दलदलमा कान अस्पताल

तपाईलाई कान सम्बन्धी समस्या छ भने कहाँ पुग्नुहुन्छ ? पक्कै पनि नेपालगन्जको फुल्टेक्रामा रहेको ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्र नै भरपर्दो स्वास्थ्य संस्था हो कान उपचारका लागि । पश्चिम नेपालमा कानको मात्रै उपचार गर्ने अस्पतालका रूपमा रहेको कान अस्पताल अहिले विवादको दलदलमा फसिरहेको छ, अस्पतालमा रहेको विवाद र आरोपप्रत्यारोप छताछुल्ल हुँदै गएको छ ।

हाल बार्षिक ३० हजार बढीको कान जाँच गर्ने तथा एक हजारको कानको शल्यक्रिय गर्दै आएको अस्पतालले विगतका बर्षमा विभिन्न दुरदराजका गाउँसम्म पुगेर शिविर समेत सञ्चालन गर्दै आएको थियो । स्थापनाको सुरुमा नियमित सेवा बाहेक बार्षिक २ पटक शिविरबाट छानिएका कानका विरामीको शल्यक्रिया गर्दै आएको अस्पतालले अहिले नियमित रूपमा शल्यक्रिया समेत गरिरहेको छ ।

कान अस्पतालका रूपमा परिचित ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्रले पहिले नेपालगन्ज आँखा अस्पताल परिसरबाट सेवा दिने गर्दथ्यो । त्यसअघि पनि कान सम्बन्धी सेवा दिंदै आएका व्यक्तिहरू नै कार्यक्रम फेजआउटको अवस्थामा एउटा समूहले सञ्चालनका लागि कार्यसमिति बनाउने, आँखा अस्पतालको भवन भाडा दिएर प्रयोग गर्न दिने प्रस्ताव राखेपछि त्यहाँबाट सेवा सुरु भयो ।

२०५७ सालमा फत्तेवाल आँखा अस्पतालबाट समुदायमा आधारित कान स्वास्थ्य कार्यक्रम ब्रिटेन नेपाल अटोलोजि सर्भिसको सहयोगमा बाँकेका तत्कालिन ५ गाविसका लागि सुरुवात भएको उक्त संस्थाको सुरुवातको समय देखिनैं पुरण स्वास्थ्य सहायकको रूपमा कार्यरत रहेका थिए ।

२०५८ साल देखि २०६४ साल सम्म नेपाल रेडक्रस सोसाइटीको अन्धोपन तथा स्वास्थ्य प्रबद्र्धन कार्यक्रम अन्र्तगत सञ्चालन भएको उक्त सेवालाई २०६५ सालमा पुरण लगायतकै पहलमा कान स्वास्थ्य सम्वन्धि जनचेतनामुलक कार्य गर्ने, प्राथमिक श्रवण पुनस्र्थापना सेवा प्रदान गर्ने लगायतका उद्देश्य राखी स्थापना भएको ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा संस्था २०६५ चैत्र ७ गते जिल्ला प्रशासन कार्यालय बाँकेमा दर्ता भएको थियो ।


नेपालगन्जका समाजसेवी अजित कुमार शर्मा भन्छन्, ‘केही बर्ष आँखा अस्पतालमा बसेपछि भाडाको घरमा सरेको ब्रिनोज कान अस्पताल, पछि विदेशी दाताको सहयोगमा सुविधासम्पन्न भवन बनाएर सरेको हो ।’ उनले ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्र स्थापनादेखि नै अगुवाई गरिरहेका पुरण बहादुर थारुको अथक प्रयासले अस्पताल आजको अवस्थामा आइपुगेको बताउँछन् ।

‘कान अस्पताल बनाउने क्रममा म पनि थिए, अस्पताल बनाउनुमा पूरणको भूमिका अग्रणी र महत्वपूर्ण रह्यो’, उनले भने, ‘निल वेयर भन्ने बेलायती नागरिकको सहयोगमा अस्पताल भवन बन्यो, अहिले विवादले चिन्ता बढाएको छ ।’ उनले सामुदायिक अस्पताल भएकाले आम नागरिकले अस्पतालप्रति चासो राख्नुपर्ने र अस्पताल पारदर्शी ढंगले सञ्चालन गर्नुपर्ने बताए ।

ब्रिटेन नेपाल अटोलोजि सर्भिसको सहयोगमा सन् २०१३ सालमा शिलान्यास भई सन् २०१५ सालमा संस्थाको भवन नेपालगन्जको फुल्टेक्रामा निर्माण भएको थियो । अस्पतालले सन् २०१६ साल देखि आफ्नै भवनबाट सेवा सुरु गरेको हो ।
सुरुवाती कालदेखि संस्थाको प्रमुख कार्यकारी पदमा कार्यरत पुरण बहादुर थारुलाई गत माघमा निलम्बन गरेपछि विवाद सार्वजनिक भएको हो । ‘मिति २०७९ माघ १६ गते मलाई एकाएक निलम्वन गरिएको पत्र बुझाएर कार्यकक्षमा ताला लगाइयो, १७ गतेबाट कार्यालय जान रोकियो’, पुरणले भने ।

सहज, सुलभ र पश्चिममै कान उपचारमा ख्याती कमाइरहेको अस्पतालमा अहिले विवाद देखिएको छ । विवाद बढ्दै जाँदा आइतबार सचेत नागरिक समाजको ब्यानरमा अस्पताल विहान ७ बजे तालाबन्दी गरिएको थियो । यद्यपि, प्रहरीको पहल र अस्पताल पुगेका सेवाग्राहीको दबाबमा अस्पतालको ताला खोलिएको थियो । त्यसबारे जिल्ला प्रशासन कार्यालय बाँकेमा समेत उजुरी परेकाले थप छलफल हुने बताइएको छ ।

तालबन्दीका क्रममा तत्कालीन कार्यकारी प्रमुख थारुले अस्पतालको आन्तरिक अव्यवस्थालाई उजागर गर्न खोजेपछि आफुलाई स्पष्टिकरणका नाममा कारवाही गरिएको बताए । ‘संस्था, संस्थाको विधान अनुसार चलेन, संस्था कार्यसमितिको मनपरी चलेको छ’, उनले भने, ‘स्थापनादेखि न बार्षिक पारदर्शी रूपमा साधारणसभा भयो, न त संस्थामा सदस्यता थप्ने काम नै भयो, सुरु देखि जो थियो, उनीहरू नै कार्यसमितिमा रहेका छन् ।’ उनले कार्यसमितिलाई अस्पतालको सामाग्री हिनामिना समेत गरेको आरोप लगाएका छन् ।

थारुले अस्पतालको जेनेरेटर लगेर घरमा राखेको, अस्पतालमा पुरानो सिसिक्यामेरा जोडेर नयाँको बिल बनाई भुक्तानी लिएको, अस्पतालका पुराना सामाग्री गायब बनाइएको लगायतका आरोप लगाएका छन् । ‘म पुनर्बहाली हुनका लागि आन्दोलित भएको होइन, स्थापनादेखि जोडिएको संस्था पारदर्शी ढंगले चसोस्, यसमा आम नागरिकको पनि चासो बढोस् भन्ने मेरो उद्देश्य हो’, तालबन्दी गर्न पुगेका पुरणले भने ।

पुरणले संस्थाको बिषयमा जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गरेको बताएका छन् । उनले दर्ता भएको उजुरीमा संस्था बिद्यान बिपरित सञ्चालन भईरहेको, संस्थामा चरम अनियमितता, मनोमानी रहेको उल्लेख छन् ।

स्थानीयले राम्रो अस्पताललाई विवाद नगरी पारदर्शी ढंगले चलाउनु पर्ने धारणा राखेका छन् । पुरण माथि अस्पतालभित्र आफ्नो औषधी पसल सञ्चालन गरेको आरोप पनि छ । यद्यपि, उनले कर्मचारीलाई हप्कीदप्की गरेको, तलब वृद्धि नगरेको लगायतको आरोप व्यवस्थापनले आफुमाथि लगाएको बताए ।

‘विवाद दुई पक्ष बीच रहेपनि यसले अस्पतालको सेवा प्रभावित हुनुहुँदैन, अस्पताल पारदर्शी ढंगले चल्न आवश्यक छ, यसतर्फ स्थानीय र प्रशासन दुवैको सक्रियताको आवश्यकता अहिले छ’, स्थानीय भन्छन् ।

प्रतिक्रिया

प्रतिक्रिया