फर्निचरमा आगलागी हुँदा ठुलो आर्थिक क्षति

डेढ करोडबढीको क्षति अनुमान छ, हिसाब गरिरहेका छौंः सञ्चालक पोखरेल

शुक्रबार मध्यराती नेपालगन्जको प्रहरी तालिम केन्द्र नजिकै रहेको रेसुङ्गा फर्निचर एण्ड चिरन सप्लायर्समा आगलागी भएको छ । शोरुम भित्र पौने १२ बजेतिर आगो सल्किएको अनुमान छ ।


मध्यराती १२ बजेतिर एक्कासी ठुलो धमाकाको आवाजसहित आगोको लप्काले शोरुमको सटर फोडेर बाहिर निस्किएपछि छिमेकीले घटना थाह पाएका हुन् । त्यसलगत्तै प्रहरी कन्ट्रोल १०० मा पटक–पटक फोन गर्दा सम्पर्क गर्न सकिएको थिएन । दमकललाई सूचना दिइएपनि आउन समय लाग्दा क्षति रोक्न नसकिएको प्रत्यक्षदर्शीले बताए ।


‘दमकललाई अभै चुस्तदुरुस्त बनाउन आवश्यक देखियो,’ घटनालगत्तै प्राप्त सूचनाका आधारमा घटनास्थल पुगेका नेपालगन्ज–१८ का वडाध्यक्ष दीपककुमार बर्माले स्थानीयको गुनासो सुन्दै दैनिक नेपालगन्जसँग भने, ‘पानीको पाइप फुटेर यो हालत छ, सूचना प्रवाह र रेस्पोन्सको सिस्टम सुधारका लागि तत्काल पहल लिन्छु ।’

आगलागीको चपेटोले फर्निचरमा ठुलो नोक्सानी भइरहँदा आत्तिएका सञ्चालक माधव पोखरेललाई वडाध्यक्ष बर्माले सान्त्वना दिएका थिए । उनले पसल व्यवसायको बीमा अतिनै आवश्यक भएको बताए । बैंक प्रयोजनका लागि मात्रै बीमा गरिंदा दुर्घटनामा रिस्क कभर नहुने पीडा व्यवसायीहरुबाट आफुले पाएको वडाध्यक्ष बर्माको भनाइ थियो ।


बिद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने आंशका प्रहरीले गरेको छ ।आगलागीबाट निकै ठुलो आर्थिक क्षति भएको फर्निचर शोरुमका सञ्चालक माधव पोखरेलले बताए । ‘डेढ करोड बढीको क्षति भएको अनुमान छ, हिसाबकिताब, स्टक जाँच भइरहेकाले त्यसपछि मात्रै यकिन गर्न सकिन्छ,’ उनले दैनिक नेपालगन्जसँग भने ।


लक्ष्मी पोखरेलका नाममा उद्योग सहित तीन वर्ष अघि शुरु गरिएको फर्निचर शोरुममा भर्खरैमात्र धेरै सामान मगाइएकाले क्षति बढेको पीडा पोखरेललाई छ । ‘गत वर्ष दिउसै विद्युत सर्ट भएर आगो लागेपछि सबै वाइरिङ सुधार गरेर ढुक्क भएको थिएँ,’ विद्युट सर्ट भएकै कारण आगलागी भएको हुनसक्ने अनुमान गर्दै सञ्चालक पोखरेलले भने, ‘फेरि खोइ कहाँबाट यो समस्या भयो, सम्पूर्ण धनसम्पत्ति खरानी भयो ।’


पोषण नाथ नेपालको दुई तले पक्की घरको भुँई तलामा रहेको फर्निचरमा आगो लाग्दा घरमा पनि निकै क्षति पुगेको छ । घटनास्थल पुगेका दुई वटा दमकल, कर्मचारी र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सुजन शाहको कमाण्डमा खटिएको २५ जनाको प्रहरी टोली, र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिन एक घण्टा लागेको थियो ।


जिल्ला प्रहरी कार्यालय बाँकेले आगलागीबाट डेढ करोड बढी क्षति भएको जानकारी दिंदै क्षतिको पूर्ण विवरण आएपछि यकिन भन्न सकिने बताएको छ ।


आगलागीबाट पसलमा रहेको फर्निचर, फर्निसिङका सामान, दराज, सोफा, पिफम, टेबुल, कुर्सी लगायत पूर्ण रुपमा जलेर नष्ट भएको सञ्चालक पोखरेलले जानकारी दिए ।


आगो निभाउने क्रममा २८ वर्षीय अन्जन थापा घाइते भएका छन् । उनको अनुहार र खुट्टामा आगोले पोलेको हो । घाइतेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ ।


घटनाका बेला समयमा दमकल नआउँदा क्षति धेरै भएको भन्दै स्थानीयले आक्रोश पोखेका थिए । नजिकै रहेको प्रहरी तालिम केन्द्रबाट निकै सहयोगको अपेक्षा गरेका स्थानीयले ढिलोगरि र अपेक्षित सहयोग नदेखिएको गुनासो गरे ।


आगोको लप्काले सबैतिर आतंक गरेर मानिसहरु आइसक्दा ढिलोगरि तालिम केन्द्रबाट केही जनशक्ति बाहिरिएको थियो । ‘तालिम लिइरहेकाहरु सबै फिल्डतिर गएका थिए, बाँकी ड्यूटी थियौं,’ आगो नियन्त्रणमा खटिएका प्रहरी अधिकृत अमित रावलले स्थानीयको गुनासोबारे भने, ‘लिमिटेड रिसोर्सबीच पनि देख्नु भएकै छ, हामी सक्दो जनशक्ति यहाँ खटिएकै छौं ।’

प्रतिक्रिया

प्रतिक्रिया