राष्ट्रिय युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशन
देशविदेशका दुई हजारबढी युवा नेताहरु भोलि सोमवार नेपालगन्ज आइपुग्दैछन् । राष्ट्रिय युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशनमा सहभागिताका लागि उनीहरु नेपालगन्ज आउन लागेका हुन् ।
उनीहरुको स्वागत लागि नेपालगन्ज उपमहानगरपालिका क्षेत्र सिंगारिएको छ, नगर र जिल्ला प्रवेश नाकाहरुमा स्वागत द्वार र झण्डा व्यानरहरु लगाइएका छन् ।
प्रमुख प्रतिपक्ष दल, नेकपा एमालेको युवा संगठन, राष्ट्रिय युवा संघको यही चैत २७ देखि २९ गतेसम्म नेपालगन्जमा नवौं राष्ट्रिय महाधिवेशन हुन लागेको हो । भोलि सोमवार पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्नेछन् ।
उक्त समारोहलाई भव्य बनाउन मञ्च व्यवस्थापन, आवास तथा खाद्य व्यवस्थापन, प्रतिनिधि व्यवस्थापन लगायतका कामहरु धमाधम भइरहेको राष्ट्रिय युवा संघ नेपालका प्रवक्ता महाराज गुरुङले जानकारी दिएका छन् । उनका अनुसार, उद्घाटन समारोहका लागि नेकपा एमाले बाँकेसँगको समन्वयमा युवा संघले १० हजार बढी जनपरिचालन गरिने भएको छ ।
‘यो नेपालगन्जका लागि महत्वपूर्ण अवसर हो,’ महाधिवेशन तयारीमा सक्रिय आवास तथा खाद्यान्न व्यवस्थापन समितिका संयोजक रविन्द्र लम्सालले दैनिक नेपालगन्जसँग भने, ‘देशकै सबैभन्दा ठुलो युवा संगठनको महाधिवेशन नेपालगन्जमा भइरहेको छ, हामी गौरवका साथ तयारीमा छौं, देश विदेशका युवा नेताहरुलाई स्वागतका लागि सबै व्यवस्थापन गरिसकिएको छ ।’
महाधिवेशन उद्घाटन समारोहमा पार्टी अध्यक्ष ओलीसंगै, उपाध्यक्ष रामबहादुर थापा (बादल), महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य एवं मोर्चा संगठन इन्चार्ज भानुभक्त ढकाल, पोलिटव्यूरो सदस्य महेश बस्नेत लगायतका नेता सहभागी हुने प्रवक्ता गुरुङले जनाएका छन् ।
आवास तथा खाद्यान्न व्यवस्थापन समितिका संयोजक लम्सालका अनुसार, महाधिवेशन तयारीका लागि एमालेका युवा महेश बस्नेत, युवा संघ अध्यक्ष किरण पौडेल, उपाध्यक्ष सुमन पुरी लगायतका केन्द्रीय पदाधिकारीहरु नेपालगन्जमा सक्रिय छन् ।
महाधिवेशनको अन्तिम तयारीबारे जानकारी दिन युवा संघले आज आइतबार महाधिवेशन आयोजना स्थलमा पत्रकार सम्मेलन गर्न लागेको एमाले बाँकेका इन्चार्ज सुर्य ढकालले जानकारी दिए ।
‘सम्झन लायक आतिथ्य हुने छ’
रविन्द्र लम्साल
संयोजक, आवास तथा खाद्यान्न व्यवस्थापन समिति
देशकै ठुलो युवा संगठन, राष्ट्रिय युवा संघ नेपालको नवौं महाधिवेशनमा करिब २ हजार प्रतिनिधि, अतिथि सहभागी हुने अनुमान छ, त्यसका लागि आवास र खाद्यान्नको व्यवस्थापनको जिम्मेवारी लिएको छु ।
नेपालगन्ज, कोहलपुर र खजुरामा प्रतिनिधि, अतिथि व्यवस्थापन गर्ने व्यवस्था गरिएको छ । सबैलाई सुविधाजनक होटलमा राख्ने व्यवस्था गरिएकोले आउने प्रतिनिधिलाई स्वयंसेवकले होटलसम्म पुर्याउने, प्रतिनिधिलाई पहिले नै होटल र रुम नम्बर उपलब्ध गराउने काम भएको छ
भोलि सोमवार उद्घाटन समारोहसँगै आमन्त्रित सबैलाई बासको व्यवस्था गरिने छ । यसका लागि आर्थिक व्यवस्थापन आफ्नै दायित्वबाट उठाइरहेका छौं । हामीले चन्दा उठाएका छैनौं ।
पार्टी तथा संगठन भित्रैबाट आर्थिक सहयोगको वातावरण मिलाइएको छ, लेबी उठाउने, दायित्व तोकिएको छ, प्रतिनिधि, जिल्ला, महानगर, उपमहानगरपालिका कमिटी लगायतलाई दायित्व तोकिएको छ । त्यो दायित्व उठाउँदै तिर्दै गरेका छौं ।
यो आयोजना नेपालगन्जका लागि महत्वपूर्ण अवसर हो, राष्ट्रिय युवा संघको महाधिवेशन नेपालगन्जमा हुनु, आफैमा ऐतिहासिक आयोजना हो ।
राष्ट्रिय युवा संघ देशको सबैभन्दा ठूलो युवाहरुको संगठन हो । त्यसमा आबद्ध युवाहरु, विदेशका प्रतिनिधिहरु नेपालगन्ज आउँदा होटल, पर्यटन व्यवसायीका लागि पनि उत्तिकै खुशीको कुरा हो । यसले आन्तरिक पर्यटन भित्र्याउने कुरामा टेवा दिन्छ भने अर्को राष्ट्रिय युवा संघले आफ्नो महाधिवेशन नेपालगन्जमा गर्यो भन्ने सन्देश पनि जान्छ । त्यसैले पनि बाँके र नेपालगन्जवासीले खुला हृदयले हाम्रा पाहुनालाई असल आतिथ्य प्रदान गरेर पठाउनु हुने कुरामा हामी ढुक्क छौं ।
यो राजनीतिक उत्सवको आयोजना पनि हो, हाम्रा एजेन्डाका रुपमा पनि उत्तिकै महत्वपूर्ण छ, नेपालगन्ज महाधिवेशन । त्यसैले पनि धेरै कुरामा फलदायी हुन्छ भन्नेमा आशावादी छौं ।
आयोजकका रुपमा हामीले स्वागत गर्न पाउन्ुमा हर्षित, उत्साहित छौं, हामीले यहाँबाट व्यवस्थित तरिकाले व्यवस्थापन गरेर खुशी मनले पठाउँछौं । प्रसिद्ध शक्तिपीठ बागेश्वरीले चर्चित नेपालगन्ज, स्वादको सहर पनि हो । यो कुरा मुलुकभर प्रवाह गर्न मौकामा स्थानीयवासीले आफ्नो भूमिका खुल्नु हुन अपील पनि गर्दछौं ।