सुर्खेतरोडको विकल्पमा ऐतिहासिक महत्वको सडक

सुर्खेतरोड बन्नु अघि नै चलचल्तिमा रहेको परम्परागत सडकलाई नेपालगन्ज उपमहानगरपालिकाको वडा नं. १८ ले स्तरोन्नती गरी अस्फाल्ट पिच सडक तयार गरेको छ ।


होटल सोल्टी सामुन्नेको ६ कुने चोकदेखि दक्षिण गौरी शंकर टोल–लग्दहवा हुँदै बाइपाससम्मको दुई किलोमिटर सडक अस्फाल्ट पिच तयार भएको हो ।


‘यो ऐतिहासिक महत्वको सडक हो’, सडकको अस्फाल्ट कालोपत्रे शुभारम्भ गर्दै वडाध्यक्ष बर्माले भने, ‘अहिले पनि सुर्खेतरोड व्यस्त हुँदै जाँदा त्यसको वैकल्पिक सडकका रूपमा यसलाई उपयोग गर्न सकिन्छ ।’


आफुले पछिल्लो निर्वाचन ताका आम मतदाताका घरमा पुगेर गरेको प्रतिबद्धता कार्यान्वयन अनुरूप निर्धारित समयमै दुई किलोमिटर अस्फाल्ट सडक तयार गर्न सफल भएको जानकारी दिंदै वडाध्यक्ष बर्माले भने, ‘यसले नेपालगन्ज एयरपोर्टदेखि बसपार्कलाई निकै छोटो सडकका रूपमा जोडेको छ ।’

आयोजनाका इन्जिनियर अशोक देवकोटाले आफुहरुको प्राथमिकतामा नपरेको उक्त सडक वडाध्यक्ष बर्माको निरन्तर दबाब र पहलबाट सम्भव भएको जानकारी दिंदै गुणस्तरीयसँगै निर्धारित समयमा बन्न सफल भएको बताए ।


वडाध्यक्ष बर्माका अनुसार, दोस्रो पटक निर्वाचित भएपछि नेपालगन्ज–१८ मा लग्दहवा भित्र पक्की नाला समेतको सडक तयार भएको छ । ‘चालु आर्थिक बर्षमा मेरो वडाले ११ वटा नयाँ सडक कालोपत्रे, पीसीसी तथा आरसीसी नाला सहितको स्तरीय सडक पूर्वाधार पूरा गर्दैछ’, सडक पूर्वाधार सँगै शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखिरहेको जानकारी दिंदै वडाध्यक्ष बर्माले भने, ‘केही दिनपछि थप १४ वटा सडकको निर्माण कार्य शुभारम्भ गरिंदैछ ।’


अघिल्लो कार्यकाल सडक पूर्वाधारमै केन्द्रित रहेका वडाध्यक्ष बर्माले दोस्रो कार्यकाललाई सडकसँगै स्वास्थ्य र शिक्षा जोडेका छन् । ‘सडक पूर्वाधार राम्रो भयो भने जनतालाई विकासको आभास हुन्छ’, उनले त्यसपछि स्वास्थ्य, शिक्षा, रोजगारी र अन्य पूर्वाधारलाई विकासका लागि बजेट व्यवस्थापन गर्ने बताउँदै भने ।

प्रतिक्रिया

प्रतिक्रिया