तीन दशकदेखि साहित्य र पत्रकारिता क्षेत्रमा समर्पित वरिष्ठ श्रष्टा व्याकुल पाठकलाई कवि कविराज पोखरेल स्मृति साहित्य विशेष पुरस्कारबाट सम्मानित गरिएको छ ।

रे टेलिभिजनका समाचार निर्देशकसमेत रहेका साहित्यकार व्याकुललाई पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले पचास हजार एक सय एघार राशीको पुरस्कारसहित सम्मान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. टंकप्रसाद न्यौपाने, प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल, पुरस्कार संस्थापक कौशिला पोखरेल, रन्जना पोखरेल लगायतले व्याकुललाई पुस्कारसहितको सम्मान अर्पण गरेका हुन् ।
प्रतिष्ठानका अनुसार, कवि कविराज पोखरेलले पुरस्कृत स्रष्टा पाठकको लेखनबाट प्रभावित भएर निधन हुनुअघिनै ‘म नरहे पनि उल्लेखित राशीको पुरस्कार पाठकलाई दिनु’ भनेका थिए । ‘उक्त इच्छाका कारण पोखरेल परिवारले कविको स्मृति दिवसको अवसरमा कविको अन्तिम इच्छा अनुरूप उक्त पुरस्कार व्याकुललाई समर्पण गरिएको हो,’ प्रतिष्ठानले भनेको छ ।
‘कवि कविराज परिवारबीच र साहित्यकारहरूको भेलामा पनि व्याकुल पाठकको गजल गुनगुनाउने गर्नुहुन्थ्यो र उत्कृष्ट गजल यस्तो हुन्छ भनेर उदाहरण दिने गर्नुहुन्थ्यो’, कविराजका भाइ भेषराज पोखरेलले कार्यक्रममा भने ।
‘सोच्दै नसोचेको पुरस्कार पाएर आफू आश्चर्यचकित भएको’ पुरस्कृत स्रस्टा व्याकुलले प्रतिक्रिया दिए ।
साहित्यकार कविराजलाई व्यक्तिगत रूपमा नचिनेको तर रचना भने पढ्ने गरेको बताउँदै व्याकुलले भने, ‘एकजना स्थापित साहित्यकार नै मेरो रचनाबाट यो हदसम्म प्रभावित भएर अन्तिम इच्छा नै जाहेर गरेर जानु दुर्लभ घटना नै हो, यस्तो घटना भविष्यमा दोहोरिन गाह्रो छ ।’
वरिष्ठ पत्रकार व्याकुल पाठक रे टेलिभिजनका समाचार निर्देशकका रुपमा कार्यरत छन् ।