सकियो प्रथम कोहलपुर गोल्डकप, देखियो दर्शक क्रेज

क्यामरुनले उचाल्योे उपाधि

कोहलपुर गोल्डकप फुटबल प्रतियोगिताको पहिलो संस्करणको उपाधि एफसी क्लब क्यामरुन (क्यामरुन) ले उचालेकोे छ ।


शनिबार भएको फाइनल प्रतियोगितामा ब्वाइज यूनियन क्लब काठमाडौं शुन्यमै सिमित राखेर अफ्रीकी क्लब क्यामरुनले सात लाख रुपिया नगद, प्रथम कोहलपुर गोल्डकपको उपाधि र शिल्ड उचालेकोे हो ।


काठमाडौंले ३ लाख ५० हजार रुपैयाँसहित उप विजेताको शिल्ड ग्रहण गरेको छ ।
प्रतियोगिताको निर्धारित समयमा क्यामरुनका ११ नम्बर जर्सीका खेलाडी रिचर्ड विल्सन र ७ नम्बर जर्सीका मोसेस टुमले १/१ गोल जोडेका थिए । टुम प्रतियोगिता अवधिभरको सर्वोत्कृष्ट खेलाडी, बेष्ट फरवार्ड घोषित हुँदै नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।


प्रतियोगितामा उदाउँदो खेलाडीमा रेसिङ साहारा क्लबका मुकेश घर्ती गुरुङ, गोल्डकप कै उत्कृष्ट खेलाडी कप्तान हरि कठायतलाई प्रदान गरिएको छ । बेष्ट मिड फिल्डरमा क्यामरुनका जिओ एल्डो, बेष्ट डिफेन्डरमा ब्वाइज यूनियन क्लबका मनोज श्रेष्ठ, बेष्ट किप्परमा ब्वाइज यूनियन क्लबकै मनोज परियारले हात पारे । उनीहरू सबैलाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको आयोजक रेसिङ साहारा क्लबका टिम प्रशिक्षक जनक केसीले जानकारी दिए ।


भव्य दर्शक सहभागिताबीच भएको प्रतियोगिताको समापनमा कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्य, उपप्रमुख संगीता सुवेदी, रेसिङ साहारा क्लबका अध्यक्ष चक्र क्षेत्री र कोहलपुर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकाललगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।


पहिलो पटक कोहलपुरमा आयोजना गरिएको यति ठुलो फुटबल प्रतियोगितामा देश र विदेशका ८ टिमको सहभागिता थियो । ४ गतेदेखि सञ्चालन गरिएको प्रतियोगिता कोहलपुर नगरपालिका – २ स्थित १३ विगाहमा रेसिङ साहारा क्लब कोहलपुरको आयोजनामा भएको हो ।

उद्घाटन खेलदेखि फाइनलसम्म सहभागी हजारौं दर्शकको क्रेजले प्रतियोगिताको आकर्षण बढाएको आयोजक टिमका प्रशिक्षक केसीको भनाइ छ ।

प्रतिक्रिया

प्रतिक्रिया