दुई दिन मनाइँदै महावीर जयन्ती

नेपालगन्जमा आज प्रभात फेरी र शुभकामना आदान–प्रदान गरिंदै


जैन धर्मका प्रवर्तक महावीर जैनको २६ सय २२औं जन्मजयन्ती यस पटक दुई दिनसम्म मनाइने भएको छ । आज सोमवार नेपालगन्जमा विभिन्न् कार्यक्रम गरि महावीर जयन्ती मनाइँदै छ भने, राजधानी काठमाडांैमा भोलि मंगलवार बनाइने भएको हो ।


नेपालमा बस्दै आएका जैन धर्मवालम्वीहरुले देशभर आफु भएका ठाउँमा विभिन्न कार्यक्रम गरी आज र भोलि महावीर जयन्ती मनाउने तयारी गरेका हुन् । राजधानी काठमाठडौंमा भने राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा महावीर जयन्ती कार्यक्रम मनाइने भएको छ ।


नेपालगन्जमा आज सोमवार विहान धम्बोझीस्थित राजेश जैन भवन परिसरबाट प्रभातफेरी नगरका विभिन्न ठाउँ हुँदै शितलनगरस्थित त्रिशक्ति मन्दिरमा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गर्न लागिएको छ । आयोजकसमेत रहेका जैन धर्मावलम्बी अगुवा, वरिष्ठ उद्योगपति प्रदीप छाजेडले अहिंसा, करुणा र परोपकारलाई मूलमन्त्र मान्ने जैन धर्मावलम्वीहरु महावीर जयन्तीलाई अहिंसा दिवसको रुपमा समेत मनाउने गरेको बताए ।


‘महावीर स्वामीलाई जैन धर्मका २४ औं तीर्थकर तथा भगवानका रुपमा पूजा गरिन्छ,’ छाजेडले दैनिक नेपालगन्जसँग भने, ‘मूर्ति बनाएर पुजा गर्नेहरु मन्दिरमार्गी पनि हुनुहुन्छ, तर हाम्रो यहाँ नेपालगन्जमा मन्दिर बनाइएको छैन ।’

यस दिन भगवान् महावीरको शोभा यात्रा निकालिन्छ, जसमा जैन धर्मका अनुयायीहरुको ठूलो सहभागिता रहन्छ । कोरोनाका कारण आफ्नै घरमा पूजा गरेर मनाइएको महावीर जयन्ती यसपटक भव्यरुपमा आयोजना गर्न लागिएको हो ।


महावीर स्वामी जन्म जयन्ती, हरेक वर्ष चैत महिनाको शुक्ल पक्षको त्रयोदशी तिथिमा मनाइन्छ । महावीरले जैन धर्मको खोजसँगै यस धर्मका प्रमुख सिद्धान्तहरुको प्रतिपादन गरेका थिए ।


भगवान् महावीरलाई वीर, वर्धमान, अतिवीर र सन्मतिको नामले पनि सम्बोधन गरिन्छ । उनले आफ्नो जीवनमा तप र साधनाको नयाँ प्रतिमान स्थापित गरेका थिए । ‘हाम्रा गुरु भन्नुहुन्छ, पहिले व्यक्ति सुध्रनु प¥यो, समाज अनि राष्ट्र आफै सुध्रन्छ,’ जैन धर्मको मूल मर्मबारे छाजेड भन्छन्, ‘हामी भने आफु सुध्रनु छैन, समाज र राष्ट्र सुधार गर्ने कुरा गरेर कसरी सफल भइएला ?’


को थिए महावीर
महावीरको जन्म बिहारको कुण्डग्राममा ईसापूर्व ५ सय ९९ वर्ष पहिले चैत शुक्लको त्रयोदशीका दिन एक राज परिवारमा भएको थियो । उनका पिताका नाम राजा सिद्धार्थ र माता रानी त्रिशला थिइन् । भगवान् मावीरको बाल्यकालको नाम वर्धमान थियो । १२ वर्षसम्मको कठोर तपस्यापछि उनले आफ्ना इन्द्रियहरुमाथि विजय प्राप्त गरेको मानिन्छ । त्यसैकारण उनलाई महावीर नामले सम्बोधन गरिएको थियो । राज परिवारमा जन्म भएपछि संसारसामु ज्ञान फैलाउनका लागि उनी सन्त बनेका थिए ।


विवाह
महावीरको विवाहलाई लिएर दुुईथरी मत छ । श्वेताम्बर सम्प्रदायका मानिसहरु उनको विवाह यशोधरासँग भएको मान्छन् । उनीहरुका अनुसार यो जोडीकी एक छोरी प्रियदर्शना निकै सुन्दर थिइन् । यद्यपी, दिगंबर सम्प्रदायका मानिसहरुका अनुसार महावीरको विवाह भएको थिएन ।


३० वर्षको उमेरमा घर छाडे
महावीरले ३० वर्षको उमेरमै राजमहलको वैभवपूर्ण जीवन परित्याग गरेका थिए । यसपछि उनी ज्ञान र साधनाको बाटोमा हिंडे । एउटा अशोक वृक्षमुनी बसेर ध्यान गर्न थाले । उनले आफ्नो कठोर तपस्यामार्फत सबै इच्छाहरु र विकारहरुलाई काबुमा लिए । त्यसपछि उनी वर्धमानबाट भगवान् महावीरका रुपमा चिनिन लागे । उनले आफ्नो पूरै जीवन जनकल्याणमा समर्पित गरिदिए । उनले समाज व्याप्त कुरुती र अन्धविश्वासलाई टाढा गरिदिए ।


पाँच सिद्धान्त
भगवान् महावीरले मोक्षको प्राप्तिपछि पाँच सिद्धान्तका विषयमा बताए । उनले आफैं यसको पालना गरे र उनी गइसकेपछि उनका अनुयायीले महावीरद्धारा प्रतिपादित पाँच सिद्धान्तलाई मानिसहरुसम्म पु¥याउने काम गरे ।


उनले आफ्ना प्रत्येक अनुयायीका लागि अहिंसा, सत्य, अचौर्य, बम्ह्चर्य र अपरिग्रहका पाँच व्रतहरु पालना गर्नु आवश्यक छ भन्ने बताए । यी सबै व्रतमा अहिंसाको भावना सम्मिलित छ । यहीकारण जैन विद्धानहरुको प्रमुख उपदेश ‘अहिंसा नै परम धर्मको, अहिंसा नै परम ब्रम्ह् हो, अहिंसाले नै सुख शान्ति दिन्छ’ भन्ने हुन्छ ।


अन्तिम तीर्थकर
झन्डै १२ वर्षको साधनापछि महावीरलाई सच्चा ज्ञान प्राप्त भयो । यसपछि महावीर स्वामी जैन धर्मको २४ औं र अन्तिम तीर्थकर बने । महावीरजीले अलग–अलग स्थानमा गएर जैन धमैका प्रचार गरे । उनले मानिसहरुलाई सही मार्ग देखाएर राम्रो जीवन जिउने प्रेरणा दिए । (विभिन्न समाचार एजेन्सीको सहयोगमा)

प्रतिक्रिया

प्रतिक्रिया