परीक्षार्थीका लागि शिक्षक टिप्स

एसईई आउन हप्ता दिन बाँकी छ । यो परीक्षाले विद्यार्थी माथिल्लो कक्षामा जान योग्य छ कि छैन भन्ने कुरा निर्धारण गर्ने भएकाले यो समय विद्यार्थीहरुका लागि अत्यन्तै महत्वपूर्ण छ । र, अभिभावकहरुलाई पनि त्यतिकै चासो र चिन्ता हुने गर्छ ।

सबैजना राम्रो नतिजा ल्याउने गरी तयारी गरिरहेका हुन्छन् । फलामको ढोका मानिने यस परीक्षामा विशिष्ट अंक ल्याउने सबैको लक्ष्य हुन्छ । तर, विद्यार्थीहरु परीक्षा नजिकिँदै गर्दा जति एकाग्र भएर अध्ययन गर्छन् वर्षको शुरुवात देखि नै उनीहरु त्यसैगरी पढाइमा विल्कुलै लागि पर्दैनन् ।

खासमा यो मस्तिष्कको क्षमता भन्दा पनि हाम्रो परीक्षा तयारीमा भरपर्ने कुरा हो । भनिन्छ–‘धेरै कडा मिहिनेत नगर बरु चाहिँदो र बुद्धिमानी ढङ्गले मिहिनेत गर ।’

अन्तिम समयमा राम्रो नतिजा ल्याउने दबावमा विद्यार्थीहरु तनाव लिइरहेका हुन्छन् । जसका कारण परीक्षा सप्रिने भन्दा पनि झन विग्रने जोखिम बढी हुन्छ । कहिलेकाहीँ घण्टौं पढेपनि दिमागले केही टिप्दैन । कहिले दिमागले टिपिसकेको कुरा पनि परीक्षामा लेख्दै गर्दा बिर्सिइन्छ ।

परीक्षा सकेर बाहिर निस्किसकेपछि मात्रै अहो यसको उत्तर त यो पो हो भनेर याद आउँछ । विद्यार्थी तनावमा हुन्छ । यसले अर्को दिनको परीक्षामा समेत असर गर्ने गर्छ । खासमा यो मस्तिष्कको क्षमता भन्दा पनि हाम्रो परीक्षा तयारीमा भरपर्ने कुरा हो । भनिन्छ–‘धेरै कडा मिहिनेत नगर बरु चाहिँदो र बुद्धिमानी ढङ्गले मिहिनेत गर ।’

त्यसैगरी ‘स्मार्ट’ तरिकाले पढ्ने हो भने हामीले सजिलैसँग पढ्न सक्छौं र पढेको कुरा याद गर्न सक्छौं । यो लेखमा आसन्न एसईईको तयारीमा रहेका विद्यार्थीलाई लाभ पुर्याउन सक्ने सुझाव दिन खोजिएको छ । 

पुराना प्रश्नपत्रको अध्ययन गरौं

विद्यार्थीहरुले पुराना प्रश्नपत्रमा खासै ध्यान दिएको पाइदैन । तर परीक्षाका लागि पुराना प्रश्नपत्रको अध्ययन निकै जरुरी मानिन्छ । पुराना प्रश्नपत्रको अध्ययन गर्ने बानीले परीक्षाको फरम्याट कस्तो हुन्छ भन्ने मात्र प्रष्ट पार्दैन उत्तर कसरी दिने वा कस्ताकस्ता प्रश्नहरु बढी महत्वपूर्ण छन् भन्ने जान्न पनि सहज हुन्छ ।

कुन प्रश्नलाई कति समय दिने भन्ने पनि यसले सहयोग पु–याउँछ । यस्तै प्रत्येक समूहमा दिइएका कति प्रश्नमध्ये कतिवटा प्रश्न कति समयावधीमा हल गर्नुपर्ने र तिनका पूर्णाङ्क कति हुन् भन्ने बारे पनि जानकारी हुन्छ । त्यसैले पुराना प्रश्नपत्र अध्ययन गरौं । 

सकेसम्म समूह बनाएर पढौं

परीक्षाको समयमा धेरैले झ्याल ढोका नै बन्द गरेर कोठाभित्र एकलै अध्ययन गर्ने गरेका छन् । यो कसैको बानी पनि हुन्छ एकान्तमा बसेर पढ्ने वा अध्ययन गर्ने । एकान्तमा बसेर बढ्दा आफुलाई सहज लाग्छ भने एकान्तमै बसेर पढौं । तर सकेसम्म परीक्षाको तयारीमा जुटेका विद्यार्थीले समूह बनाएर अध्ययन गर्दा राम्रो हुन्छ । कहिले आफूले प्रश्न सोध्ने र कहिले आफूलाई प्रश्न सोध्न सकिन्छ । यसो गर्दा आत्मविश्वास बढ्छ । साथै पढेको कुरा स्पष्टसँग बुझ्न सकिन्छ । 

लेख्दै अध्ययन गर्ने गरौं

अध्ययन गर्ने बेला कतिपयले पाठ वाचन गर्ने गरेको देखिन्छ । कतिपयले त पुरै पाठ नै कण्ठ गरेका पनि हुन्छन् । पाठ कण्ठ गर्ने र वाचन गर्ने शैली प्रभावकारी नहुन पनि सक्छ । घोकन्ते विद्या भन्दा पनि बुझेर अध्ययन गर्नु राम्रो हो । त्यसका लागि विद्यार्थीले पढेको कुरा सम्झन वा बुझ्नका लागि लेख्ने विधि उपयुक्त हुन्छ । पढ्दै गर्दा सँगसँगै लेख्ने ग¥यो भने लेखन गति पनि बढ्दछ ।

विहान पढ्ने गरौं 

कक्षामा शिक्षकले पढाएको विषयलाई घरमा आएर राम्रोसँग अध्ययन गर्ने बानी विद्यार्थीका लागि उपलब्धिमूलक हुनसक्छ । अव समय कम छ । त्यसैले परिक्षामा मात्र पढ्ने विद्यार्थीहरुले अफ्ठयारो बिषय वा अफ्ठयारो लाग्ने सामग्रीहरु बिहानै उठेर पढ्नुपर्छ । फ्रेस दिमागले पढ्दा सम्झन सजिलो हुन्छ । तर परीक्षा आयो भन्दैमा विद्यार्थीहरू निरन्तर पुस्तक र नोट बुकमा मात्र केन्द्रित हुनुहुँदैन । नियमित रुपमा ब्रेक लिनुपर्छ ।

रातमा पढ्दा सम्झन सजिलो हुने विद्यार्थीले दिनमा धेरै थकाइ मार्ने र दिनमा पढ्दा सम्झन सजिलो हुने विद्यार्थीले रातमा थकाइ मार्ने गर्नुपर्छ । जुन समयमा पढे पनि नियमित ब्रेक भने लिनुपर्छ । विद्यार्थीले हरेक शीर्षक पूरा अध्ययन गर्नुपर्छ । किताबका सबै पाठ पढ्ने समय छैन भनेपनि कम्तीमा पढेका शीर्षकहरुको चाहिँ पूर्ण अध्ययन गर्नुपर्छ । 

पर्याप्त मात्रामा सुतौं र स्वास्थ्यको ख्याल गरौं

परीक्षा नजिकिन थाल्यो भने टुप्पी कसेर पढ्ने गरिन्छ । अभिभावकहरुले पनि आफ्ना बालबालिकालाई त्यसैगरी पढ्न प्रेरित गरिहेका हुन्छन् । परीक्षाका नाममा  निद्रा मारेर पढ्दा दिमाग फ्रेस नहुने समस्या हुन्छ । यसले स्वास्थ्यमा पनि समस्या निम्त्याउन सक्छ । परीक्षाको तनाव, अनिन्द्रा, खानपानमा अनियमितताको कारण धेरै बिद्यार्थीलाई यसबेला स्वास्थ्य समस्या देखापर्न सक्छ । त्यसैले सही समयमा सुत्ने, उठ्ने गर्नुपर्छ ।

अभिभावकहरु अध्ययनको वातावरण बनाऔं

विद्यार्थीहरुको परीक्षाको नतिजा राम्रो वा नराम्रो हुनुको पछाडि उनीहरुको एकल भूमिका मात्र हुदैन । यसमा अभिभावकको भूमिका पनि महत्वपूर्ण हुन्छ ।

अभिभावकहरुले घरमा त्यहीअनुसारको वातावरण सिर्जना गरिदिनुपर्छ । परीक्षाको समय विद्यार्थीहरु अध्ययनमा तल्लीन हुन्छन् । यस्तो बेला अभिभावकहरु घरमा झै–झगडा गर्छन् भने छोराछोरीको मन मस्तिष्कमा नकारात्मक प्रभाव पर्छ ।

अभिभावकको हरेक नकारात्मक गतिविधिले अध्ययनमा जुटेका छोराछोरीमा गम्भीर असर पर्छ । त्यसैले अध्ययनको राम्रो वातावरण सिर्जना गरिदिनुपर्छ । राम्रो वातावरणका लागि शान्त ठाउँ भएर मात्र पुग्दैन, घरपरिवारको व्यवहार पनि आत्मीय र प्रेरणादायी हुन जरुरी छ । 

परीक्षाको दिन दिमागलाई प्रेसर दिने कामै नगरौं

परीक्षाको दिन दिमागलाई प्रेसर दिने काम कदापी गर्नु हुँदैन । जसका कारण परीक्षा राम्रो नहुन सक्दछ । परीक्षाको दिन, परीक्षाको समय आवश्यक पर्ने कलम, पेन, पेन्सील, इरेजर, स्केल, प्रवेश पत्र जस्ता सामाग्री भुल्नुहुँदैन ।

परीक्षाको दिन परीक्षा समयभन्दा ठिक १५/२० मिनेट अगाडि परीक्षास्थल पुग्नुपर्छ । किनभने एसईई परीक्षा आफुले अध्ययन गरेको भन्दा अर्को विद्यालयमा दिनु पर्ने हुन्छ ।

यस्तो अवस्थामा परीक्षाको पहिलो दिन ३० मिनेट अगाडि नै पुग्नु पर्छ । किनभने आफ्नो सिट कहाँ छ ? विद्यार्थीको भिडभाड हुने भएकाले सिट स्थान खोज्न समय लाग्न सक्छ । अन्य दिन पनि परीक्षा समयभन्दा १५/२० मिनेट अगाडि पुग्नु पर्छ ।  प्रशनपत्र राम्ररी अध्ययन गरेर मात्रै उत्तर दिनुपर्छ ।
(शैक्षिक क्षेत्रमा लामो अनुभव बटुल्नुभएकी शशि स्वार नेपालगन्जमा एबीसी स्कूल सञ्चालन गर्नुहुन्छ )

प्रतिक्रिया

प्रतिक्रिया