वसन्त ऋतुमा प्रकृतीले नौलो काँचुली बदल्छ । आजभोली सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा लालीगुरास फुलले वनै भरी राताम्य भएका हुन्छन । काफल र ऐसेलुले बनै भरी पाकेका हुन्छ । यो दृष्यले घुमफिरमा जाने पर्यटकहरूलाई लोभ्याइ दिन्छ । यात्रामा आफ्नै हातले काफल र ऐसेलु टिपेर खादा त्यसको मज्जा छुट्टै हुन्छ ।
घुमफिरको लागि सुदूरपश्चिममा सुन्दर र मनै लोभ्याउने ठाउँहरू धेरै छन । तर प्रचार प्रसार नहुदा सुदूरपश्चिम प्रदेशका धेरै पर्यटकीय स्थलहरू ओझेलमा परिरहेका छन । सुदूरपश्चिममा तीर्थाटनका पर्यटकियस्थलहरू मात्र होइन घुमफिर गर्दा पर्यटकहरूले हिमाल देखि पहाडी भूगोल, सुन्दर खेतीयोग्य फाँट, उपत्यका, भित्री मधेश र तराईका मैदानी भागहरू अवलोकन गर्न सक्दछन् ।
पर्यटकहरूले सुदूरपश्चिममा घुमफिर गर्दा देउडा सस्कृतिको डेउडा गीत र नाच पनि हेर्न पाउछन् । देउडा गीत सुदूरपश्चिममा गाईने प्रचलित लोक गीत हो । डेउडा सस्कृतिको बारेमा थाहा नभएका पर्यटकहरू रुचि पूर्वक डेउडाको बारेमा अध्ययन गर्न पाउछन् ।
डेउडा भाषा, डेउडा गीत, लोक डेउडा खासगरी बैतडी अछाम, बझाङ, बाजुरा, दार्चुला, डोटी र डडेलधुरामा देउडा सस्कृति देख्न पाइन्छ । डेउडा गीत एक प्रकारको नृत्य प्रदान गीत हो । यस गीतमा गरिएको नृत्यलाई डेउडा खेल अथवा न्याउले खेल पनि भनिन्छ । विशेष गरी समूहमा प्रस्तुत हुने डेउडाले पछिल्लो समय कैलाली र कञ्चनपुरमा पनि देउडा सस्कृति पुगेको छ ।
डेउडा खेल खास गरेर दशैं, तिहार, होली, गौरा पर्व, मेला, पुतला, रत्यौली, विवाह, आदीमा प्रस्तुत गरिन्छ । नृत्यसँग डेढ कदम चालेर गोलो घेरा बनाइ प्रस्तुत गरिने भएकाले यस गीतलाई डेउडा नामकरण गरिएको मानिन्छ । डेउडा गीत र नृत्य हेर्नको लागि खास गरी दशै तिहार र गौरा पर्वमा पुग्न सके राम्रो हुन्छ ।
सुदूरपश्चिम नेपालको भाषा, कला र संस्कृति मात्र होइन, पर्यटकीय गन्तव्यको खोजीमा यात्रा गर्ने पर्यटकहरूका लागि कतिपय गन्तब्यहरू भूस्वर्ग मानिन्छ । डडेलधुरामा ऐतिहासिक अमरगढी किल्ला,उग्रतारा मन्दिर, घटाल बाबा र ऐतिहासिक अजमेरुकोट जस्ता सम्पदामा पर्यटकहरू पुग्ने गर्दछन् ।
डोटीको शैलेश्वरी मन्दिर, अछामको रामारोशन, बैजनाथ, बाजुराको बडिमालिका, नाटयश्वरी, बुढानन्दा, बझाङको सुर्मादेवी र सैपाल हिमाल, बैतडीको निंगलाशैनी, त्रिपुरासुन्दरी, मेलौली भगवती, पाताल भुवनेश्वर, र दार्चुलाको अपिनाम्पा संरक्षण क्षेत्र र मल्लिकार्जुन आदी स्थानमा पर्यटकहरू तीर्थाटन, अवलोकन र घुमफिरमा जान रुचाउछन् । खप्तड, रामारोशन, बझाङ र दार्चुलाको भूगोलको अपी र सैपाल हिमाल सुदूरपश्चिम पुगेपछि दृष्यावलोकन गर्न पर्ने स्थलहरू ह्ुन ।
अछाम, बाजुरा, बझाङ र डोटी चार जिल्लाको संगम स्थलमा रहेको खप्तड क्षेत्र सुदूरपश्चिम पुगेपछि धेरै पर्यटकहरू पुग्ने इच्छा गर्दछन् । खप्तड धार्मिक तथा पुरातात्विक दृष्ट्रिकोणले समेत निकै महत्वपूर्ण मानिन्छ । खप्तडमा २५ मैदान र वरिपरि ५३ वटा थुम्काहरू छन् । खप्तड पुगेपछि जताततै रंगीचंगी फूल र डाँफे, मयुरले पनि पर्यटकहरूलाई रोमाञ्चक बनाइ दिन्छन् । खप्तड पुग्न अछाम, बाजुरा, बझाङ र डोटी चारै जिल्लाबाट मार्गहरू छन् ।
सुदूरपश्चिम प्रदेश कर्णाली नदी र महाकाली नदीको बिचमा नौ वटा जिल्ला पर्दछ । सुदूरपश्चिममा दार्चुला, बझाङ र बाजुरा हिमाली जिल्लामा पर्दछ भने पहाडी जिल्लामा डडेलधुरा, बैतडी, डोटी र अछाम पर्दछन ।
तराईमा कैलाली र कञ्चनपुर पर्दछ भने महाकाली पारी दोधरा चादनी नगरपालिका समेत सुदूरपश्चिममा पर्दछ । तर सबै जिल्लाहरूमा भाषा र सस्कृति भने एउटै रहेको छ । सुदूरपश्चिमको भाषा र सस्कृतिका बारेमा थाहा नभएका पर्यटकहरूलाई भने अनौठो पनि लाग्न सक्दछ । तर बुझने प्रयास भयो भने घुमफिरमा असजिलो हुदैन । सुदूरपश्चिम घुमफिरको लागि प्याकेज कार्यक्रम बनाउदा राम्रो हुन्छ । घुमफिरको लागि एक्लै भन्दा पनि समूहमा जादा राम्रो हुन्छ ।
प्याकेज बनाउदा सुदूरपश्चिमका सबै जिल्ला घुमफिर गर्ने कि ? तराई अथवा पहाडी र हिमाली कुन कुन जिल्लामा जाने ? अथवा सबै जिल्ला एकै पटक घुमफिर गर्ने हो भने समय र घुमफिरको लागि पैसाको जोहो पनि त्यसै किसिमले गर्नु पर्ने हुन्छ । सुदूरपश्चिमका सबै जिल्लामा अहिले सडक सञ्जाल जोडिएको छ ।
कतिपय ठाउमा ग्रामीण क्षेत्रमा समेत सडक मार्ग पुगेको छ । तर ग्रामीण क्षेत्रका प्राय सबै सडकहरू कच्ची छन । तर पनि हिउदको समयमा साना बलेरो र स्कारपियो जस्ता गाडीहरू चल्दछन् ।
सुदूरपश्चिम प्रवेश गर्ने आजभोली धेरै बाटोहरू छन् । पूर्व पश्चिम राजमार्गको कर्णाली चिसापानी, दैलेख र अछामको सिमानामा पर्ने राकम कर्णालीको पुल र कालिकोट को कर्णाली नदीको खुलालुघाट देखि बाजुराको कोल्टी हुदै पनि प्रवेश गर्न सकिन्छ ।
सुर्खेतको पश्चिम क्षेत्र सुदूरपश्चिम जोडने कर्णाली नदीमा दुई वटा पुल अर्थात चौकुनेको चिप्लेघाट र मोहन्यालको सोल्टा अर्थात कुइने जोडने दुई वटा पुल नयाँ वर्षसँगै सन्चालनमा आउँदैछन । अब सुदूरपश्चिम घुमफिर गर्नका लागि पर्यटकहरूले यो मार्ग समेत प्रयोग गर्न सक्ने छन् । तर पर्यटकहरू सुदूरपश्चिमका तराईका जिल्ला घुमफिर गरी पहाडी जिल्लामा जान भने कर्णाली चिसापानीबाट प्रवेश गर्दा सजिलो हुन्छ । कर्णाली चिसापानीको पुल तर्नासाथ सुरुहुन्छ कैलाली जिल्ला ।
कैलाली जिल्लामा धेरै ठाउँमा पर्यटकको लागि घुमफिर गर्ने स्थलहरू भएका छन । कैलालीमा पर्यटकहरूलाई लोभ्याउने टिकापुरको पार्क, घोडाघोडी ताल र कर्णाली चिसापानीको पुल पर्दछन ।
यी सबै ठाउ पर्यटकलाई आकर्षण गर्ने स्थल हुन । जुन कारणले गर्दा आजभोली कैलाली जिल्लामा स्वदेशि मात्र होइन विदेशि पर्यटकहरू पनि घुमफिरको लागि पुग्ने गर्दछन । कर्णाली पुल केहि बर्ष अगाडी सम्म सुदुरपश्चिम प्रदेशको प्रवेशद्वार मानिने गर्दथियो ।
यो पुल आज भन्दा २६ बर्ष अगाडी निर्माण भएको हो । यो पुललाई तार पुल पनि भनिन्छ । पुलको बिचमा एउटा खम्बा र त्यसमा स्टीलका तारहरूले बाधेर ट्रसलाई अडयाईएको छ । कर्णाली नदी पुलको भाग सकिना साथ दुई भागमा बिभाजन भएर बग्दछ । स्थानीय बोलीचालीमा यसरी छुट्टीएर बनेको पानीको भागलाई पश्चिम तिरको पानीलाई कर्णाली र पूर्व तिरको पानीको भागलाई भेरी भन्ने गरिन्छ । चिसापानी व्यापारी केन्द्र पनि हो ।
चिसापानी पुगेपछि पर्यटकको रोजाइ माछा चाखेर टीकापुर जाने हुन्छ । माछाको स्वादका पारखीका लागि चिसापानीमा माछाका परिकार बनाउने धेरै होटलहरू छन । कर्णाली चिसापानीको पुलमा फोटा नखिच्ने पर्यटक बिरलै हुन्छन । कतिपय पर्यटक चिसापानी देखि कर्णाली नदिबाट ¥याफटिङ गर्दै टीकापुर जान रुचाउछन ।
राजमार्गको लम्कीबाट १८ कि.मि.दक्षिणमा रहेको टिकापुर पार्क आजभोली पर्यटकहरूको गन्तब्य बनेको छ । यहाँ ८० प्रकारका गुलाब फूल र विभिन्न प्रजातिका बिरुवाहरू अवलोकन गर्न सकिन्छ ।
घोडाघोडी ताल कैलालीको मध्यवर्ती क्षेत्रघोडी ताल विश्वरामसार सूचीमा सूचीकृत एउटा महत्वपूर्ण ताल हो । यो ताल दुई हजार पाँच सय ६३ हेक्टरमा हातको पञ्जा आकारमा फैलिएको छ । हत्केला आकारको यो तालका १९ वटा उपतालहरू छन । करिब २ सय ४५ प्रजातिका चराचुरुङ्गी, गोही, पानी हाँस, जंगली धान लगायतका लागि यो क्षेत्र अत्यन्त रमणीय र आकर्षक मानिन्छ ।
बिश्व रामसार सुचिमा सुचिकृत नेपालको ताल मध्य कैलाली जिल्लाको घोडाघोडि ताल धामिर्क र पर्यटकिय सुन्दर स्थल हो । कैलाली पुग्ने अथवा जिल्ला बाहिरका पर्यटकहरू पुर्व पश्चिम राजमार्ग भएर कैलाली पुग्न थाले भने घोडाघोडी नपुग्ने विरलै हुन्छन । घोडाघोडी तालको आकार ७ कोणमा फैलिएको छ । घोडाघाडी ताल कर्णाली चिसापानी पुल देखि ३७ किलोमिटर दुरीमा पर्दछ ।
कञ्चनपुर जिल्लामा पर्ने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिंगेका साथै अन्य जीव–जन्तुहरू पनि प्रशस्त देख्न पाइन्छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ, खरायो, हात्ती, गैँडालगायत विभिन्न प्रजातिका चरासमेत हेर्न पाइन्छ । जैविक विविधताले भरिपूर्ण शुक्लाफाँटाभित्र आधा दर्जनभन्दा बढी तालहरू छन ।
दोधारा चाँदनी पुल नेपालकै सबैभन्दा लामो झोलुङ्गे पुल हो । दोधारा चाँदनीको पुलमा बर्सेनि हजारौं पर्यटकहरू पुलको अवलोकन गर्न पुग्दछन । कञ्चनपुर जिल्लाको घुमफिर गर्दा बेतकोट र लिंगा पुग्न सके राम्रो हुन्छ । लिंगा पुग्न दैजीबाट करिब ५ किलोमिटर उत्तरतर्फ जानुपर्छ ।
शिवलिंगको स्वरूपजस्तै पहाडका डाँडा भएकाले यसलाई लिंगा भनिएको हो । मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ पर्यटकहरू लिगा जाने गर्दछन् । लिंगाबाट करिब ६ किलोमिटर उत्तरतर्फ बेतकोट तालको अवलोकन गर्न सकिन्छ ।
कैलाली र कञ्चनपुर घुमफिर पछि अत्तरियाबाट डडेलधुरा जादा बाटोमा गोदाबरी पर्दछ । गोदाबरी सुदूरपश्चिम प्रदेशको राजधानी तोकियको ठाउ पनि हो । अत्तरिया देखि ७ किलोमिटर उत्तरतर्फ रहेको गोदावरीमा बजरंगवली हनुमानको मूर्ति निर्माण भएको छ ।
गोदावरीमा भएको बजरंगवली हनुमानको मूर्ती हेर्न पर्यटकहरूको घुइँचो लाग्ने गर्दछ । गोदावरीको हनुमान मन्दिर ५२ फिट अग्लो मूर्ति नेपालकै सबैभन्दा अग्लो मूर्ति मानिन्छ । गोदावरीबाट २२ किलोमिटरमाथि चुरे नगरपालिकाको खाँनीडाडा प्राकृतिक रूपमा मनोरम स्थल हो ।
चिसो मौसममा गर्मी र गर्मी मौसममा पनि चिसो अनुभव गर्न पाइने खानीडाँडाबाट पहाडका रमणीय दृश्य देख्न सकिन्छ । चुरे श्रृखलाको सबैभन्दा उच्च भागमा रहेको खानीडाँडाबाट सैपाल हिमाललाई प्रत्यक्ष रूपमा हेर्न सकिन्छ ।
धनगढीबाट डडेलधुरा १ सय २८ किलोमिटर पर्छ । डडेलधुरा बजार पुग्नु भन्दा ३ किलोमिटर वर स्याउली बजार पर्दछ । स्याउलीबाट डोटी, अछाम र बाजुरा जाने र डडेलधुरा, बैतडी, बझाङ र दार्चुला जाने सडक छुट्टीन्छ । डडेलधरामा ऐतिहासिक महत्व बोकेका थुप्रै भौतिक संरचनाको अवलोकन गर्न सकिन्छ ।
तीर्थाटन पर्यटकहरूका लागि डडेलधुरामा उग्रताराको मन्दिर र घटाल बाबाको मन्दिर, भागेश्वर, जोगबुडा उपत्यकामा रहेको भगवान परशुरामको मन्दिर पुग्न सके राम्रो हुन्छ । उग्रतारा मन्दिर डडेलधुरा बजार देखि ४ किलोमिटर पश्चिमपट्टि डडेल्धुरा–बैतडी राजमार्गको पश्चिमतिरको अग्लो रमणीय फाँटमा रहेको छ । अमरगढी किल्ला डडेलधुराको ऐतिहासिक किल्ला हो ।
ऐतिहासिक दृष्टिले यो किल्ला महत्वपूर्ण मानिने भएकाले किल्लाको अवलोकन गर्नका लागि पर्यटकहरू पुग्ने गर्दछन् । डडेलधुरामा अजयमेरुकोट दरबारले पनि एउटा छुट्टै इतिहास बोकेको छ ।
डेलधुराबाट ८३ किलोमिटरको यात्रापछि बैतडी पुग्न सकिन्छ । बैतडी नपुग्दै बाटोमा पर्दछ खुर्पे बजार । खुर्पे बजार देखि छुट्टीन्छ बैतडी र बझाङ जाने सडक । खुर्पे देखि बझाङ १०५ किलो मिटर पर्दछ भने बैतडी ४५ किलो मिटर पर्दछ । तीर्थाटन पर्यटकहरूका लागि बैतडी पुग्नै पर्ने जिल्ला मानिन्छ ।
नेपालमा उपत्यका पछि सबैभन्दा धेरै मन्दिर भएको जिल्लाका रूपमा बैतडीलाई लिइन्छ । बैतडी अमर शहीद दशरथ चन्दको जन्मथलो पनि हो । बैतडीमा रहेका प्रसिद्ध भगवतीका मन्दिरहरूमा त्रिपुरा सुन्दरी, निङ्गलाशैनी, मेलौली र डिलाशैनी भगवती मन्दिर, जगन्नाथ देवता, भूमेश्वर महादेवको गुफा, पाटनको ठाकुर उदयदेव मन्दिर, कृष्ण मन्दिर, शिवनाथ मन्दिर हुन ।
बैतडी पुगेपछि धेरै पर्यटकहरू मेलौलीको मन्दिरमा पुग्ने गर्दछन् । मेलौली बैतडीको सदरमुकामबाट करिवन २४ किलो मिटरको दुरीमा पर्दछ । हिमाल अवलोकन गर्ने पर्यटकहरूका लागि दार्चुलाको अपि हिमाल आधार शिविरसम्म पदयात्रा रमाइलो हुन्छ । जहाँ अपि र नम्पा हिमालसँगै रिङदेपानी, कायाकोर, कालीढुंगा, बबईलगायतका हिउँचुली लहरै रहेका छन ।
चमेलिया नदी अपि र नम्पा चुलीको काखबाट बहन्छ । डडेलधुरा, बैतडी हुँदै दार्चुलाको बिटलेसम्म बसमा र त्यस पछि ७ दिन पदयात्रा पछि अपि बेस क्याम्प पुगिन्छ । दार्चुला र बैतडीको सीमा छुटयाएर बग्ने चौलानी नदीको किनारमा गोकुलेश्वर पर्दछ । गोकुलेश्वर दार्चुला जादा घुमफिर गर्ने रमणीय प्राकृतिक स्थल हो । दार्चुला जादा व्यास उपत्यका र नेपालकै चर्चित ठाउँ कालापानी पुग्न सके राम्रो हुन्छ ।
बझाङ सुन्दर र मनोरम पर्यटकीय स्थल भएको जिल्ला हो । बझाङमा धेरै पर्यटकीय स्थलहरूमा मठ मन्दिरहरू पर्दछन् । त्यो बाहेक हिमाल, ताल, झरना तथा तत्कालिन राजाले प्रयोग गरेका पुराना दरवार पनि बझाङ पुगेपछि घुमफिर गर्ने स्थलमा पर्दछन् । बझाङ जादा सुर्मा सरोवार ताल, खप्तड ताल, ऋषि कुण्ड पुग्न सके राम्रो हुन्छ । बझाङ पुग्ने पर्यटकहरूले बाजुराको घुमफिर गर्दा यो मार्ग धेरै छोटो पर्दछ ।
बाजुराको बडिमालिका सुदूरपश्चिमको प्रसिद्ध धार्मिक स्थल हो । अर्को तर्फ बुढीनन्दा र छेडेदह पनि पर्यटकहरू घुमफिर गर्ने ठाउँ हुन । भूस्वर्गको उपमा पाएको बडिमालिका बाजुराको मात्र नभएर नेपालकै उत्कृष्ट गन्तव्य हो । भगवान शिवले लामो समय बसोबास गरेको मानिने बडिमालिका सौन्दर्यका हिसाबले मात्रै नभई धार्मिक हिसाबले पनि महत्वपूर्ण छ ।
नजिकै देखिने सुन्दर हिमाल, हिउँ कुल्चन पाउने सौभाग्य र मनोरम प्राकृतिक दृश्यहरू बडिमालिकाका गहना हुन । बडिमालिका समुद्री सतहबाट ४ हजार २ सय १९ मिटर उचाइमा रहेको छ । बाजुराको सदरमुकाम मार्तडी देखि बडिमालिका पुग्न दुईदिनको पैदल यात्रा गर्न पर्दछ ।
डडेलधुराको स्याउली बजार देखि उत्तरतर्फ यात्रा गरे पछि पुगिन्छ डोटीको सिलगढी । सुदूरपश्चिममा बैतडीको झुलाघाट देखि अछामको राकम कर्णाली सम्म सबै सडक मध्यपहाडी लोक मार्गमा पर्दछ ।
डोटीमा घुमफिर गर्नेस्थल धेरै छन् । तर पनि डोटी पुगेपछि जगदम्बा शैलेश्वरी, योगेश्वर, कालभैरवका मन्दिरहरू, ठूला केदार र डोटीको उत्तरतर्फ रहेका पाँचवटा गुफा, जसलाई अखङ्गाल गुफा पनि भनिन्छ पुग्न सके राम्रो हुन्छ । शैलेश्वरी मन्दिर सिलगढीमा पर्दछ । शैलेश्वरीको मन्दिर तीर्थाटन मात्र नभएर प्रकृतिको सुन्दरताको आनन्द लिन सकिन्छ । शैलेश्वरी मन्दिर परिशर देखि दिपायल लगायत डोटीका धेरै ग्रामीण क्षेत्र अवलोकन गर्न सकिन्छ ।
सिलगढीबाट पूर्व लागेपछि अछामको साफेबगर पुगिन्छ । साफे बगर देखि बाजुरा जाने सडक छुट्टीन्छ । साफे देखि बाजुराको मार्तडगढी ५७ किलो मिटर पर्दछ । अछाममा साफे बगरको वुढी गंगाको तटमा रहेको वैद्यनाथ मन्दिर र रामारोशन पुग्नै पर्दछ । रामारोशन मगलसेन बजार देखि ४० किलो मिटरको दुरीमा पर्दछ ।