परिवारसहित नेपालगन्जमा पूर्वराजा

झण्डै एक महिना बसाईको ‘नेपालगन्ज मुकाम’को पूर्वयोजना अनुसार पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित नेपालगन्ज आइपुगेका छन् ।

धार्मिक भ्रमण तथा राजनीतिक अभिष्ट सहित एक महिना नेपालगन्जमा बसेर लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाको भ्रमण गर्ने योजनामा पूर्वराजा ज्ञानेन्द्र शाह नेपालगन्ज आइपुगेका हुन् ।

शुक्रबार साँझ नेपालगन्ज आइपुगेका पूर्वराजासहित परिवारलाई नेपालगन्ज विमानस्थलमा स्वागत गर्न जनप्रतिनिधिदेखि राजनीतिक तथा धार्मिक समुदायका प्रतिनिधि पुुगेका थिए ।

प्रतिनिधिसभा सदस्यसमेत रहेका राप्रपाका महामन्त्री डा. धवलशमशेर राणा, सहायक महामन्त्री ऋषिराज देवकोटालगायतले विमानस्थलमा पूर्वराजालाई पुष्पगुञ्छासहित स्वागत गरेका थिए । ‘भव्य स्वागतसम्मान सहित राजालाई होटल सोल्टीमा पु¥याएर हामी फर्किएका छौं,’ शुक्रवार साँझ डा. राणाले भने, ‘हामी सोमवार र बुधवारको कार्यक्रम तयारीमा जुटेका छौं ।’

पूर्वराजा नेपालगन्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरमा सोमबार हुने महाआरतीमा सहभागी हुने कार्यक्रम राखिएको छ । उनी सपरिवार बागेश्वरीमा मुख्यकर्ताका रुपमा महाआरतीमा सहभागी गराउन वागेश्वरी मन्दिर व्यवस्थापन गुठीले आवश्यक तयारी गरिरहेको जनाएको छ । त्यसका लागि पूर्वराजा ज्ञानेन्द्रसहित पत्नी कोमल, बुहारी हिमानी र छोरी प्रेरणा नेपालगन्ज आइपुगेको बताइएको छ ।

पूर्वराजालाई बुधवार नेपालगन्जमा ‘नागरिक अभिनन्दन’को कार्यक्रम राखिएको छ । त्यसका लागि डा. राणाको नेतृत्वमा राजावादी शक्ति संगठित रुपमा सक्रिय भएका छन् ।

पूर्वराजाको नागरिक अभिनन्दनलाई भव्य बनाउन नेपालगन्जमा आवश्यक सबै तयारी भइरहेको मूल समितिका संयोजक डा. राणाले जनाएका छन् । ‘पूर्वराजाको नेपालगन्जमा हुने नागरिक अभिनन्दनका लागि पाँच हजार एक सदस्यीय मूल समिति र १४ वटा उपसमिति बनाएर काम भइरहेको छ,’ संयोजक राणाले दैनिक नेपालगन्जसँग भने, ‘एक लाख नागरिकले राजालाई अभिनन्दन गर्नेछन् ।’ डा. राणाको संयोजकत्वमा रहेको मूल समितिमा राजतन्त्र पक्षधर र हिन्दु संघ संंस्थाका प्रतिनिधिलाई संंगठित गरिएको छ ।

उपसमितिहरुमा अधिकांश राप्रपाका नेताले जिम्मेवारी सम्हालेर काम गरिरहेका छन् । नितु चन्दको संयोजकत्वमा स्वागत, ओमप्रकाश आजादको संयोजकत्वमा मञ्च व्यवस्थापन, ऋषिराज देवकोटाको संयोजकत्वमा प्रचारप्रसार, नन्दलाल वैश्यको संयोजकत्वमा आर्थिक, तारामान कुँवरको संयोजकत्वमा यातायात, विन्दु चर्तिमगरको संयोजकत्वमा संघ संंस्था समन्वय, हुकुम केसीको संयोजकत्वमा स्वयंसेवक र मंगल जीएमको संयोजकत्वमा सुरक्षा उपसमिति बनेको हो ।

यस्तै, पवित्रा सुब्बाको संयोजकत्वमा अनुगमन, रुद्र न्यौपानेको संयोजकत्वमा पार्टी परिचालन, मदनराज शर्माको संयोजकत्वमा धार्मिक समन्वय, गौरव चन्दको संयोजकत्वमा प्रचार–प्रसार सामाग्री व्यवस्थापन, इन्दिरा शाहीको संयोजकत्वमा स्वास्थ्य र सलाउद्दिन जसगढको संयोजकत्वमा मुस्लिम समुदाय समन्वय उपसमिति बनाएर परिचालन गरिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया