विरहीलाई पूर्णिमा साहित्य रत्न, सिग्देललाई कविता मञ्च

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानले वरिष्ठ साहित्यकार पत्रकार रेशम विरहीलाई पूर्णिमा साहित्य रत्न २०७७ सम्मान प्रदान गरेको छ ।


शनिबार कोहलपुरमा भव्य कार्यक्रमको आयोजना गरि विरहीलाई २५ हजार ५५५ रुपिया सहित सम्मान प्रदान गरिएको हो । कार्यक्रममा वरिष्ठ गजलकार श्रेष्ठ प्रिया पत्थरलाई पूर्णिमा साहित्य रत्न २०७८ सम्मान प्रदान गरिएको थियो ।


सम्मान कार्यक्रमलगत्तै कोहलपुरका युवाकवि केशव सिग्देललाई एकल कविता वाचनको मञ्च प्रदान गरिएको छ । ‘टिकटमा एकल कविता वाचन कार्यक्रम’ मा हाल काठमाडौं बस्दै आएका कवि सिग्देलले दर्जनौं कविता सुनाए ।


हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष कपिल अञ्जानको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कथाकार सनत रेग्मीले सिर्जना र साधना पछिसम्म खोजी हुने हुँदा त्यसमा निन्तर लागि रहन सम्पूर्ण साहित्यकारहरुलाई सुझाव दिए । पूर्णिमाले गरिरहेको साहित्यिक गतिविधिले नेपाली साहित्यको श्रीवृद्धिमा महत्वपूर्ण भूमिका निर्बाह गर्ने वरिष्ठ श्रष्टा रेग्मीले उल्लेख गरे ।


अध्यक्ष अन्जानले नेपाली साहित्य र भाषाको विकासमा पूर्णिमा साहित्य प्रतिष्ठान अगाडि रहेको भन्दै विभिन्न स्थानमा छरिएर रहेका स्रष्टाहरुको खोजी गर्ने, भाषा, साहित्यको श्रीवृद्धिका लागि स्रष्टाहरुको सम्मान गर्नुका साथै पुरस्कारहरु स्थापना तथा वितरण गर्दै आएको बताए ।


कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठान सभाका प्राज्ञ द्वय महानन्द ढकाल, शशिराम कार्की, साहित्यकारहरु सागर गैरे, पुष्कर रिजाल, सुमित्रा न्यौपाने,हेमन्ती जोशी, गजलकार देवकी निरौला, भावना पाठक २०० भन्दा बढीको राजनीतिज्ञ समाजसेवी, पूर्णिमाका पदाधिकारी, साहित्यानुरागी लगायतको सहभागिता रहेको थियो ।


साहित्यिक कार्यक्रमको सहजीकरण प्रतिष्ठानका सचिब बद्रि ढकाल हिरामणी र सह–सचिब खोपीराम वलीले गरेका थिए ।


कार्यक्रममा इलाका प्रहरी कार्यालय कोहलपुरमा रहेका कैदी बन्दीहरुका लागि पुस्तक हस्तान्तरण गरिएको छ । पुस्तकहरु इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख तथा प्रहरी नायब उपरीक्षक डिएसपी सुन्दर तिवारीलाई हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया

प्रतिक्रिया