‘नेपाल–भारत सम्बन्ध जनस्तरमैं विशेष’

नेपाल–भारत बीचको सम्बन्धलाई जनस्तरमा विशिष्ट ढंगले बुझ्न जोड दिइएको छ ।


सोमबार नेपाल–भारत मैत्री संघ बाँके शाखाले नेपालगन्जमा आयोजना गरेको एउटा कार्यक्रममा वक्ताहरूले दुई देशबीच राजनीतिक रूपमा हुने उतारचढावले जनस्तरमा सम्बन्ध तलमाथि हुन नहुने धारणा राखिएको हो ।


नयाँ बर्ष २०८० को अवसर पारेर संघले दुवै देशका सीमावर्ती नागरिक प्रतिनिधिहरूको सहभागितामा आयोजना गरेको शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचनमा वक्ताहरूको जोड थियो, ‘विशिष्ट प्रकारको जनसम्बन्धलाई राजनीतिक उतारचढाव र सत्ताको विवादमा पारिनु हुँदैन ।’


परम्परागत, धार्मिक, सामाजिक र पारिवारिक सम्बन्धलाई विशिष्ट रूपमा बुझेर दुवै देशका नागरिकले एक–अर्कालाई सम्मान र सहअस्तित्वको भावनाले हेर्नुपर्ने जोड सहभागीहरूको थियो ।


‘भारतमा नेपालीहरूले दुःख पाउँदा हामी उनीहरूका दुःख पीडालाई खुलेरै लेख्छौं ताकी हाम्रो सरकार, प्रहरी र प्रशासनको ध्यानाकर्षण होस्’, सीमाञ्चल पत्रकार संघ रूपैडिहा भारतका अध्यक्ष सुरेन्द्र मधेशीयाले भने, ‘भारतीयहरूलाई नेपालमा दुःख हुँदा तपाईहरूको पनि ध्यानाकर्षण होस् ।’ उनको जोड थियो, ‘भारतमा नेपालीहरू प्रति र नेपालमा भारतीयहरू प्रति हुने दृष्टिकोण समान तथा न्यायोचित होस् ।’


संघका जिल्ला अध्यक्ष प्रदिप कुमार गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश उपाध्यक्ष अजय कुमार टण्डन, केन्द्रीय सदस्य धु्रव दाहाल, पूर्व मन्त्री सर्वदेव ओझा, नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष झलक गैरे लगायतले जनस्तरको सम्बन्धलाई कहीकतैबाट बिग्रन नदिने भूमिका नागरिक दायित्व भएको बताए ।


कार्यक्रमको सहजीकरण गर्दै संघका उपाध्यक्ष बसन्त लामिछानेले नेपाल–भारत मैत्री संघले जनस्तरको सम्बन्ध बलियो बनाइराख्न विभिन्न कार्यक्रमहरू गर्दै आएको बताए । उनले संघले भारतीय राजदुतावाससँग समन्वय गरेर विभिन्न परियोजना नेपालगन्ज ल्याउन र यहाँ रहेका भारतीय नागरिकलाई अप्ठ्यारो पर्दा आवश्यक सहजीकरण गर्ने गरेको बताए ।

प्रतिक्रिया

प्रतिक्रिया