तयारीमा जुटे युवा
देशभरका युवा प्रतिनिधिलाई नेपालगन्जमा स्वागत गर्न हामी आतुर छौं
– रविन्द्र लम्साल संयोजक, स्थानीय व्यवस्थापन समिति
प्रमुख प्रतिपक्षी दल, नेकपा एमाले सम्बद्ध युवाहरुको संगठन, राष्ट्रिय युवा संघले नेपालगन्जमा नवौं महाधिवेशन गर्ने तय गरेपछि त्यसको तयारीमा स्थानीय युवाहरु जुटेका छन् ।
आगामी २७ देखि २९ चैतसम्म बाँकेमा राष्ट्रिय युवा संघले नवौं महाधिवेशन गर्ने निर्णय गर्दै विभिन्न समिति, उप समिति गठन गरि तयारी शुरु गरेको हो ।
गत महिना संघको केन्द्रीय पदाधिकारी बैठकले मातहत कमिटी अधिवेशनलाई भव्य, प्रभावकारी तथा परिणाममुखी बनाउनका निम्ति वैधानिक व्यवस्थाका अलावा साउनमा भएको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकबाट पारित मातहत कमिटी अधिवेशन निर्देशिका तथा कार्यविधिलाई विशेष आधार बनाउनुपर्ने निर्णय समेत गरेर तयारी अगाडी बढाएको थियो ।
केन्द्रीय अध्यक्ष किरण पौडेलको संयोजकत्वमा ‘राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समिति’ गठन गरेको संघले तयारीका लागि विभिन्न उप–समितिहरु पनि गठन गरिसकेको छ ।
फागुनमसान्तभित्र अनिवार्य रुपमा देशभरका सम्पूर्ण मातहत कमिटी (वडा, पालिका र जिल्ला) को अधिवेशन गर्ने अभियानमा लागेको युवा संघले नेपालगन्जमा महाधिवेशन तयारीलाई अगाडी बढाउन लागेको हो ।
‘त्यसका लागि बाँके युवा संघले केन्द्रसँग आवश्यक कोर्डिनेशन गरेर काम गरिरहेको छ,’ आवासदेखि उद्घाटन सत्रसम्मका ठाउँको अवलोकनपछि शुक्रवार एमाले पार्टी कार्यालयमा बसेको बैठकपछि युवा संघका पूर्व केन्द्रीय सचिव रविन्द्र लम्सालले दैनिक नेपालगन्जसँग भने, ‘देशभरिका दुई हजार बढी युवा नेपालगन्ज आउँदा जाने सकारात्मक सन्देशका लागि पूर्वतयारीमा जुटेका छौं ।’
शुक्रवार, नेकपा एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपति सहित जिल्ला पार्टीका विभिन्न नेताहरुसँग राष्ट्रिय युवा संघले नेपालगन्जमा आयोजना गर्न लागेको नवौं महाधिवेशन तयारीबारे छलफल गरिएको स्थानीय व्यवस्थापन समितिका संयोजकसमेत रहेका युवासंघका पूर्व केन्द्रीय सचिव लम्सालले जानकारी दिए ।
युवासंघका जिल्ला अध्यक्ष ज्ञानेन्द्र ओली, नेता कुस्माखर बस्याल सहितका युवा नेताहरुले पार्टी नेतृत्वसँग तयारीबारे छलफल गरेका हुन् ।
आगामी नीति र नेतृत्व चयन पनि गर्ने भएकाले नेपालगन्ज महाधिवेशनको ऐतिहासिक महत्व राख्ने युवा नेता लम्सालको भनाइ छ ।
‘कोहलपुुरको खुला मैदानमा पार्टी अध्यक्ष केपी ओलीबाट महाधिवेशन उद्घाटन गर्ने कार्यक्रमको पूर्व तयारी छ,’ एमाले लुम्बिनीका प्रदेश युवा फाँट इन्चार्ज लम्सालका अनुसार, बन्दसत्र नेपालगन्जमा गरिनेछ । १ हजार ७ सय ४१ जना प्रतिनिधिको सहभागिता निश्चित भइसकेको नेता लम्सालले बताए ।