एकसातादेखि नेपालगन्ज मुकाम बनाएर धार्मिक तथा राजनीतिक गतिविधिमा सक्रिय पूर्वराजा ज्ञानेन्द्र शाहले बुधवार आफ्ना समर्थकहरुको अभिनन्दन ग्रहण गर्दै ‘राष्ट्रको पुरानो गौरव फर्काउन’ आव्हान गरेका छन् ।
दर्जनबढी समूहको छुट्टाछु्ट्टै र सामुहिक रुपमा मूल आयोजक समितिको अभिनन्दन ग्रहणपछि सम्बोधनका लागि आएका पूर्वराजा ज्ञानेन्द्रले अघिल्ला पुस्ताका राजाले मुलुकको लागि गरेका योगदानका फेहरिस्त सुनाउँदै ‘पुरानो गौरव फर्काउन’ आव्हान गरेका हुन् ।
‘आजभन्दा चौसठ्ठी वर्ष अघि यही भूमिमा उभिएर हाम्रा स्वर्गवासी बुबाज्यूले नेपालको तत्कालीन राज्य विधिका बारे नेपालका तत्कालीन राजनीतिक दलहरूलाई केही सचेतनामूलक सम्बोधन भएको हो,’ तत्कालिन राजा महेन्द्रको विवादास्पद नेपालगन्ज सम्बोधन स्मरण गर्दै उनले भने, ‘लामो अन्तरालपछि फेरिपनि उभिएर म आज देशको दशाका विषयमा त्यही र त्यस्तै कुरा गर्न विवश छु ।’
सम्बद्ध विषयका जानकारका अनुसार, राजा महेन्द्रले २०१६ सालको हिउँदतिर नेपालगन्ज आएर तत्कालिन सरकारको कार्यशैलीको आलोचना गर्दै दलीय राजनीतिप्रति असन्तुष्टि जनाएका थिए । त्यसको वर्षदिनमैं राजा महेन्द्रले जननिर्वाचित वीपी कोइरालाको सरकार अपदस्त गरेका थिए ।
‘विक्रम सम्बतको दुई हजार दशको दशक देखि चालिसको दशकसम्म नेपालमा पूर्वाधारको निर्माण, उद्योगहरूको स्थापना, औद्योगिक क्षेत्रको निर्माण र भविष्य सुधारका धेरै निर्माण संरचना तथा विधि प्रकृयाका कामहरू भए,’ उनले सम्बोधनका क्रममा त्यतिबेला भएका विभिन्न कामको फेहरिस्त प्रस्तुत गरेका थिए ।
‘मलाई दुःख लाग्छ यो लामो अवधिसम्म पनि हाम्रो अवस्था त्यही र त्यस्तै – परिस्थितिमा छ,’ पूर्वराजा ज्ञानेन्द्रले भने, ‘देश बनाउँ देशवासीको अवस्था सुधारौं, व्यवस्था र पद्धति बसालौं जनतालाई शान्ति सुख समृद्धि दिउँ हाम्रो भावना धारणा र नारा आज पनि यही छ ।’
पूर्वराजाले आफ्नो सम्बोधनमा भनेका छन्, नीतिहरू मध्येको सर्वश्रेष्ठ नीति राजनीति हो । तर अहिले पनि त्यस प्रकारको प्रजातान्त्रिक, त्यस प्रकारको राष्ट्रमुखी, जनमुखी र जनहितकारी हुन सकिरहेको देखिंदैन । हाम्रो कतिपय नीति पद्धति देश र जनताका निम्ति हुनुपर्ने हो तर बिडम्बना भन्नुपर्छ हाम्रो राजनीति तथा हाम्रो राज्य व्यवस्था नेताद्वारा नेताका निम्ति – निम्ति–दलद्वारा –दलका भइरहेको छ ।’
पूर्वराजाको सम्बोधनमा अगाडी भनिएको छ,
सबैसंग मित्रता, सबैसंग शान्ति, सहयोग, साझेदारीको विकास र संयुक्त राष्ट्रसंघको सदस्यता देखि लिएर असंलग्न आन्दोलनको सकृय भूमिका र शान्ति क्षेत्रको घोषणासम्म पनि यसै अवधिमा भएको हो । तर यता आएर ती पूर्वाधार ती – औद्योगिक आधार ती सबै खाले चेतना लहरले निश्चित आकार लिन सकेको छैन । भए गरेका संरचना भत्काउँदै जाने, रुपान्तरणका नाममा विकार खडा गर्ने र परनिर्भतातिर बेतोडले दौडने काम नै अहिले चलिरहेछ । त्यसैले चौसठ्ठी वर्ष पूर्वको चेतनाको त्यो झिल्को कता कता अहिलेको खाँचो भै झल्किरहेको छ ।
हाम्रो प्रकृति, हाम्रो श्रमशक्ति र हाम्रो बुद्धि गरिब छैन, गरिबी हाम्रो नियती बनेको छ । दुई छाक खान र एक धरो लाउन हामी – धेरैलाई धौ धौ छ । हाम्रा विकसित शहरहरू, गाउँहरू आज उजाड छन् । हाम्रो उद्योगधन्दा, कलकारखाना र उत्पादनकारी गतिविधि आज निस्प्रभावी बनेका छन त्यसैले त हाम्रो होनहार जनशक्ति बेरोजगारीका कारण विदेशीन बाध्य छन् ।
त्यसै भएर त – नेपालगन्ज जस्तो पूरानो उन्नत आर्थिक केन्द्रस्थलमा उभिएर हामी आजको कटु यर्थाथता देख्न, भोग्न र भन्न बाध्य छौं । अब म भन्छु अब हामी राष्ट्रको पुरानो गौरव फर्काउनका लागि उठौं र हामी हाम्रै पाखुराको बलमा अघि बढ्न कम्मर कसौं । यसको निम्ति के पुरुष के महिला, के आजका जाँगरिलो युवा के अनुभवि बुढाबुढी सबै अब जुट्नु पर्दछ ।
अन्त्यमा बाँके, बर्दिया, दाङ्ग जस्ता उर्वर भूभाग भएको र सुर्खेत, कालीकोट, जुम्ला, हुम्ला, धनगढी र भैरहवा सम्मको पहुँच केन्द्र रहेको नेपालगन्ज ठूलो व्यापारिक, उत्पादक, वितरक र प्रेरक केन्द्र मानिन्छ । तर पनि जुन रफ्तारमा यसको चौतर्फी प्रभावकारिता – हुनु पर्ने हो त्यो भइरहेको छैन ।
आपस आपसमा मिलेर बस्ने नेपाली समाजको विशेषतालाई ध्यानमा राखेर यस क्षेत्रको सर्वाङ्गीण विकासमा राज्यले खेल्नु पर्ने भूमिका गहन छ । विभिन्न धर्म, वर्ण र समूह मिलेर हातेमालो गर्दै नेपाली सभ्यताको परिचय थलो नेपालगन्जको आगामी अवधीमा धेरै प्रकारले फड्को मार्नु पर्ने खाँचो देखिन्छ ।
नेपालको बृहत्त सम्पदाको उपयोग गरेर यो भेगका सबै अविकसित भूभागको विकास गरेर त्यहाँको विपन्नतालाई हटाउन नेपालगन्जले अग्रणी स्थान राख्न सक्दछ । त्यसतर्फ कदम – बढोस् भन्ने हाम्रो आकांक्षा हो ।
परिवारसहित उपस्थित पूर्वराजालाई नागरिक अभिनन्दन मूल समितिकातर्फबाट संयोजक डा. धवल शम्शेर राणाले अभिनन्दन गरेका थिए । कार्यक्रमको सञ्चालन राप्रपाका युवा नेता ऋषिराज देवकोटाले गरेका थिए ।