युवा संघको महाधिवेशनः बाँके र बाघको चर्चा

नेकपा (एमाले)को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको नवौ राष्ट्रिय महाधिवेशन आज सोमबारदेखि नेपालगन्जमा हुँदैछ । युवा संघले आफ्नो महाधिवेशनको लोगोमा बाघको प्रतिकात्मक चित्र अंकित गरेको छ ।


युवा संघले महाधिवेशनबारे जानकारी दिन आइतबार नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा महाधिवेशनको ब्यानरमा प्रयोग गरिएको बाघको बारेमा चर्चा भयो ।


पत्रकारले बाघलाई प्रतिक बनाएको बारे जिज्ञासा राखेपछि राष्ट्रिय युवा संघका अध्यक्ष किरण पौडेलले राष्ट्रिय युवा संघ देशमै ‘बाघ’ का रुपमा रहेको उल्लेख गर्दै त्यसको बिम्ब देखाइएको प्रतिक्रिया दिए । साथै उनले बाँके, बर्दियामा बाघ संरक्षित क्षेत्र रहेकाले प्रवद्र्धनका लागि बाघलाई प्रतिक चिन्हका रुपमा प्रयोग गरिएको प्रष्ट पारे ।


‘बाँके, बर्दियाको पर्यटन प्रवद्र्धनमा बाघ संरक्षण र त्यस मार्फत चिनाउन आवश्यक छ, देशभरबाट आउने प्रतिनिधिले महाधिवेशनमा बाघको चर्चा गरुन्, बाघसँगै पर्यटन प्रवद्र्धन होस् भनेर बाघको प्रतिक चिन्ह राखेका हौं’, अध्यक्ष पौडेलले भने ।


स्थानीय संरक्षित क्षेत्रमा आतंकका रुपमा रहेको बाघलाई बिम्ब बनाएर युवा संघले आफुलाई त्यस्तै दर्शाउन खोजेको हो ? बाघका कारण बाँके, बर्दियामा मानिसहरुको ज्यान समेत गैरहेको अवस्था औल्याउँदै पत्रकारको प्रतिप्रश्न आएपछि पौडेलले ‘वातावरणीय सन्तुलनका लागि सबै वन्यजन्तुको संरक्षण आवश्यक’ रहेको बताए । ‘सर्पले टोकेर मान्छे मर्छ, त्यसो भन्दैमा सबै सर्प मारिदिने हो भने इको सिष्टम नै बिग्रन्छ, बरु संरक्षण गर्नेतर्फ सोंच्नु पर्छ’, उनले भने ।


राष्ट्रिय युवा संघका अध्यक्ष पौडेलले बाघ बाँके र बर्दियाको पहिचान भएको र संरक्षण, प्रवद्र्धन आवश्यक रहेको बताएका थिए । उनले वन्यजन्तुको उचित व्यवस्थापन गरेर पर्यटन प्रवद्र्धन गर्न सकिने धारणा राखे । ‘हो, आक्रमणबाट जोगिन, जोगाउन आवश्यक उपाय अपनाउनु पर्छ, राज्यले पनि सुरक्षाका उपाय गरिदिनुपर्छ ।’


देशकै कान्छो बाँके राष्ट्रिय निकुन्ज बाघ संरक्षणकै उद्देश्यले एमाले नेतृत्वको तत्कालिन सरकारले घोषणा गरेको थियो । सरकारले बाघ संरक्षणका लागि अन्तर्राष्ट्रिय समुदायसँग गरेको प्रतिबद्धता अनुरूप २०६७ आषाढ २८ गते बाँके, दाङ र सल्यान जिल्लाको ५५० वर्ग कि.मि. क्षेत्र समेटेर नेपालको दशौं राष्ट्रिय निकुञ्जको रूपमा बाँके राष्ट्रिय निकुञ्जको स्थापना गरेको हो । बाघको वासस्थान र जैविक मार्ग संरक्षण गर्ने मुख्य उद्देश्य बाँके निकुञ्जको छ ।


युवा संघले नवौं महाधिवेशनको मुख्य व्यानरमा एकातिर र अर्कातिर लुम्बिनीलाई राखेको छ । भने, लोगोमा गहुँको वालाका बीचमा शान्त बाघ राखिएको छ । बाँके बर्दिया धान गहुँ उत्पादनका लागि पनि अगाडी छ, यो गहुँको सिजन हो । युवा संघका अध्यक्ष पौडेलका अनुसार, लुम्बिनी प्रदेशलाई सम्बोधन हुने गरि लोगो डिजाइन गरिएको हो ।

प्रतिक्रिया

प्रतिक्रिया