,’ प्रहरीले भनेको छ, ‘ल्याबबाट प्रमाणित भएपछि सबै कुरा प्रष्ट हुन्छ ।’ मंगलवारनै पोष्टमार्टम गरिएको र त्यसको रिपोर्टले पनि मृत्युबारे धेरै कुरा खुल्ने प्रहरीले जनाएको छ । आज बुधवार अगैया राप्तीघाटमा दाहसंस्कार गरिने परिवारस्रोतले जनाएको छ ।
प्राध्यापन पेशासँगै सालासँगको साझेदारीमा घरनजिकै उद्योगसमेत सञ्चालन गर्दै आएका निकै मिहिनेतनी युवा उनी बेपत्ता भएपछि धेरै किसिमका आशंका गरिएका थिए । सोमवारराती करिब १०ः३२ बजेदेखि मोवाइल स्वीचअफ भएपछि खोजीका लागि आफुहरु गम्भीर भएको परिवारस्रोतले जनाएको छ । लगत्तै प्रहरी गुहार लगाइएको थियो ।
रेग्मीको शरीर जलेको अवस्थामा र लगाएको लुगा भने मोटरसाइकलकै छेउमा राखिएकोले हत्या आशंका गरिएको आफन्तको भनाइ छ । ‘नोट’ का आधारमा मृत्युको कारण अनुमान लगाइएपनि आर्थिक रुपमा सम्हाल्ननै नसकिने अवस्थामा रेग्मी नरहेको परिवारस्रोतको भनाइ छ ।
घटना अघि नेपाल बैंक लिमिटेडको धम्बोझी शाखामा पुगेर हिसाब किताब बुझेका रेग्मीले ‘नोट’मा ऋण तिर्न आवश्यक दिशानिर्देश उल्लेख गरेका छन् ।
‘कहिंकतै आर्थिक समस्या थियो की भन्ने सम्हाल्नै नसक्ने अवस्था पनि छैन,’ परिवारस्रोतका भन्छन्, ‘सबैका प्रीयनै भएकाले कसैले किन हत्या ग¥यो होला भन्ने मनासिब कारण औंल्याउन पनि सकिएको छैन ।’ अन्तर्मुखि स्वाभावका ‘रविन्द्र सर’ले परिवारभित्रै वा बाहिर कहिंकतै समस्या परेका पनि नसुनाएको उनी निकटहरुको भनाइ छ ।
‘आफ्नो प्रगति, आर्थिक उन्नतीका सवालमा कहिलेकाँही निराशाजनक कुरा चाहिं गरेका हुन्थे,’ उनी निकट एक प्राध्यापकले दैनिक नेपालगन्जसँग भने, ‘त्यतिका भरमा आत्महत्यानै पो गरिहालेकी भन्नै सकिन्न ।’
परिवारदेखि आफन्तजन, उनी निकट सबैतिरबाट घटनाको वास्तविकता बाहिर ल्याउन माग गरिएको छ ।
‘उ आफै मृत्यु रोज्नै सक्दैन यो पक्कै पनि कुनै खराब मान्छेको कुनियतको उपज हो,’ रेग्मीबारे उनी निकट सहकर्मी रमेश पाण्डेले प्रतिक्रिया दिंदै फेसबुकमा भनेका छन्, ‘अपराधीहरूलाई पत्ता लगाइ कुनै हालतमा छाडनु हुँदैन । अरुलार्ई जिवनमा प्रेरणा दिने मान्छे आज आफै यस्तो हुन पुग्यो ।’