‘अराजक तत्व बाहिरिएपछि एमाले बलियो र संगठित’

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीभित्रका अराजक तत्व बाहिरिएपछि नेकपा एमाले बलियो र संगठित बन्दै गएको दावी गर्नुभएको छ । उहाँले आफुहरुविरुद्ध मोर्चा बन्दी गरेकै कारण अहिले आफुहरु संसदमा दोस्रो दल बनेको दावी गर्नुभयो ।


नेत्रलाल अभागीको ४०औँ स्मृति दिवसलाई शनिबार तुलसीपुरमा सम्वोधन गर्र्दै महासचिव पोखरेलले कानुन बदलेर नेकपा एमाले फुटाउने षडयन्त्र गरि पार्टी विभाजन गरेको समेत बताउनुभयो ।

‘पहिले हामीलाई फुटाउन कानुन परिमार्जन समेत गरियो अहिले त्यो कानुन जिवित रहेको भए सायद हामीहरु फेरी पहिलो दलको रुपमा स्थापित हुने थियाँै’ महासचिव पोखरेलले भन्नुभयो ‘अरुलाई खनेको खाडलमा आफै परेका छन्, राम्रो विचारले गरेको काम भए पो सार्थक हुन्थ्यो ।’


उहाँले नेकपा एकिकृत समाजवादीबाट निर्वाचन जितेका सवै सांसदहरु अहिले नेकपा एमालेमै फर्कन चाहेको जिकिर गर्नुभयो । एमालेले लिएको विचार सिद्धान्त र स्पष्ट अडानका कारण अव एमाले बलियो शक्तिको रुपमा उदय हुने समेत उल्लेख गर्नुभयो । महासचिव पोखरेलले आफुहरुले नेपाली कांग्रेस र नेकपा एमाले एकला एकलै चुनाव लडनुपर्छ भनेर प्रस्ताव गर्दा कांग्रेसले आट नगरेको बताउनुभयो ।


‘हामीले लोकतान्त्रिक पार्टी भनिएको कांग्रेसलाई एक्ला एक्लै चुनाव लडौँ भनेका हौँ । तर, कांग्रेसले यो विषयमा आँट नगरेर माओवादीको साथ लियो । जसका कारण साना दलले च्याँखे थाप्न पाएका छन्, यो कुरा कांग्रेसले बुझ्न सकेन जसका कारण उसलाई साना दलले दबाउन पाएका छन् ।’ उहाँले भन्नुभयो ।


महासचिव पोखरेलले सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी ओरालो लागेको समेत बताउनुभयो । उहाँले पहिलो चुनावमा ३० प्रतिशत मत ल्याएको माओवादीले अहिले १० प्रतिशतमा झरेको बताउँदै अवको चुनावमा त्यो पनि नआउने ठोकुवा गर्नुभयो । उहाँले नेकपा समाजवादी अहिले दाङ जिल्ला कमिटिसहित केन्द्रिय नेताहरु एमालेमा आएको मा स्वागत गर्दै माओवादीका नेताहरुसँग समेत पार्टी प्रवेशका लागि संवाद जारी रहेको बताउनुभयो ।


‘२०७४ सालमा बलियो कम्युनिष्ट पार्टी बनाउने भनेर माओवादीसँग मिलेर चुनाव लडेको र त्यति बेला जनताले पनि साथ दिएर झन्डै २ तिहाई मत प्राप्त भयो । पार्टी अध्यक्ष केपी वलीको नेतृत्वमा सरकार बनेपछि विकास र समृद्धिमा आशा जनाउने काम भएको हो’ उहाँले भन्नुभयो ‘त्यसबाट आतिएकाहरुले विभिन्न बहानामा पार्टी विभाजन गरे । आफु त बिग्रिए नै अरुलाई समेत असर गर्ने कोशिस भयो । यस बारेमा नेकपा एमाले विचलित भएन, जसले गर्दा अहिले जनताको पार्टी बन्न सफल भएको छ ।’


कार्यक्रममा पोख्रेलले नेत्रलाल अभागीको त्याग र तपस्या र आदर्शलाई भुल्न नहुने भन्दै उहाँका कामहरुलाई अनुसरन गर्नुपर्ने बताउनुभयो । एमालेको कम्यूनिष्ट आन्दोलनका गतिशिल पाटी अग्रजहरुलाई सम्मान गर्ने स्मृति दिवसको अवसरमा सम्मान गर्ने गरेको रचनात्मक काम भएको बताउनुभयो । पोलिटव्यूरो सदस्य सुजिता शाक्यले नेपाललाई समृद्ध बनाउन सवै एक भएर लाग्नु पर्ने बताउनुभयो ।


अर्का पोलिटव्यूरो सदस्य एवम् दाङ जिल्ला इन्चार्ज नरुलाल चौधरीले जनताले एमालेका विचारलाई नबुझेको भन्दै जिल्लामा एमाले बलियो भएको अर्को सन्देश अहिले देखाएको बताउनुभयो । कार्यक्रममा पोलिटव्यूरो सदस्य शान्ता चौधरीले यो देशको समृद्धि र विकास गर्ने पाटी एमाले भएको भन्दै स्वतन्त्र पार्टीका तर्फ नलाग्न आग्रह गर्नुभयो ।


एस छाडेर ४ सय ३० जना एमाले फर्किए
नेकपा समाजवादीको केन्द्रीय नेतादेखि जिल्ला स्तरका अधिकांश नेता नेकपा एमालेका फर्केका छन् । पार्टीका केन्द्रीय सचिव भागवत विश्वासीसहित दाङका नेताहरू पुरानै घर एमालेमा फर्किनुभएको छ ।


उहाँहरूलाई एमालेका महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गर्नुभएको छ । सचिव विश्वासीसँगै नेकपा एसका केन्द्रीय सदस्य एवम् पूर्व स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी, केन्द्रीय सदस्य शारदा स्वर्णकार, लुम्बिनी प्रदेश कमिटी सदस्य अमित शर्मा, दाङ जिल्ला अध्यक्ष सुरामणि बेल्वासे, उपाध्यक्ष चूर्णबहादुर वली, शोभा शाह, सचिव डिल्ली डाँगी र सहितका नेताहरू एमालेमा फर्किनुभएको छ ।


एमाले दाङका अनुसार नेकपा एसका ४ सय ३० जना एमालेका फर्केका छन् । पुरानै पार्टी एमालेमा फर्केका नेता विश्वासीले माधव नेपालले पार्टी माओवादीलाई बुझाउने तयारी गरेकाले आफुहरु पुरानै पार्टी एमालेको फर्केको बताउनुभयो । ‘माधव नेपालले समाजवादी पार्टी माओवादीमा मिसाउने तयारी गर्नु भएको छ ।

त्यो हामीलाई मान्य भएन’ उहाँले भन्नुभयो ‘ त्यही भएर आफनै घर नै प्यारो लागेर फर्केका छौँ।’ उहाँले विगतमा पार्टी विभाजन गरेकोमा आत्मआलोचना समेत गर्नुभयो । ‘पार्टी विभाजन कुनै पनि कोणबाट राम्रो थिएन । तर, त्यो भयो । त्यसमा पनि आत्मालोचना गर्न चाहन्छु’ उहाँले भन्नुभयो ।


पूर्व स्वास्थ्य राज्यमन्त्री केसीले नेकपा एस कम्युनिष्ट आन्दोलनको बाधक बनेको टिप्पणी गर्नुभयो । ‘नेकपा एस कम्युनिष्ट आन्दोलनको बाधक नै भयो । जनताले देखेको सपना पुरा गर्न एमालेको विकल्प छैन’ उहाँले भन्नुभयो ।


नेकपा एमालेका जिल्ला अध्यक्ष हुकुम बस्नेतको अध्यक्षता कार्यक्रम भएको थियो । पार्टी उपाध्यक्ष राममणि पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा दाङको कम्युनिष्ट आन्दोलनमा पुर्याएको योगदानको सम्मान गर्दै शोभाराम बस्नेत, राममणि नेपाली, विष्णु पौडेल, नारायण तर्ताल र महेश चौधरीलाई सम्मान गरिएको छ ।

कार्यक्रमको सहजीकरण एमाले दाङका सचिव मनोहर बुढाथोकीले गर्नुभएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया