नेपाली कांग्रेसमा शुद्धिकरणको बहसले तिब्रता पाएको छ । शनिवार बाँकेको कोहरलपुरमा आयोजित एक कार्यक्रममा काँग्रेस नेता डा.मिनेन्द्र रिजालले पार्टीमा शुद्धिकरण आवश्यक रहेको कुरामा जोड दिए ।
नेपाली कांग्रेस क्षेत्र नम्बर १ बाँकेले आयोजना गरेको प्रथम क्षेत्रीय सम्मेलनको कोहलपुरमा उद्घाटन गर्न आएका पार्टी केन्द्रीय सदस्य डा. रिजालले तलदेखि माथिसम्म शुद्धिकरण गरेर जानुपर्ने आवश्यकता रहेको औल्याए ।
पूर्वमन्त्री रिजालले पार्टी अब नयाँ ढंगले चल्नुपर्ने कुरामा जोड दिए । ‘परम्परागत हिसाबले हुँदैन, जनआकांक्षालाई बुझेर अघि नबढे दुर्घटना हुन्छ,’ पार्टी नेता डा.रिजालले भने– ‘नेतृत्वले सबै पक्षलाई मिलाएर लैजानुपर्दछ, सबैको भावनाको कदर गर्नुपर्दछ ।’
पार्टी क्षेत्रीय सभापति पोषण केसीको सभापतित्वमा भएको सम्मेलनमा लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पार्टीमा एकले अर्कोलाई दोष लगाएर उँभो नलाग्ने बताए । पुनले नयाँ पुस्ताहरुले पनि भरोसा गर्न योग्य पार्टी बनाएर नयाँ र पुरानो पुस्तालाई जोडेर नवीन कांग्रेस बनाउनुपर्ने औल्याए ।
कार्यक्रममा लुम्बिनी प्रदेश सह–महामन्त्री निमा गिरी, बाँकेका सभापति नारायणप्रसाद गौडेल, महासमिति सदस्य एवम् कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्य, निवर्तमान पार्टी सचिव एवम् राप्तीसानारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेल लगायतले सम्बोधन गरे ।
कार्यक्रममा प्रजातन्त्र सेनानी, सहिद परिवार, जनआन्दोलनका घाइते, जग्गादाता, पूर्व क्षेत्रीय सभापतिहरु र उत्कृष्ट वडा सभापतिहरुलाई सम्मान गरिएको थियो ।