बर्दियामा रोजगार मेला

भावुक योगी/दैनिक नेपालगन्ज


बर्दियाको ठाकुरबाबा नगरपालिकाले रोजगार मेला आयोजना गरेको छ । नगरपालिकाले आफ्नो छैठौँ स्थापना दिवसका अवसरमा शनिबार रोजगार मेलाको आयोजना गरेको हो ।


रोजगारीको खोजीमा रहेका युवा जनशक्ति र रोजगारदातालाई एकै स्थानमा सहभागि गराई आ–आफनो आवश्यकता अनुसारको जनशक्ति खोज्न र रोज्न सहयोग पुर्याउनका लागि रोजगार मेला कार्यक्रम आयोजना गरिएको नगरप्रमुख तिलकराम लम्सालले बताए ।


श्रमशक्तिलाई गुणस्तरीय बनाउँदै श्रमिकहरुको सीप र क्षमता अभिवृद्धी गर्दै युवाहरुका कामलाई सम्मान गर्ने संस्कृतिको विकास गर्न तथा श्रम बजारमा उनिहरुको माग र सम्मान वृद्धि गर्नका लागि स्थानीय बेरोजगार युवाहरुलाई सीप सिक्न अभिप्रेरित गर्ने, रोजगारीका अवसर सिर्जना गर्ने र रोजगारीकै लागि युवा शक्तिलाई विदेशिनु पर्ने बाध्यताको अन्त्य गर्ने मेलाको उद्धेश्य रहेको पालिकाले जनाएको छ ।

आयोजकका अनुसार, रोजगार मेलामा २७ वटा जानकारी मुलक स्टलहरु राखिएका थिए । मेलामा कृषि, पर्यटन, उद्योग, व्यापार, सुचनाप्रविधि, घरेलु उद्योग, सहकारी र सामुदायिक विद्यालयले आआफनो सुचनामूलक स्टल राखिएका थिए ।
रोजगार मेलामा वृत्ति विकास सम्बन्धी परामर्श सेवा, सीपमुलक तालीम दिने संस्थाहरुको प्रदर्शनी, तालिमबारे जानकारी गराइएको थियो ।


रोजगार मेलाबाट विद्यार्थीहरु तथा युवाहरुले वृत्ति परामर्श सेवा, बेरोजगार युवाहरुले विभिन्न उद्योग तथा व्यवसायमा रोजगारीका अवसर, उद्योग तथा व्यवसायीहरुले उपलब्ध जनशक्ति बारे जानकारी, बेरोजगार युवाहरुले स्थानीय स्तरमा रहेका उद्योग तथा व्यवसायसँग उपलब्ध विभिन्न रोजगारीका अवसरहरु बारे जानकारी पाउनुका साथै तालिम प्रदायक संस्थाबाट प्रदान गरिने सीपमुलक तालिम र अवसरका बारेमा जानकारी प्राप्त गरेको नगर उपप्रमुख विनाकुमारी भट्राईले जानकारी दिइन् । उनका अनुसार, झण्डै१ हजार ५ सय जनाको मेलामा सहभागिता थियो ।

मेलामा ७ जना युवाले कार्यक्रम स्थलमै रोजगारको अवसर प्राप्त गरेको ठाकुरबाबा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय प्रमुख सुदीप सुनारले जानकारी दिए । दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजनामा स्विजरल्याण्ड सरकार विकास सहयोगको तर्फबाट हेल्भेटास नेपालको प्राविधिक सहयोगमा मेला आयोजना गरिएको थियो ।

यसैबीच ठाकुरबाबा नगर अस्पतालमा २ जना एमबिबिएस डाक्टरको सेवासहित शनिबारदेखि २४ सै घण्टा उपलब्ध हुने गरि ईमरजेन्सी सेवा सुरु भएको छ ।


ठाकुरबाबा नगरपालिकाले छैठौं स्थापना दिवसका अवसरमा शनिबारदेखि नगर अस्पताल नेउलापुर भुरिगाउँमा २४ सै घण्टा ईमरजेन्सी स्वास्थ्य सेवा सञ्चालनमा ल्याएको हो ।


स्थापना दिवसको अवसर पारि नगर अस्पतालमा २४ सै घण्टा उपचार सेवा उपलब्ध हुने गरी ईमरजेन्सी स्वास्थ्य सेवाको नगरप्रमुख तिलकराम लम्सालले उद्घाटन गरे ।


नगर अस्पतालबाट आकस्मिक विरामी जाँच सेवा २४ सै घण्टा उपलब्ध हुनेछ भने, दैनिक विरामी जाँच सेवा (ओपिडी), प्रयोगशाला अन्तरगत सिकलसेल, जिनएक्सपोर्ट, रगत, दिशा, पिसाब, खकार लगायत सम्पूर्ण जाँच हुने बताइएको छ ।
अन्य सेवाहरुमा भिडियो एक्सरे सेवा, रेविज विरुद्दको ए.आर.भी. भ्याक्सिन सेवा, इ.सी.जी. सेवा संगै नेपाल सरकारबाट प्राप्त हुने निःशुल्क औषधी वितरण तथा मानसिक स्वास्थ्य उपचार र मनोपरामर्श सेवा उपलब्ध हुनेछ ।

प्रतिक्रिया

प्रतिक्रिया