उपचुनाव पछिको नेपाली राजनीति

मित्रलाल सापकोटा


आमचुनावको पाँच महिनामा भएको तनहुँ, चितवन र बाराको उपनिर्वाचनले नेपालको अबको राजनीतिको मार्गचित्र कोरेको अनुभूति धैरैलाई भैरहेको छ । हिजोसम्म बीना सिद्धान्तको हावा गफ भन्ने प्रचण्डबाबुरामहरु आज ‘हामी अब सक्किने भयौं त्यो समाजवादलाई बिउँझाउँ’ भन्दै समाजवादी केन्द्रको चर्चा गर्दैछन् । रविलाई उठ्न नदिने पुरै तयारीमा लागेका शेरबहादुरहरु ओंठमुख सुकाउन पुगेका छन् । यसअघि कै चुनावमा कहिँपनि एक्लै उम्मेदवारी दिने आँट नगरेका प्रचण्ड गठबन्धनमा भाग नपाएपछि उपनिर्वाचनमा उम्मेदबारी नै नदिएर बसे । उता उखानटुक्का भन्दाभन्दै पनि राजनीतिलाई अल्लि परसम्म ओलिले हेरेका रहेछन् क्यार रविलाई गाली नगरिकनै उम्मेदवारी दिए र भोलिको लागि सामिप्यताको बाटो राखेका छन् । तीन ठाउँमा भएको उपनिर्वाचनमा दुई स्थानमा जितेपछि रास्वपाका कार्यकर्ता भन्दा काँग्रेस माओवादीका कार्यकर्ता बढि खुशी भएको देखिएको छ । एमालेका कतिपय मध्यम स्तरका कार्यकर्ताहरुको मनमा अब रास्वपा नै विकल्प भएको चर्चा चल्न थालेको छ । तराइतिर जनमत पार्टीको आधार बन्दै गएको प्रष्ट भएको छ । यसले अब नेपालको राजनीतिको कोर्स करेक्सन हुन्छ या अर्को बाटो लिन्छ हेर्न अर्को निर्वाचनसम्म त कुर्नै पर्छ ।

रास्वपामा पलाउन थालेको उन्मत्तता
रास्वपाले गत निर्वाचनमा अचानक पाएको उपलब्धिलाई सत्तासँग साट्न जुन हतारो गर्यो त्यसले त्यो पार्टीको नेतृत्वप्रति धेरै शंका उब्जाएकै हो । आफ्नो पार्टीको हैसियत नपुग्दा नपुग्दै पनि सत्तामा बार्गेनिङ गर्ने र त्यो पनि जसरी पनि आन्तरिक सुरक्षा मन्त्रालय नै चाहिने हठलाई राजनीतिक विश्लेषणका हिसाबले सामान्य त मान्नै सकिन्न । बिभिन्न कारणहरुले गर्दा रास्वपा नेतृत्व सत्ताबाट मात्रै होइन सांसदबाट पनि बाहिरिन पुग्यो । त्यसपछि भएको उपचुनावमा रविको नै वापसि हुने कुरामा कसैले पनि शंका गरेका थिएनन तर यो बीचमा रास्वपाका कार्यकर्ता र रविलाई अन्याय भएको छ भन्ने जमातले आफ्नो सीमा नाघेर गाली गलौचमा नै उत्रियो । समाजिक सञ्जालमा आएका बेलगाम गालीगलौचहरु र सडकमा देखिएको उन्मत्तता पक्कै पनि २०४८ सालको नेपाली काँग्रेस, २०५१ सालको एमाले, २०६३–६४ सालको माओवादी, मधेशी दल, २०७० सालको राप्रपा र २०७४ सालको नेकपाको भन्दा केहि बेसि नै देखिन्थ्यो । आज यो उपनिर्वाचनको परिणाम पछि रास्वपाको यो उत्ताउलोपनामा हावा भर्नेको लर्को घटेको छैन झनै बढेको छ । भनिन्छ नि बीटमा पुगेपछि उम्लिन्छ र पोखिन्छ । नेपालको राजनीतिमा यस्तो धेरै पार्टीको धेरैपटक भएको छ । यसैले रास्वपाको यो उन्मत्तता कतै २०८४ सम्म पोखिने पो हो कि भन्ने शंका गर्ने प्रसस्त ठाउँ रहेको छ । यसैपनि रास्वपाको सफलता उसको कार्यसम्पादनको क्षमता देखेर, वा उसको डेलिभरिको आशामा पूर्ण विश्वास पलाएर होइन कि सत्ताको चौघेरामा रहेका परम्परागत दलहरु र यिनका नेताहरु प्रतिको आक्रोस र विकल्पको खोजिको प्रतिविम्बको रुपमा रास्वपामा भोट पोखिन आएको हो भन्न सकिन्छ । तर यो छप्परै फोरेर आइलागेको जम्मेवारीमा रास्वपाका कार्यकर्ताको उन्मत्तता अवरोध नबनोस् भन्नेमा रवि सचेत रहनै पर्नेछ ।


जनताको भद्र बिद्रोह र पार्टीहरुलाई सुध्रिने मौका
लोकतन्त्रमा जनताले आफ्नो बिद्रोहको माध्यम नै ब्यालेटबाट हो । गोप्य मतदानबाट भद्रबिद्रोह गर्ने जनताको संख्या बढ्नु भनेको लोकतन्त्र बलियो हुनु नै हो । हत्या आतंक, जोरजबर्जस्ति, धाकधम्की, सिण्डिकेट, अरुलाई देखाएर जनता तर्साउने जस्ता कार्यले लोकतन्त्र बलियो किमार्थ हुनसक्दैन । हिजोको कथा सुनाएर, देशका अन्य शक्तिहरुबाट जनतालाई तर्साएर न लोकतन्त्र बलियो हुन्छ न दिगो हुन्छ । भर्खर गणतन्त्रको दोश्रो निर्वाचनको मात्रै पाँच महिना बितेको छ । वर्तमान सत्ताका नेतृत्वकर्ताहरुले लोकतन्त्र खतरामा रहेको, प्रतिगमन आउनै लागेको जस्ता भ्रमजाल फालेर आफ्नो अर्कण्ड्यतालाई ढाकछोप गर्ने जुन प्रयास गरे त्यसलाई जनताको भद्रबिद्रोहले भत्काउन शुरु गरिसकेको छ । तथापि भर्खरै वर्तमान सत्ताघेराका पार्टीहरुले सबैथोक गुमाइसकेका छन् भन्न अलि हतारो नै हुनसक्छ ।


राजनीतिमा चाढेचार बर्ष भनेको चानचुने समय होइन । परम्परागत पार्टीहरुले अझै पनि आफुलाई सहि मार्गमा लैजाने दृढता कार्यसम्पादन र व्यवहारत देखाउन सकेभने रास्वपाको नाउँमा अहिले देखिएको जनताको भद्रबिद्रोह वा परिवर्तन वा राजनीतिमा विकल्पको खोजिको यात्रा जुन गतिमा बढ्ने अवस्था देखिएको छ त्यो गतिमा नबढ्न सक्छ । वर्तमान सत्ताघेराका पार्टीहरुमा आजपनि कटिबद्ध कार्यकर्ताको कमी छैन । जसले ती पार्टीहरुमा आफ्ना पुस्ता खपाए उनीहरुलाई यति सजिलै आफ्नो घर भत्काएर छिमेकीको घर बनाउने आत्मबल आउन सक्दैन । नेतृत्वलाई सुधार्नका लागि अन्तिम झड्का दिन आज यी पार्टीका कार्यकर्ता पनि लागेका पक्कै हुन तर अझै पनि मौका छ बचेको साढेचार बर्षमा पनि सुधारको कुनै छेकछन्द नल्याए अब तिम्रो साथ छोड्न बाध्य भै सक्यौं भन्ने सन्देश भने दिएका छन् । यो पङ्तिमा यी पार्टीका युवा पुस्ता र तिनले विश्वस्त पार्न सकेको माथिल्लो पुस्ता पनि रहेको छ ।


देश अहिले आर्थिक रुपमा तन्नम भैरहेको छ । राज्यले आफ्ना कर्मचारीलाई तलब पेन्सन खुवाउन नसक्ने अवस्थामा पुगेको छ । देशका उद्यमशीलता मरिरहेका छन् । युवाशक्ति र देशको पूँजि पलायन भैरहेको छ । बजारतन्त्र थल्लिएको छ । किसान मरिरहेको छ । देश विस्तारै महिला बालबालिका र बृद्धबृद्धाहरुको देश हुँदै गएको छ । इतिहासमा नै युवा जनसंख्याले भरिपूर्ण भएको अवस्थामा देशमा कामदार नै नहुनु भनेको देशको विकासको कुनै छेकछन्द देखिन नसकेको भन्नै पर्छ । देशको सँस्कृति भाषा सभ्यता र मौलिकता माथि नियोजित रुपमा आक्रमण भैरहेको छ । यो अवस्थामा सकारात्मक उर्जा भर्न वर्तमान सत्ता राजनीतिका पार्टीलाई ठूलो र चार बर्षको मौका छ ।


रास्वपालाई थपिएको चुनौती
नेपालको संघीयता विरुद्ध उठेको जनलहर, स्वतन्त्र उम्मेदवारहरुले स्थानीय निर्वाचनमा जित निकालेपछि त्यो भावनालाई आफ्नो पार्टी स्थापित गराउने आधार मानेका रवि लामिछानेले स्वतन्त्र पाटीको नाउँबाट पार्टी दर्ता गराए । जनताको तत्कालका सत्ताधारी पार्टीप्रतिको आक्रोस र रविको उक्त चतुराँइँले परिणाम त ल्यायो तर रास्वपाको वर्तमान व्यवस्था, संघीयताप्रति जनताकोे वितिष्णाको बारेमा सम्बोधन गर्न सकेको छैन । देशमा भैरहेको धार्मिक साँस्कृतिक र भाषिक आक्रमण, राजतन्त्रप्रतिको बढ्दो लहर, मौलिक राज्यव्यवस्था र राजनीतिको खोजि, संघीयताको खारेजीको माग, अमेरिकी हस्तक्षेप र चीन बिरुद्ध नेपाललाई आधारभूमि बनाएर भोलि नेपाललाई वर्तमान यूक्रेनको अवस्थामा लैजान खेलिएको पश्चिमा रणनीति आदिका बारेमा रास्वपाले आफ्नो प्रष्ट धारणा नै बाहिर ल्याएको छैन । यी मुद्दाहरुमा रास्वपा भोली कहाँ उभिने छ त्यसले उसको यो तीब्र फैलावटको यात्राको दिशा तय गर्नेछ । सधैं गोलमटोल र मासबेस पार्टी भन्दै प्रचारले मात्रै नेपालको राजनीति अघि जान सक्दैन । तत्कालका लागि पार्टीको भावी रणनीति बीनै सफलता मिलेता पनि आगामी साढेचार बर्षपछि हुने निर्वाचनमा आफ्नो राजनीतिक चरित्र स्पष्ट पार्नै पर्ने चुनौती रास्वपाको रहेको छ ।


नेपालमा जनता कम पार्टी कार्यकर्ता बढि रहने गरेको भन्ने चर्चा आजको होइन । नेपालका हरेक तह र तप्कामा पार्टी राजनीति र भागबण्डा कुनै नौलो रहेको छैन । गत निर्वाचन पछि पनि भएका बिभिन्न स्थानीय संंघसंस्था, विद्यालय विव्यस देखि केन्द्रैसम्म रास्वपाका नेता कार्यकर्ताले भागबण्डामा हिस्सा खोजेको लुकेको छैन । रवि आफैले बैसाख ११ गते बेलुका मिडियाका सामु चितवन मतगणनास्थलमा उभिएर ‘हामी मासबेस पार्टी बनाउँदै छौ, हाम्रा कुनैपनि जनवर्गीय संगठन हुँदैनन्’ भन्दै गर्दा हिजो र भोलि त्यहि एमाले काँग्रेस मााओवादीमा जनवर्गीय संगठनमा भाग नपाएर, पालो नआउने देखेर, त्यहाँ पदमा रहेर पदको महत्व बुझेर वा विद्यार्थी राजनीतिमा संगठन चलाएर सांगठनिक रवाफ भोगेका कार्यकर्ताहरु एकत्रित भएर बन्न लागेको रास्वपाले आफ्नो सभापतिको यो बयानको रक्षा कसरी गर्छ त्यो पनि एउटा मुख्य चुनौती पक्कै हुनेछ ।


हुनत अहिले हरेक जसो पार्टीमा वनमेन पार्टी पद्धति चलेको छ । आन्तरिक लोकतन्त्र न का बराबरी रहेको परिप्रेक्षमा रास्वपामा मात्रै रविको एकलवाद लागू छ भन्ने आरोप एकपक्षीय हुन जान्छ । तर शेरबहादुुर, ओली, प्रचण्ड, माधवहरुको एकलवादबाट अघाएका कार्यकर्ताहरुले भरिने रास्वपमा रविको एकलवाद कतिसम्म पाच्य हुनेछ त्यो पनि रास्वपाको लागि चुनौती नै बन्ने छ ।


दिल्लीमा केजरीवालको सन २०१२ मा भएको उदय र नेपालमा रविको उदयमा तात्विक भिन्नता छैन । गलत जगमा उभिएको केजरीवालको पार्टीलाई बढाउने आधार राज्य ढुकुटीबाट खैरात बाँड्ने र केहि नीतिगत निर्णय गरेर पैसा उब्जाएर पार्टी सञ्चालन गर्ने बाटोमा जाँदा आफ्ना साथीहरुलाई नै बलिको बाख्रो बनाउने प्रवृति नेतृत्वले अपनायो । यहाँ पनि ढाकाराम श्रेष्ठलाई त्यस्तै गरिएको भन्ने आरोप कतै न कतै रविमाथि गाइँगुइँ लागेको छ । यसो नहोला तर त्यो शंका कतै सहि हो भने भोलि रविले लिने नीतिमा बलिचढ्न कति तयार हुनेछन् त्यो रास्वपाका लागि अर्को एउटा चुनौती हुनेछ ।
आजको पुस्ताले रविको मिठो भाषण सुनेको छ । तर हाम्रो पुस्ताले गिरिजा, किसुनजी देखि माओवादीका बाबुराम प्रचण्डसम्मका यी भन्दा मिठा कुरा सुनेका र आकाशका तारा झार्ने गरि देखाएका सपना देखेर आएको हो । नेपालमा रहेको यो व्यवस्था र राजनीतिको यहि चरित्रले कोहि सत्ताको तख्ता चढ्ला तर तत्कालै अर्को नयाँ फुल पार्छ भनेर विश्वास गर्न सक्दैन । हिजो २४० बर्षको शक्तिलाई र आफु इतरको व्यक्तिलाई आइसोलेट गर्ने र गाली गलौच गर्ने चरित्र बोकेको राजनीतिक संस्कार बोकेको जमात भन्दा ठूलो रेडिकल जमात देखिएको र डेलिभरिको हैसियतमा नरहेको पार्टी रास्वपामा सँस्कारयुक्त राजनीतिक कार्यकर्ता निर्माणको अर्को चुनौती रहेको छ ।


र अन्तमा,
नेपाल राजनीतिक प्रयोगको अड्डा बिगत सात दशकदेखि नै बन्दै आएको छ । २०७९ सालको निर्वाचनबाट अर्को नयाँ प्रयोग शुरु भएको छ । २०८० सालको यो उपनिर्वाचनको परिणाम पछि देशको राजनीतिमा केहि आक्रोशका बीच परम्परागत राजनीतिक दलको घरमा पहिरो जाने संकेत देखिएको छ । हुन त त्यो पैरो राजनीतिको बर्षा लाग्नु भन्दा पहिला गएकोले परम्परागत राजनीतिले कोर्स करेक्सन गर्ने मौका पाएको छ । तर हिजोको जस्तो चालढाल र आचरणले अब परम्परागत पार्टीहरु अगाडि जान सक्ने छैनन् । यो उपचुनावको परिणामले नसुध्रेपनि यस्तै हाम्रै नै चलिरहन्छ भन्ने गरेका परम्परागत पार्टी र तीनका नेताहरुले घोत्लिएरै सोच्नै पर्ने अवस्था आएको छ । अबको बाटो बारे सबैको बेलैमा चेत खुल्न जरुरी देखिन्छ ।

प्रतिक्रिया

प्रतिक्रिया