बाँके जिल्लास्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि कोहलपुर नगरपालिकाले हात पारेको छ । जिल्ला च्याम्पियन बन्न सफल कोहलपुरले कोहलपुरले २१ स्वर्ण पदक, २२ रजत र २९ कास्य पदकसहित प्रथम स्थान हासिल गरेर उपाधि उचालेको हो ।
बाँके जिल्ला जिल्ला खेलकुद विकास समितिले नेपालगन्ज रंगशालामा आयोजना गरेको प्रतियोगितामा राप्तीसोनारी गाउँपालिकाले दोस्रो र नेपालगन्ज उपमहानगरपालिकाले तेस्रो स्थान हासिल गरेको छ । राप्तीसोनारीले १२ स्वर्ण, १२ रजत र ८ कास्य पदक जित्न सफल भयो भने नेपालगन्जले ६ स्वर्ण पदक, ९ रजत र ७ कास्य पदक प्राप्त गरेको छ ।
प्रतियोगितामा बैजनाथ गाउँपालिकाले ६ स्वर्ण, ३ रजत ८ कास्य पदक सहित चौथो, ४ स्वर्ण, २ रजत र ९ कास्य सहित खजुरा पाँचौं, १ स्वर्ण सहित नरैनापुर छैठांै र ३ कास्य पदक सहित जानकी गाउँपालिकाले सातौं स्थान हासिल गरेको छ । शुक्रवार सुरु भएको प्रतियोगितामा डुडुवा गाउँपालिकाले सहभागिता जनाएन ।
एथ्लेटिक्स तर्फ नेपालगन्ज उप–महानगरपालिकाका राहुल सुनार र नेपालगन्जकैं चमेली चौधरी, भलिबलमा ब्राइटल्यान्डका मनिष पुन र सरस्वती मावि राप्तीसोनारीकी निकिता कुमारी थारु, कबड्डीमा जनता मावि खजुराका साहवुद्धिन बेहना र ज्ञानोदय मावि खजुराकी आशु क्षेत्रीले सर्वोत्कृष्ट खेलाडीको पुरस्कार जित्न सफल भएका छन् ।
आयोजकका अनुसार, प्रतियोगितामा ५० स्वर्ण, ४८ रजत र ६४ कास्य पदकका लागि सात स्थानीय तहबाट छनोट भएर आएका खेलाडी सहभागी थिए ।
आइतबार प्रतियोगिता समापन समारोहमो प्रमुख अतिथिको लुम्बिनी प्रदेश सरकारका मन्त्री कृष्णा केसी ‘नमुना’, पूर्व मन्त्री एवम् ओलम्पियन सुरेन्द्र हमाल, नेपालगन्ज उप–महानगरपालिका नगरप्रमुख प्रशान्त विष्ट, कोहलपुर नगरपालिका नगरप्रमुख पूर्ण प्रसाद आचार्यलगायतले विजयी खेलाडीलाई पुरस्कार वितरण गरेका थिए ।
आयोजक बाँके जिल्ला खेलकुद विकास समिति अध्यक्ष सन्दिप जंग शाहको अध्यक्षतामा समापन समारोह गरिएको थियो ।