सडक दुर्घटनामा डा. खड्कासहित दुईको मृत्यु

बाँकेको राप्तीसोनारी ८ मुगुवा खोला नजिकै पूर्वपश्चिम राजमार्गमा मंगलवार अपरान्ह सडक दुर्घटनामा गम्भीर घाइते दुई जनाको मृत्यु भएको छ । कार र बस दुर्घटना हुँदा कार चालक सहित दुई जनाको मृत्यु भएको हो ।


मृत्यु हुनेमा सुर्खेतकी डा.सन्जु खाती खड्का छन् । प्रादेशिक अस्पताल सुर्खेतमा कार्यरत उनी उपप्रधान तथा रक्षामन्त्री पूर्ण बहादुर खड्काकी भाइबुहारी हुन् । उनीसँगै कारचालक गोरखाका ३७ बर्षीय सुवास अधिकारीको पनि मृत्यु भएको प्रहरीले जनाएके छ ।


नेपालगन्जबाट काकरभिट्टाको लागि छुटेको भे १ ३३३५ नम्बरको बस र बुटवलतिरबाट आइरहेको बा १३ च ८२५३ नम्बरको कार आपसमा जुधेको हो । ‘घटनास्थलको प्रकृति हेर्दा जोकसैको पनि आङ जिरिङ्ग हुन्थ्यो,’ प्रत्यक्षदर्शी पंकज श्रेष्ठले दैनिक नेपालगन्जसँग भने ।


इलाका प्रहरी कोहलपुरका प्रमुख डिएसपी सुन्दर तिवारीका अनुसार, मृत्यु हुनेमा रूपन्देही बुटवल उपमहानगर पालिका वडा नं ५ माइतीभएकी ५४ बर्षीय डा.सन्जु खाती खड्का र कार चालक गोरखाका ३७ बर्षीय सुवास अधिकारी हुन् । दुबैको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो ।


घटनालाई लिएर इलाका प्रहरी कार्यालय कोहलपुरले चालकसहित बसलाई नियन्त्रणमा लिएको जनाएको छ । दुर्घटनामा परी बसमा सवार ६ जना सामान्य घाइते भएको र उनीहरुको कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया