बाँकेको कोहलपुर नगरपालिका—११ मा अर्गानिक कोशेली घर सञ्चालनमा आएको छ । कोहलपुर नगरपालिका उपप्रमुख संगीता सुवेदीले अर्गानिक कोशेली घर उद्घाटन गरेकी हुन् ।

नयाँ योजना र भिजनका साथ बैभव लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाले सर्वशुलभ कोशेली घर सञ्चालनमा ल्याएको जनाएको छ ।
कोहलपुरका १५ वटा वडामा उत्पादनमा भएका अर्गानिक बस्तु, ७७ वटै जिल्लाका पहिचान चिनाउन सक्ने गरि उत्पादित बस्तु तथा हस्तकलाहरु उपलब्ध हुने व्यवस्था मिलाइएको कोशेली घरका प्रबन्ध निर्देशक इश्वर शर्माले बताए ।
‘पहिलो प्राथमिकता कोहलपुरका १५ वटा वडामा उत्पादन भएका बस्तुहरुको विक्री वितरण र बजारीकरण गर्ने योजना बनाएका छौं,’ कोशेली घरका प्रवन्ध निर्देशक शर्माले भने, ‘यहाँ भान्सादेखि कपडासम्मका बस्तुहरु पाउनुहुनेछ ।’
नगरपालिकाले तालिम दिएपछि उत्पादन भएका बस्तुहरु समेत कोशेली घरमा पाउने शर्माले बताए । स्थानीय स्तरमा उत्पादन हुने गरेका बस्तुहरुलाई बजारीकरणमा समस्या छ, त्यसलाई न्यूनिकरण गर्न कोशेली घर सञ्चालनमा ल्याएको प्रबन्ध निर्देशक शर्माले जानकारी दिएका छन् ।
‘अहिले भारतबाट ल्याइएको तरकारीमा बजारमा जहाँकतै हुने तर स्वदेशमा उत्पादन भएको तरकारीले बजार नपाउने समस्या छ, त्यसको निराकरण हुन्छ,’ शर्माको भनाइ छ, ‘साना तथा व्यवसायिक रुपमा तरकारी, चामल, खाद्यान्न बस्तु, गेडागुडी, अचार, हस्तकला, टपरी लगायत अन्य विभिन्न प्रकारका स्थानीय उत्पादन भएका बस्तुहरु कोशेली घरमा हुनेछन् ।’
कोहलपुर नगरपालिकाले अनौपचारिक तथा औपचारिक कार्यक्रममा समेत नगरपालिकाको पहिचान हुने गरी हस्तकलाबाट बनाइएका बस्तुहरुलाई मायाको चिनोको रुपमा प्रदान गर्नुपर्ने जस्ता योजना ल्याएको प्रबन्धक निर्देशक शर्माले बताए ।
उद्घाटन कार्यक्रममा कोहलपुर नगरपालिका उपप्रमुख संगीता सुवेदीले स्थानिय उत्पादनलाई प्रमुख प्राथमिकतामा राख्नपर्नेमा जोड दिइन् । ‘महिला दिदिबहिनीहरुलाई आर्थिक क्षेत्रमा सहयोग हुनका लागि पालिकाले सिप विकास तालिमहरु दिइरहेको छ,’ उनले भनिन्, ‘तालिम सिकिसकेपछि ठुलो संख्यामा उहाँहरुले उत्पादन सक्नुहुन्न, त्यसैले उहाँहरुले उत्पादन गरेको समानहरुलाई कोशेली घरले ठुलो मद्धत पु¥याउने छ ।’
बैभव लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शुभद्रा शर्माले पालिकाले लिएको योजना र कार्यक्रमहरुमा निरन्तर सहयोग गर्ने बताएकी थिइन्् । कोशेली घरको लागि कोहलपुर नगरपालिकाले खोलेको ठेक्काबाट बैभव लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाले ५ लाख अनुदान पाएको थियो भने अहिले सहकारीले करिब ८ लाख लगानी लगाएको अध्यक्ष शर्माले जानकारी दिइन् ।